शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रस्तावित ‘कुलिङ पिरियड’ र थप अनुभवको सर्तप्रति गभर्नर पौडेलको असहमति, भने – ‘यो व्यावहारिक छैन’

‘गभर्नरमाथिको छानबिन सर्वोच्चका अवकाशप्राप्त न्यायाधीशले नै गर्नुपर्छ’
शुक्रबार, ०१ साउन २०८३, १४ : ४६
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिस्पर्धा अनुकूल बनाउनुपर्नेमा जोड दिएका छन् ।
  • गभर्नर पौडेलले प्रस्तावित नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि आफ्नो धारणा राख्दै गभर्नर र डेपुटी गभर्नरको योग्यतामा थपिएको '१० वर्षको अनुभव' र 'कुलिङ पिरियड' व्यावहारिक नभएको बताए ।
  • उनले गभर्नरमाथिको छानबिन सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशले गर्नुपर्ने अडान राख्दै बैंकको उद्देश्यमा 'बेरोजगारी न्यूनीकरण' जस्ता विषय राख्नुभन्दा विद्यमान उद्देश्यहरू नै पर्याप्त रहेको बताए ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिस्पर्धा अनुकूल बनाउनुपर्नेमा जोड दिएका छन् ।

 प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा गभर्नर पौडेलले प्रस्तावित नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

छलफलका क्रममा गभर्नर पौडेलले सन् १९९० को दशकदेखि नै विश्वभर केन्द्रीय बैंकलाई स्वायत्त निकायका रूपमा स्थापित गर्ने मान्यता रही आएको स्मरण गराए । नेपाललाई ‘ग्रे लिस्ट’ बाट जोगाउन र डिजिटल भुक्तानीका नवीनतम प्रणालीहरू अंगाल्न ऐनलाई समयसापेक्ष बनाउनुपर्ने उनको तर्क छ ।

प्रस्तावित विधेयकमा सञ्चालक समितिको सङ्ख्या र योग्यताका सम्बन्धमा गरिएको व्यवस्थामा उनले विद्यमान व्यवस्था नै उपयुक्त रहेको बताए । सञ्चालक समितिमा अर्थ सचिवको उपस्थितिले सरकार र बैंकबीचको समन्वयलाई प्रभावकारी बनाएको र यसलाई हस्तक्षेपका रूपमा लिन नहुने उनको धारणा छ ।

  • योग्यतामा थपिएको '१० वर्षको अनुभव' र 'कुलिङ पिरियड' व्यावहारिक नभएको जिकिर

गभर्नर र डेपुटी गभर्नरको योग्यतामा थपिएको ‘१० वर्षको अनुभव’ सम्बन्धी प्रावधानमा पुनर्विचार गर्नुपर्ने गभर्नर पौडेलले बताए । सचिव, प्राध्यापक वा योजना आयोगको उपाध्यक्ष भइसकेका व्यक्तित्वहरूको पदले नै उनीहरूको अनुभव र क्षमता पुष्टि गर्ने हुँदा थप कार्य अनुभवको सर्त राख्नु व्यावहारिक नहुने उनको जिकिर छ ।

बैंकबाट अवकाश प्राप्त उच्च अधिकारीहरूका लागि प्रस्ताव गरिएको ‘कुलिङ पिरियड’ प्रति असहमति जनाउँदै उनले राज्यले योग्य र अनुभवी जनशक्तिलाई आवश्यकता अनुसार जुनसुकै बेला उपयोग गर्न पाउने लचकता राख्नुपर्ने बताए । राष्ट्र बैंकका अनुभवी अधिकारीहरू अन्य उच्च जिम्मेवारीमा जाँदा राज्यलाई नै लाभ हुने उनले उल्लेख गरे ।

कानुन निर्माणका प्राथमिकताहरूबारे बोल्दै गभर्नर पौडेलले भने, ‘हामीले कानुन बनाउँदा राष्ट्रिय हितसँगै अन्तर्राष्ट्रिय मापदण्ड र अनुकूलतालाई पनि ध्यान दिनुपर्छ । विशेष गरी राष्ट्र बैंक जस्तो संस्थाले अन्तर्राष्ट्रिय सम्बन्ध, विदेशी मुद्रा व्यवस्थापन र विश्वव्यापी वित्तीय प्रणालीसँग समन्वय गरेर काम गर्नुपर्ने भएकाले यसका कानुन पनि सोहीअनुसार हुनुपर्छ ।’

उनले थपे, ‘ग्रे–लिस्ट, डिजिटल भुक्तानी, क्यूआर प्रणाली, डिजिटल मुद्रा लगायतका विषयले पनि यही आवश्यकता पुष्टि गर्छन् ।’

पदाधिकारीहरूको योग्यताका विषयमा प्रस्ट पार्दै उनले भने, ‘गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको योग्यतासम्बन्धी व्यवस्थामा पनि स्पष्टता आवश्यक छ । प्राध्यापक, सचिव वा कार्यकारी निर्देशक जस्ता पदहरू आफैँ अनुभवका आधारमा प्राप्त हुने भएकाले त्यसमाथि थप १० वर्ष अनुभव अनिवार्य गर्नु व्यावहारिक देखिँदैन ।’

  • गभर्नरमाथिको छानबिन सर्वोच्चका अवकाशप्राप्त न्यायाधीशले नै गर्नुपर्ने अडान

गभर्नरमाथि छानबिन गर्नुपर्ने अवस्था आएमा गठन गरिने समितिको अध्यक्षता सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशले नै गर्नुपर्ने अडान उनले राखेका छन् । गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने मर्यादाक्रमलाई ध्यानमा राख्दै सोभन्दा तल्लो तहको न्यायाधीशबाट छानबिन गराउनु शोभनीय नहुने उनको तर्क छ ।

यस्तै, बैंकको उद्देश्यमा ‘बेरोजगारी न्यूनीकरण’ जस्ता विषय राख्ने अन्तर्राष्ट्रिय अभ्यास भए पनि नेपालको सन्दर्भमा विद्यमान उद्देश्यहरू नै पर्याप्त रहेको गभर्नर पौडेलले बताए । बैंकको आय–व्यय र नाफा बाँडफाँडका सम्बन्धमा प्रस्तावित ‘स्वचालित’ व्यवस्थाभन्दा सञ्चालक समितिको निर्णयाधिकार कायम राख्नुपर्नेमा उनले जोड दिए । बजारमा मुद्रास्फीति र तरलता व्यवस्थापन गर्न कति रकम सरकारलाई पठाउने भन्ने विषयमा म्याक्रो तहको निर्णय लिन बैंकलाई स्वायत्तता आवश्यक पर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप