मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
मोरङ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ६ स्थित पुरानो भन्सार टोलबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगर शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ घर भई हाल मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय सम्योक वानेम फागो र सोही स्थान बस्ने २० वर्षीया भूमिका फागो रहेका छन्।
विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागि चेक जाँच गर्ने क्रममा दुवै जनाले आफ्नो मलद्वारमा लुकाई छिपाइ राखेको कालो प्लास्टिकको पोका फेला पारेको थियो। प्रहरीले उक्त पोका खोली हेर्दा कुल २६.५१ ग्राम खैरो हेरोइन बरामद भएको जनाएको छ।
बरामद गरिएको लागूऔषधमध्ये सम्योकको साथबाट प्लास्टिकबाहेक १५ ग्राम ४४ मिलिग्राम र भूमिकाको साथबाट ११ ग्राम ०७ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको हो। प्रहरीले दुवै जनालाई हिरासतमा राखी यस घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण