तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
सारांश
- भद्रपुरमा प्रहरीले करिब ३८ टन खरबुजाको बिउ बरामद गरेको घटनाले व्यवसायीहरूमा तरङ्ग पैदा भएको छ ।
- चालु आर्थिक वर्षको जेठसम्म मात्रै नेपालमा ३ अर्बभन्दा बढीको खरबुजाको बिउ आयात भएको छ ।
- भारतले मगजको आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीले नेपाल आयात गरी अवैध रूपमा भारत पठाउने गरेको प्रहरीको दाबी छ ।
विराटनगर । झापाको भद्रपुरमा प्रहरीले करिब ३८ टन (९४८ बोरा) खरबुजाको बिउ (मगज) बरामद गरेको घटनाले व्यवसायीहरूमा तरङ्ग पैदा भएको छ ।
राज्यलाई सम्पूर्ण कर तिरेर, कानुनी प्रक्रिया पूरा गरी भण्डारण गरिएको सामान प्रहरीले ताला फुटाएर जफत गर्यो । प्रमाण देखाउने मौका नदिई यसरी जफत गर्नु राज्यसंयन्त्रबाट भएको अन्यायको चरम उदाहरण रहेको व्यवसायीको गुनासो छ ।
आइतबार साँझ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–३ स्थित भीमलाल सुवेदीको घर भाडामा लिएर राखिएको गोदाममा छापा मारेको थियो । प्रहरीले उक्त सामान अवैध भएको दाबी गर्दै भद्रपुर भन्सार कार्यालयमा बुझाएको छ । तर, बरामद गरिएको सामानका धनी राजेन्द्र थापा मगरले भने प्रहरीले दादागिरी शैलीमा आफ्नो वैध सम्पत्तिमाथि हस्तक्षेप गरेको बताए ।
आफूसँग सामान खरिददेखि भन्सारसम्मका सम्पूर्ण अनलाइन बिलबिजक सुरक्षित रहेको मगरको दाबी छ । उनका अनुसार उक्त सामान वैशाख र जेठ महिनामा खरिद गरेर आयुर्वेदिक औषधि र अन्य प्रयोजनका लागि स्टक राखिएको थियो ।
‘मैले राज्यलाई कर तिरेर, वडा कार्यालयमा सम्झौता गरेर गोदाममा सामान राखेको हुँ । हिजो प्रहरीले फोन गर्दा म कामको सिलसिलामा बाहिर थिएँ । मलाई आउन ३–४ घण्टा लाग्छ, तपाईंहरू गोदाममा सिलबन्दी गरिदिनुस्, म भोलिपल्ट बिहानै आएर भन्सारका सबै बिलबिजक देखाउँछु भनेर मैले पटक–पटक एसपीलाई पनि अनुरोध गरेँ,’ व्यवसायी मगरले भने, ‘तर मेरो कुराको कुनै सुनुवाइ नै भएन । मलाई समय नै नदिई ३–४ घण्टाभित्रै मेरो गोदामको ताला फुटाएर सामान उठाइयो । यो त हामीमाथिको अन्याय हो ।’
_mZkGM4641D.jpg)
मगरले आफूले गल्ती गरेको भए वा अवैध सामान ल्याएको भए कानुनबमोजिम सजाय भोग्न तयार रहेको तर प्रमाण देखाउने न्यूनतम अधिकारबाट समेत बञ्चित गराइएको भन्दै आक्रोश पोखे । ‘मैले भन्सारमा गएर आफ्ना सबै कागजपत्र पेस गरिसकेको छु । बिलबिजक देखाउँछु भन्दा सुन्दै नसुनी ताला फुटाउनु कुन कानुनमा लेखेको छ ?’ उनले प्रश्न गरे ।
मगरले काठमाडौँबाट खरिद गरी उक्त सामान ल्याएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख (एसपी) बसुन्धरा खड्काले भने अवैध रूपमा लुकाएर राखेको गोप्य सूचनाको आधारमा छापा मारिएको बताइन् ।
भण्डारण गरिएको ३७ हजार ९२० केजी (करिब ४० देखि ५० लाख मूल्य बराबरको) उक्त सामान शङ्कास्पद लागेपछि बरामद गरी थप अनुसन्धानका लागि भन्सारमा बुझाइएको प्रहरीको भनाइ छ ।
खरबुजाको बिउको बढ्दो आयात
पछिल्लो समय नेपालमा खरबुजा/तरबुजाको बिउ (मगज) को आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको जेठसम्म मात्रै झन्डै ३ अर्बभन्दा बढीको यस्तो बिउ आयात भएको तथ्याङ्क छ । भन्सार विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ११ महिनामा ३ अर्ब ६ करोड ५३ लाख मूल्यको १८ हजार ८१३ टन मगज आयात भइसकेको छ ।
विभागका अनुसार सबैभन्दा बढी अफगानिस्तानबाट ६ हजार ४४९ टन, दोस्रोमा नाइजेरियाबाट ५ हजार ८११ टन, तेस्रोमा सुडानबाट ३ हजार ४७२ टन र चौथोमा युएईबाट २ हजार ५५१ टन आयात गरिएको छ ।
गत आर्थिक वर्षमा २५ करोड ७० लाख मूल्यको १ हजार २८६ टन आयात भएको थियो । जसमा सबैभन्दा बढी अफगानिस्तानबाट ४४५, नाइजेरियाबाट ३२४ र चीनबाट १४५ टन भित्र्याइएको थियो । भन्सार विभागको तथ्याङ्कले २०८१ को चैतदेखि नै मगजको आयातमा वृद्धि हुन थालेको देखाउँछ ।
त्यसैगरी अघिल्लो आर्थिक वर्ष (२०८०/०८१’ मा ९ करोड १३ लाख मूल्यको ५०२ टन, २०७९/०८० मा २ करोड १४ लाखको १२७ टन र २०७८/०७९ मा २ करोड ३ लाखको ९९ टन आयात भएको विभागले जनाएको छ ।
हेर्नुहोस् तथ्याङ्क

केमा हुन्छ प्रयोग ?
भारतमा खरबुजाको बिउको सबैभन्दा बढी प्रयोग तरकारीको ग्रेभी बनाउन हुने गरेको बताइन्छ । भारतमा मसालेदार खानेकुरा बढी चल्ने हुँदा मसलाका रूपमा मगजको पनि उपयोग गरिएको हो । मासु वा तरकारीको लेदो बनाउँदा काजु, बदाम, पोस्ता दानासँगै मगज पनि पिसिन्छ । प्रायः पोस्ता दाना र मगजको पेस्ट बनाउने गरिन्छ ।
मगज एक पौष्टिक खानेकुरा भएकाले भारत र अन्य विकसित मुलुकमा खाजाका रूपमा पनि यसलाई प्रयोग गरिन्छ । प्रायः भुटेर (रोस्टेड मेलोन सिड्स) खाजामा प्रयोग हुन्छ । यसलाई मिठाईमा पनि प्रयोग गरिन्छ । गुँदपाक, लड्डू लगायतका मिठाइमा देखिने सेतो बियाँ यही मगज नै हो ।
भारतमा किन बन्देज ?
भारतले २०२३ देखि मगजको आयातमा परिमाणात्मक बन्देज लगाएपछि व्यवसायीले नेपाल आयात गरेर अवैध तरिकाले भारत लैजाने गरेको प्रहरी बताउँछ । भारत सरकारले आफ्नो देशका कृषकलाई राम्रो मूल्य दिने उद्देश्यले सन् २०२३ को जुनदेखि मगजको आयातमा परिमाणात्मक बन्देज लगाएको हो ।
भारतले २०२३ को जुनदेखि अक्टुबरसम्म औद्योगिक प्रशोधनका लागि बोक्रा ननिकालेको अप्रशोधित ३५ हजार टन मगजको आयातका लागि अनुमति पत्र वितरण गरेको थियो । लगत्तै २०२४ को मईदेखि जुनसम्म दुई महिनाका लागि औद्योगिक आयात खुला गरियो । त्यसपछि भने भारतले हालसम्म उद्योगलाई पनि आयातको अनुमति दिएको छैन ।
भारतमा वार्षिक ६० देखि ६५ हजार टन मगजको खपत छ । तर यसको घरेलु उत्पादन भने ३५ देखि ४० हजार टन मात्रै छ । त्यसैले अपुग २० देखि २५ हजार टन मगजका लागि भारतले आयातकै भर पर्नुपर्ने अवस्था छ । यसैबिच भारतले २०२४ मा फ्री विन्डो भन्दै दुई महिनाका लागि आयात खुला गरेका बेला त्यहाँ ८३ हजार टन मगज भित्रिएको थियो । भारतले यसपछि कसैलाई आयातको अनुमति दिएको छैन । भारतको यही अवस्थाको फाइदा नेपालका व्यवसायी खरबुजाको बिउ नेपाल आयात गर्ने र अवैध तरिकाले भारत पठाउने गरेको बताइन्छ ।
_JnNHHrub4Y.jpg)
भन्सार विभागको तथ्याङ्क विश्लेषण गर्दा मगजको आयातमूल्य किलोको १६० देखि १६५ रुपैयाँसम्म परेको छ । चालु आर्थिक वर्षमा किलोको १६२ रुपैयाँमा भित्रिएको मगजको राजस्व भन्सारविन्दुमा २४.३ प्रतिशतले बुझाउँदा ३९ रुपैयाँ ३६ पैसा हुन्छ । यस हिसाबले अन्य विविध खर्च जोड्दा पनि एक किलो खरबुजाको बिउको मूल्य व्यवसायीका गोदाममा आइपुग्दा बढीमा २२० रुपैयाँ परेको छ ।
यता विराटनगरको खुला बजारमा बोक्रा निकालेको मगजको मूल्य किलोको ९ सय छ भने भारतको युपी र विहारका बजारमा भारु ८ देखि १३ सयसम्म छ । भारतले आयातमा बन्देज लगाएसँगै यसको मूल्य वृद्धि भएको हो । यसरी नेपालका आयातकर्ताले बोक्रा छोडाएको मगजको आयात गरेर तस्करी मार्फत् भारत पठाउँदा किलोमै कम्तीमा १ हजार रुपैयाँ नाफा हुने अवस्था छ । नेपालका आयातकर्ताले यसैको फाइदा उठाएका हुन् ।
माल धनी राजेन्द्र थापा मगर भने उक्त वस्तु नेपालमै प्रयोग हुने दाबी गर्छन् । ‘यो औषधिको रूपमा पनि प्रयोग हुने भएकाले यसको धुलो बनाएर बिक्री हुन्छ । मैले यो माल स्टक गरेर राखेको हुँ,’ उनले भने, ‘काहीँ पठाउने मेरो तयारी थिएन । नेपालमै खपत हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण