शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाद्वारा इरानको चाबहार समुद्री नियन्त्रण टावरमा तेस्रोपटक आक्रमण

शुक्रबार, ०१ साउन २०८३, १३ : ४६
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • अमेरिकी रक्षा मन्त्रीले चाबहारको समुद्री नियन्त्रण टावरमा क्षेप्यास्त्र आक्रमण भएको दाबी गरेका छन् ।
  • यो टावर माछा मार्ने डुङ्गाको खोज तथा उद्धार र समुद्री सुरक्षाका लागि प्रयोग गरिन्थ्यो ।
  • यसअघि पनि उक्त क्षेत्रमा ड्रोन आक्रमण र धुवाँको मुस्लो देखिएको थियो ।

तेहरान । अमेरिकाले इरानको दक्षिणपूर्वी बन्दरगाह सहर चाबहारस्थित समुद्री नियन्त्रण टावरमा यसै साता तेस्रोपटक क्षेप्यास्त्र आक्रमण गरेको दाबी इरानी सरकारी सञ्चारमाध्यमहरूले गरेका छन् । सरकारी समाचार संस्था फार्स न्युज र आईआरआईबीका अनुसार आक्रमण क्षेप्यास्त्रमार्फत गरिएको हो ।

उक्त नियन्त्रण टावर मुख्य रूपमा समुद्रमा रहेका माछा मार्ने डुङ्गाको खोज तथा उद्धार (सर्च एन्ड रेस्क्यु) कार्य सञ्चालन गर्न तथा समुद्री सुरक्षाको निगरानी गर्न प्रयोग हुँदै आएको बताइएको छ ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समा उक्त टावर ढलिरहेको देखिने एउटा तस्बिर सेयर गरेका छन् । उनले यसअघि ‘इरानले होर्मुज जलडमरूमध्य नियन्त्रण गर्दैन’ भन्दै पोस्ट गरेका थिए । सोही पोस्टको उत्तरमा उनले सो तस्बिर सार्वजनिक गरेको बुझिएको छ ।

यसअघि शुक्रबार सीएनएनले चाबहारको आवासीय क्षेत्रमाथि एउटा ड्रोन उडिरहेको र टाढा धुवाँको मुस्लो उठिरहेको देखिने भिडियो प्राप्त गरी त्यसको स्थान पुष्टि गरेको जनाएको थियो ।

ओमान खाडीको उत्तरी किनारमा रहेको चाबहार युद्धको सुरुवातमै आक्रमणको निशानामा परेको थियो । तर युद्धविराम भंग भएपछि यो क्षेत्र अमेरिकी आक्रमणको प्रमुख लक्ष्यमध्ये एक बनेको बताइएको छ ।

इरानी पक्षले आक्रमणको दाबी गरे पनि अमेरिकाले यस घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । साथै आक्रमणबाट भएको क्षति वा मानवीय हताहतीबारे स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप