ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
सारांश
- नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले एलपी ग्यासको अनुदानलाई परिमार्जन गरी विपन्न वर्गलाई 'क्यासब्याक' मार्फत अनुदान दिनुपर्ने प्रस्ताव गरेका छन्।
- उनले नेपाल आयल निगमको घाटा कम गर्न वैज्ञानिक मूल्य प्रणाली आवश्यक रहेको र आफ्नै ग्यास बुलेट नहुँदा ढुवानीमा भारतीय साधनमा निर्भर रहनुपर्ने बाध्यताप्रति चिन्ता व्यक्त गरे।
- ग्यास आपूर्तिको स्थायी समाधानका लागि एक महिनालाई पुग्ने भण्डारण क्षमता निर्माण गर्नुपर्ने र विद्युतीय चुलोको पूर्ण विस्थापनका लागि पूर्वाधार बलियो हुनुपर्नेमा उनले जोड दिए।
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले खाना पकाउने ग्यास (एलपीजी) मा सरकारले दिँदै आएको अनुदानलाई परिमार्जन गरी लक्षित वर्ग केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् ।
संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बुधबार बोल्दै उनले आम उपभोक्तालाई परल मूल्यमै ग्यास बिक्री गरी विपन्न वर्गलाई ‘क्यासब्याक’ मार्फत अनुदान उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका हुन् ।
पेट्रोलियम क्षेत्रमा चार दशक लामो अनुभव सम्हालेका घिमिरेले नेपाल आयल निगमको घाटा कम गर्न र संस्थालाई व्यावसायिक रूपमा सबल बनाउन वैज्ञानिक मूल्य प्रणाली आवश्यक रहेको बताए । नेपालको आफ्नै ग्यास बुलेट नहुँदा ढुवानीमा पूर्णतः भारतीय साधनमा निर्भर रहनुपर्ने बाध्यताप्रति उनले चिन्ता व्यक्त गरे ।
सरकारले भन्सारमा ६६ प्रतिशत छुट दिएर नेपाली बुलेट तयार पारे पनि भारतीय निकायको अवरोधका कारण ती सञ्चालन हुन नसकेको उनको भनाइ छ । हाल करिब सात सय भारतीय बुलेटमार्फत ग्यास ढुवानी भइरहेको र यसले राष्ट्रिय सुरक्षामा समेत चुनौती थपेको उनले उल्लेख गरे । नाकाबन्दीको समयमा आफ्नै ट्याङ्कर भएका कारण पेट्रोलियम पदार्थ केही हदसम्म आयात गर्न सकिए पनि आफ्नै साधन नहुँदा ग्यास आपूर्ति ठप्प भएको स्मरण उनले गराए ।
ग्यास आपूर्तिको स्थायी समाधानका लागि मुलुकभित्रै कम्तीमा एक महिनालाई पुग्ने भण्डारण क्षमता निर्माण गर्नुपर्नेमा घिमिरेले जोड दिए । उनका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) नेपालसम्म ग्यास पाइपलाइन बिछ्याउन इच्छुक रहेको छ । सरकारले विद्युतीय चुलो प्रवर्धन गर्ने कुरा गरे पनि पर्याप्त पूर्वाधार नभएको उनले औंल्याए । ट्रान्समिसन लाइन, ट्रान्सफर्मर र घरको आन्तरिक वायरिङ बलियो नभएसम्म विद्युतीय चुलोले ग्यासलाई पूर्णतः विस्थापित गर्न नसक्ने उनको तर्क छ ।
बैठकमा बोल्दै पूर्वअध्यक्ष घिमिरेले भने, ‘सक्ने वर्गले पनि अनुदान लिनु व्यावहारिक हुँदैन ।’
उनले थपे, ‘भारतमा जस्तै लक्षित समुदाय पहिचान गरी उनीहरूलाई सोझै अनुदान दिने र अन्यको हकमा थोरै नाफा राखेर परल मूल्यमा बिक्री गर्ने नीति लिनुपर्छ ।’
आईओसी पाइपलाइन बनाउन तयार रहेको उल्लेख गर्दै उनले सिमरा क्षेत्रमा रहेको सरकारी जग्गामा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा भण्डारण गृह निर्माण गर्न सकिने बताए ।
ग्यासको अभाव हुने डरले उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चय गर्ने प्रवृत्ति रहेको बताउँदै उनले पर्याप्त भण्डारण र नियमित आपूर्तिको प्रत्याभूति गराउन सके यस्तो समस्या स्वतः हल हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण