शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु

शुक्रबार, ०१ साउन २०८३, १२ : ०८
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • डेंगी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोज महिनालाई लक्षित गरी तीन महिने डेंगी सचेतना अभियान सुरु गरेको छ ।
  • भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकाहरूलाई यो अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
  • अभियान अन्तर्गत हरेक शुक्रबार 'सफा शुक्रबार' कार्यक्रम गरी सार्वजनिक निकायहरूमा लामखुट्टेको प्रजनन स्थल नष्ट गरिनेछ ।

काठमाडौँ । आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु भएको छ । डेंगु जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोजलाई डेंगु सचेतना अभियान सञ्चालन गर्न थालेको हो । 

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकाहरूलाई ‘डेंगु सचेतना तीन महिने अभियान’ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले साउन, भदौ र असोज महिनाभर डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरू गर्न अनुरोध गरेको छ । 

यस अभियान अन्तर्गत स्थानीय तहको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ । डेंगु फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलापमार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ । 

यस अभियान अन्तर्गत मुख्य गरी प्रत्येक हप्ता ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थाहरूमा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ ।

स्थानीय तहहरूले कम्तीमा हप्ताको एक दिन समुदायको सक्रिय सहभागितामा ‘लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोज तथा नष्ट अभियान’ चलाउने, डेंगु रोकथामका लागि बहुनिकाय समन्वय सुदृढ गर्ने तथा अटो वर्कसप, ग्यारेज, कवाडी सामान व्यवस्थापन स्थल र निर्माणाधीन भवन जस्ता पानी जम्ने सम्भावना भएका स्थानहरूको नियमित अनुगमन गरी पानीको निकास र व्यवस्थापन गर्न आह्वान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप