बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खरबुजाको बिउ बरामद प्रकरण

तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?

आयात गरेर गोदाममा राख्न कानुनी बन्देज नरहेको दाबी
बुधबार, ३१ असार २०८३, ०८ : ३०
बुधबार, ३१ असार २०८३

सारांश

  • भद्रपुरमा प्रहरीले करिब ३८ टन खरबुजाको बिउ बरामद गरेको घटनाले व्यवसायीहरूमा तरङ्ग पैदा भएको छ ।
  • चालु आर्थिक वर्षको जेठसम्म मात्रै नेपालमा ३ अर्बभन्दा बढीको खरबुजाको बिउ आयात भएको छ ।
  • भारतले मगजको आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीले नेपाल आयात गरी अवैध रूपमा भारत पठाउने गरेको प्रहरीको दाबी छ ।

विराटनगर । झापाको भद्रपुरमा प्रहरीले करिब ३८ टन (९४८ बोरा) खरबुजाको बिउ (मगज) बरामद गरेको घटनाले व्यवसायीहरूमा तरङ्ग पैदा भएको छ ।

राज्यलाई सम्पूर्ण कर तिरेर, कानुनी प्रक्रिया पूरा गरी भण्डारण गरिएको सामान प्रहरीले ताला फुटाएर जफत गर्‍यो । प्रमाण देखाउने मौका नदिई यसरी जफत गर्नु राज्यसंयन्त्रबाट भएको अन्यायको चरम उदाहरण रहेको व्यवसायीको गुनासो छ ।

आइतबार साँझ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–३ स्थित भीमलाल सुवेदीको घर भाडामा लिएर राखिएको गोदाममा छापा मारेको थियो । प्रहरीले उक्त सामान अवैध भएको दाबी गर्दै भद्रपुर भन्सार कार्यालयमा बुझाएको छ । तर, बरामद गरिएको सामानका धनी राजेन्द्र थापा मगरले भने प्रहरीले दादागिरी शैलीमा आफ्नो वैध सम्पत्तिमाथि हस्तक्षेप गरेको बताए ।

आफूसँग सामान खरिददेखि भन्सारसम्मका सम्पूर्ण अनलाइन बिलबिजक सुरक्षित रहेको मगरको दाबी छ । उनका अनुसार उक्त सामान वैशाख र जेठ महिनामा खरिद गरेर आयुर्वेदिक औषधि र अन्य प्रयोजनका लागि स्टक राखिएको थियो ।

‘मैले राज्यलाई कर तिरेर, वडा कार्यालयमा सम्झौता गरेर गोदाममा सामान राखेको हुँ । हिजो प्रहरीले फोन गर्दा म कामको सिलसिलामा बाहिर थिएँ । मलाई आउन ३–४ घण्टा लाग्छ, तपाईंहरू गोदाममा सिलबन्दी गरिदिनुस्, म भोलिपल्ट बिहानै आएर भन्सारका सबै बिलबिजक देखाउँछु भनेर मैले पटक–पटक एसपीलाई पनि अनुरोध गरेँ,’ व्यवसायी मगरले भने, ‘तर मेरो कुराको कुनै सुनुवाइ नै भएन । मलाई समय नै नदिई ३–४ घण्टाभित्रै मेरो गोदामको ताला फुटाएर सामान उठाइयो । यो त हामीमाथिको अन्याय हो ।’

Kharbuja (1)

मगरले आफूले गल्ती गरेको भए वा अवैध सामान ल्याएको भए कानुनबमोजिम सजाय भोग्न तयार रहेको तर प्रमाण देखाउने न्यूनतम अधिकारबाट समेत बञ्चित गराइएको भन्दै आक्रोश पोखे । ‘मैले भन्सारमा गएर आफ्ना सबै कागजपत्र पेस गरिसकेको छु । बिलबिजक देखाउँछु भन्दा सुन्दै नसुनी ताला फुटाउनु कुन कानुनमा लेखेको छ ?’ उनले प्रश्न गरे ।

मगरले काठमाडौँबाट खरिद गरी उक्त सामान ल्याएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख (एसपी) बसुन्धरा खड्काले भने अवैध रूपमा लुकाएर राखेको गोप्य सूचनाको आधारमा छापा मारिएको बताइन् ।

भण्डारण गरिएको ३७ हजार ९२० केजी (करिब ४० देखि ५० लाख मूल्य बराबरको) उक्त सामान शङ्कास्पद लागेपछि बरामद गरी थप अनुसन्धानका लागि भन्सारमा बुझाइएको प्रहरीको भनाइ छ ।

खरबुजाको बिउको बढ्दो आयात

पछिल्लो समय नेपालमा खरबुजा/तरबुजाको बिउ (मगज) को आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको जेठसम्म मात्रै झन्डै ३ अर्बभन्दा बढीको यस्तो बिउ आयात भएको तथ्याङ्क छ । भन्सार विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ११ महिनामा ३ अर्ब ६ करोड ५३ लाख मूल्यको १८ हजार ८१३ टन मगज आयात भइसकेको छ ।

विभागका अनुसार सबैभन्दा बढी अफगानिस्तानबाट ६ हजार ४४९ टन, दोस्रोमा नाइजेरियाबाट ५ हजार ८११ टन, तेस्रोमा सुडानबाट ३ हजार ४७२ टन र चौथोमा युएईबाट २ हजार ५५१ टन आयात गरिएको छ ।

गत आर्थिक वर्षमा २५ करोड ७० लाख मूल्यको १ हजार २८६ टन आयात भएको थियो । जसमा सबैभन्दा बढी अफगानिस्तानबाट ४४५, नाइजेरियाबाट ३२४ र चीनबाट १४५ टन भित्र्याइएको थियो । भन्सार विभागको तथ्याङ्कले २०८१ को चैतदेखि नै मगजको आयातमा वृद्धि हुन थालेको देखाउँछ ।

त्यसैगरी अघिल्लो आर्थिक वर्ष (२०८०/०८१’ मा ९ करोड १३ लाख मूल्यको ५०२ टन, २०७९/०८० मा २ करोड १४ लाखको १२७ टन र २०७८/०७९ मा २ करोड ३ लाखको ९९ टन आयात भएको विभागले जनाएको छ ।

हेर्नुहोस् तथ्याङ्क

ttt

केमा हुन्छ प्रयोग ?

भारतमा खरबुजाको बिउको सबैभन्दा बढी प्रयोग तरकारीको ग्रेभी बनाउन हुने गरेको बताइन्छ । भारतमा मसालेदार खानेकुरा बढी चल्ने हुँदा मसलाका रूपमा मगजको पनि उपयोग गरिएको हो । मासु वा तरकारीको लेदो बनाउँदा काजु, बदाम, पोस्ता दानासँगै मगज पनि पिसिन्छ । प्रायः पोस्ता दाना र मगजको पेस्ट बनाउने गरिन्छ ।

मगज एक पौष्टिक खानेकुरा भएकाले भारत र अन्य विकसित मुलुकमा खाजाका रूपमा पनि यसलाई प्रयोग गरिन्छ । प्रायः भुटेर (रोस्टेड मेलोन सिड्स) खाजामा प्रयोग हुन्छ । यसलाई मिठाईमा पनि प्रयोग गरिन्छ । गुँदपाक, लड्डू लगायतका मिठाइमा देखिने सेतो बियाँ यही मगज नै हो ।

भारतमा किन बन्देज ?

भारतले २०२३ देखि मगजको आयातमा परिमाणात्मक बन्देज लगाएपछि व्यवसायीले नेपाल आयात गरेर अवैध तरिकाले भारत लैजाने गरेको प्रहरी बताउँछ । भारत सरकारले आफ्नो देशका कृषकलाई राम्रो मूल्य दिने उद्देश्यले सन् २०२३ को जुनदेखि मगजको आयातमा परिमाणात्मक बन्देज लगाएको हो ।

भारतले २०२३ को जुनदेखि अक्टुबरसम्म औद्योगिक प्रशोधनका लागि बोक्रा ननिकालेको अप्रशोधित ३५ हजार टन मगजको आयातका लागि अनुमति पत्र वितरण गरेको थियो । लगत्तै २०२४ को मईदेखि जुनसम्म दुई महिनाका लागि औद्योगिक आयात खुला गरियो । त्यसपछि भने भारतले हालसम्म उद्योगलाई पनि आयातको अनुमति दिएको छैन ।

भारतमा वार्षिक ६० देखि ६५ हजार टन मगजको खपत छ । तर यसको घरेलु उत्पादन भने ३५ देखि ४० हजार टन मात्रै छ । त्यसैले अपुग २० देखि २५ हजार टन मगजका लागि भारतले आयातकै भर पर्नुपर्ने अवस्था छ । यसैबिच भारतले २०२४ मा फ्री विन्डो भन्दै दुई महिनाका लागि आयात खुला गरेका बेला त्यहाँ ८३ हजार टन मगज भित्रिएको थियो । भारतले यसपछि कसैलाई आयातको अनुमति दिएको छैन । भारतको यही अवस्थाको फाइदा नेपालका व्यवसायी खरबुजाको बिउ नेपाल आयात गर्ने र अवैध तरिकाले भारत पठाउने गरेको बताइन्छ ।

Kharbuja (3)

भन्सार विभागको तथ्याङ्क विश्लेषण गर्दा मगजको आयातमूल्य किलोको १६० देखि १६५ रुपैयाँसम्म परेको छ । चालु आर्थिक वर्षमा किलोको १६२ रुपैयाँमा भित्रिएको मगजको राजस्व भन्सारविन्दुमा २४.३ प्रतिशतले बुझाउँदा ३९ रुपैयाँ ३६ पैसा हुन्छ । यस हिसाबले अन्य विविध खर्च जोड्दा पनि एक किलो खरबुजाको बिउको मूल्य व्यवसायीका गोदाममा आइपुग्दा बढीमा २२० रुपैयाँ परेको छ ।

यता विराटनगरको खुला बजारमा बोक्रा निकालेको मगजको मूल्य किलोको ९ सय छ भने भारतको युपी र विहारका बजारमा भारु ८ देखि १३ सयसम्म छ । भारतले आयातमा बन्देज लगाएसँगै यसको मूल्य वृद्धि भएको हो । यसरी नेपालका आयातकर्ताले बोक्रा छोडाएको मगजको आयात गरेर तस्करी मार्फत् भारत पठाउँदा किलोमै कम्तीमा १ हजार रुपैयाँ नाफा हुने अवस्था छ । नेपालका आयातकर्ताले यसैको फाइदा उठाएका हुन् ।

माल धनी राजेन्द्र थापा मगर भने उक्त वस्तु नेपालमै प्रयोग हुने दाबी गर्छन् । ‘यो औषधिको रूपमा पनि प्रयोग हुने भएकाले यसको धुलो बनाएर बिक्री हुन्छ । मैले यो माल स्टक गरेर राखेको हुँ,’ उनले भने, ‘काहीँ पठाउने मेरो तयारी थिएन । नेपालमै खपत हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप