शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर

शुक्रबार, ०१ साउन २०८३, १६ : ३४
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका दीपक भट्टको कम्पनीबाट जयवीर देउवाको कम्पनीमा २ करोड ६० लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ ।
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको अभियोगपत्रमा यो विषय उल्लेख छ र थप छानबिन भइरहेको छ ।
  • विभागले जयवीर देउवालाई हाजिर हुन सूचना जारी गरे पनि उनी हालसम्म सम्पर्कमा आएका छैनन् ।

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको कम्पनीबाट नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवापुत्र जयवीर देउवाको लगानी रहेको कम्पनीमा झन्डै साढे २ करोड रकम गएको पाइएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विष्णु पौडेलसहित १४ जना व्यक्ति तथा कम्पनीविरुद्ध विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा यस्तो उल्लेख गरिएको हो । यो विषयमा थप छानबिन भइरहेको विभागको अभियोगपत्रमा उल्लेख छ । 

अभियोग पत्रमा जयवीरको लगानी रहेको स्कालर इन्टरनेशनल र डिजी हट नामक दुई कम्पनीमा २ करोड ६० लाख रुपैयाँ भुक्तान दिएको पाइएको भनिएको छ । 

‘प्रतिवादी दीपक भट्टले कसुरबाट प्राप्त रकम भुक्तानी गरेको हुनसक्ने देखिँदा त्यसतर्फको अनुसन्धानलाई निरन्तरता दिई कानुन बमोजिम गरिनेछ,’ अभियोग पत्रमा भनिएको छ । 

विभागले असार २२ मा पूर्व प्रधानमन्त्री देउवाका पुत्र जयवीरलाई ७ दिनभित्र हाजिर हुन सूचना जारी गरेको थियो । सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ तथा अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नुपर्ने भन्दै विभागले बुढानीलकण्ठस्थित उनको घरमा सूचना टाँस गरेको थियो । 

असार २३ मा म्यादभित्र नआए कानुन बमोजिम हुने भन्दै गोरखापत्रमा पनि सूचना प्रकाशन गरिएको थियो । तर अहिलेसम्म जयवीर विभागमा हाजिर भएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप