बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
अधिवक्ता स्वागत नेपालसँग 'वारपार'

‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’

‘नेपाललाई फिजी बनाउन विदेशीलाई खुरूखुरू नागरिकता दिने प्रपञ्च रचिँदैछ’
बिहीबार, ३२ असार २०८३, २० : ००
बिहीबार, ३२ असार २०८३

सारांश

  • स्वागत नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै प्रमाण हुँदाहुँदै पनि ठूला राजनीतिक दलका शीर्ष नेताहरूलाई उन्मुक्ति दिइएको आरोप लगाएका छन् ।
  • उनले शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी, पैसा झारेको भिडियो, फोटो र टेलिफोन कन्भर्सेसनको अडियोसहितको पेनड्राइभ अदालतमा बुझाए पनि न्यायाधीशले प्रमाण नबुझी दोहोरो मापदण्ड अपनाएको दाबी गरेका छन् ।
  • नेपालले वर्तमान सरकारको नागरिकता नीति, राजसंस्थाको आवश्यकता र भूराजनीतिक प्रभावजस्ता विषयमा पनि आफ्ना धारणा खरो रूपमा प्रस्तुत गरेका छन् ।

काठमाडौँ । स्वागत नेपाल कानुन व्यवसायी, राजनीतिक विश्लेषक, अभियन्ता, पत्रकार र लेखकका रूपमा परिचित छन् । पछिल्लो समय बहुचर्चित 'नक्कली भुटानी शरणार्थी प्रकरण'को उठान गर्नेमध्येका एक नेपाल काठमाडौं जिल्ला अदालतको फैसलाप्रति सन्तुष्ट देखिएका छैनन् । प्रमाण हुँदाहुँदै पनि ठुला राजनीतिक दलका शीर्ष नेताहरूलाई उन्मुक्ति दिइएको र अदालतले दोहोरो मापदण्ड अपनाएको उनको दाबी छ ।

साथै, वर्तमान सरकारको कार्यशैली, नयाँ र पुराना दलहरूको प्रवृत्ति, नागरिकता नीति, भूराजनीतिक प्रभाव र नेपालमा राजसंस्थाको आवश्यकताको विषयमा उनका धारणा निकै खरो र प्रष्ट छन् । प्रस्तुत छ, यिनै समसामयिक र गम्भीर विषयमा केन्द्रित रहेर अधिवक्ता स्वागत नेपालसँग रातोपाटीको ‘वारपार’का लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश :

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई कसरी हेर्नुभएको छ ? तपाईं आफैंले यो विषय उठान गर्नुभएको थियो, तर अदालतको फैसलाप्रति तपाईं सन्तुष्ट देखिनुभएन नि ?

नेपालीलाई कहिले दुबई, कतार, अरब, मलेसियामा श्रमिक बनाएर बेचियो, अहिले भुटानी शरणार्थी बनाएर बेचियो । यो देशमा युवा र नागरिक बेचेर आफ्नो पेट पाल्ने प्रवृत्ति हाबी भयो । रेमिट्यान्सले त केही भित्रिन्छ तर आफ्नै नागरिकलाई शरणार्थी बनाएर बेचेपछि देशमा के भित्रिन्छ ?

शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी हामीले अदालतमा बुझाएका छौं । आरजुलाई कति, प्रेम राईलाई कति, राजेश बज्राचार्यलाई कति, केपी ओलीलाई कति लाने, यति गइसक्यो, यति बाँकी छ भन्ने कुरा डायरीमा प्रष्ट छ । राति ललितपुरको महालक्ष्मीस्थानको मन्दिर अगाडि आएर बोरामा पैसा झारेर, अर्को गाडीमा अनलोड गरेर ती विभिन्न व्यक्तिका घरतिर लाँदै गरेको फोटो, भिडियो, डायरी र टेलिफोन कन्भर्सेसनको अडियोसहितको पेनड्राइभ हामीले बुझाएका छौं । तर न्यायाधीश प्रमाण हेर्दै हेर्दैनन् । 

Swagat Nepal1

यो प्रमाण बुझौं न भन्दा 'उहाँहरूलाई त प्रतिवादी नै बनाएको छैन, कसरी बुझ्ने ?' भन्ने जवाफ आउँछ । तपाईं-हामी जस्तो सर्वसाधारणलाई अर्को मान्छेले नाम मात्र लिइदियो भने पनि बोलाएर बयान लिने र जेल पठाउने न्यायाधीशहरूले, यत्रा ठुला नेतालाई भने छुनै नमिल्ने आदेश गरे ।

भनेपछि तपाईंले बुझाएको प्रमाणमा ठुला नेताहरूले पैसा बुझिसकेको प्रष्ट देखिन्छ ?

मज्जाले देखिन्छ । यति पैसा पाइसक्यो, यति बुझिसक्यो र बाँकी यति छ भन्नेसम्मका कुरा डायरीमा छन् । पैसा अनलोड गर्दै गरेको भिडियो छ । यति हदसम्मको प्रमाण बुझ्नु पर्दैन ? सर्वसाधारणलाई म्याद जारी गरेर, प्रहरी पठाएर खोजेर ल्याई जेल पठाउन मिल्ने, तर यी नेतालाई नमिल्ने ?

अहिले संक्षिप्त फैसला आएको छ, पूर्णपाठ आउन बाँकी छ । फैसलाले बिगोको बारेमा केही पनि बोल्दैन । एउटा पाटो पूरै छुटाउन मिल्दैन नि । बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, आरजु राणा, राजेश बज्राचार्य, स्वयम् अहिलेका अख्तियार प्रमुखलगायतको संलग्नता मज्जाले देखिन्छ, तर उनीहरूलाई छुटाइयो ।

यति हाइप्रोफाइल व्यक्तिहरू (बहालवाला मन्त्री, सचिव) जोडिएको मुद्दामा तपाईंलाई बहस गर्न डर वा थ्रेट आएन ?

धेरै थ्रेट आए । त्यतिबेलै पनि धेरै सञ्चार माध्यमहरूमा यो कुरा आएको थियो । कतिपयले 'तपाईं बहसमा अनुपस्थित भइदिनुस्' भने । इजलासमै मन्त्रीहरूले यता तानेर 'तपाईं नबोल्दिनुस् प्लिज' भन्नेसम्मका गतिविधि भए । तर यो हाम्रो व्यावसायिक कर्तव्य हो, पत्रकारितामा तपाईंहरूलाई थ्रेट आएजस्तै हाम्रो पेसामा पनि यस्तो आउनु सामान्य हो ।

बाहिरबाट हेर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझीलाई दोषी करार गरिएको छ । तर रायमाझी त त्यो बेला सरकारको पदीय जिम्मेवारीमा हुनुहुन्नथ्यो, उहाँलाई चाहिँ दोषी देख्ने फैसला कत्तिको न्यायसङ्गत छ ?

यो बडा अचम्मलाग्दो छ । कानुनअनुसार 'संगठित अपराध' हुनका लागि एउटा आपराधिक काम गर्नकै लागि समूह वा संगठन निर्माण गरिएको हुनुपर्छ । मैले बहसमा प्रस्तुत गरेको थिएँ कि यूएनएचसीआरले सन् २०१६ मै नेपालबाट भुटानी शरणार्थीलाई तेस्रो मुलुक लैजाने काम बन्द गरिसकेको पत्र पठाएको थियो । त्यो पत्र पठाउँदा पठाउँदै पनि तत्कालीन गृहमन्त्रीले झापाका सिडिओ, सहायक सिडिओहरू राखेर एउटा समिति निर्माण गर्नुभयो र फेरि सूचीकृत हुनुस् भनेर आह्वान गर्नुभयो । कानुनतः त्यो समिति नै आपराधिक संगठन थियो । 

Swagat Nepal2

अन्तर्राष्ट्रिय एजेन्सीले गैरकानुनी भनेर रोकिसकेको काम, पत्रकै बाबजुद पनि 'हामी पठाउँछौं' भनेर समिति बनाउने व्यक्ति मुख्य योजनाकार हो । तर अदालतले जसले आपराधिक संगठन निर्माण गर्‍यो, उसैलाई 'मतियार' को रूपमा प्रस्तुत गर्‍यो । मुख्य मान्छे कसरी मतियार हुन्छ ? त्यसैले यो फैसला त्रुटिपूर्ण छ । यद्यपि हामी फैसला मान्छौं तर यसलाई माथिल्लो अदालतमा तार्किक र बौद्धिक रूपले चुनौती दिन्छौं ।

अहिलेको सरकारले यो प्रकरणमा थप अनुसन्धान गर्न खोजिरहेको हो ? यसमा कस्तो सम्भावना देख्नुहुन्छ ?

अदालतको संक्षिप्त फैसलामा एउटा ठाउँ दिइएको छ– 'अभियोग पत्रपछि प्रमाण खुल्दै आएका बखत थप हुन सक्ने भन्ने देखिएकोले, त्यतिबेला विचार हुने नै हुँदा' भनेर लेखिएको छ । यसले गर्दा अहिलेको सरकारले थप अनुसन्धान अगाडि बढाउन सक्छ । यो फैसलाको एउटा सकारात्मक पाटो यही हो ।

तर प्रश्न उठ्छ- त्यतिबेलाका सरकारी वकिलहरूले अभियुक्त बनाउनैपर्ने मान्छेहरूलाई किन बनाएनन् ? प्रहरीको अनुसन्धान अधिकृत र सरकारी वकिलले अभियुक्त बनाउनुपर्नेलाई नबनाएमा वा नबनाउनुपर्नेलाई बनाएर झुठो मुद्दा लगाएमा ३ महिनादेखि ६ महिनासम्म कैद हुनसक्ने कानुनी व्यवस्था छ । मैले बहसमा न्यायाधीशलाई ऐतिहासिक निर्णय लिन र अभियोजनमा गल्ती गर्ने अनुसन्धान अधिकृत र सरकारी वकिललाई कारबाहीको निर्देशनात्मक आदेश दिन आग्रह गरेको थिएँ, जुन अदालतले गर्न सक्थ्यो ।

नयाँ सरकार र नयाँ नेतृत्व (बालेन शाह, रवि लामिछानेलगायत) को उदयलाई तपाईं कसरी हेर्नुहुन्छ ? संविधान र कानुनको पालनामा उनीहरू कत्तिको खरो उत्रिएका छन् ?

हामीले संविधानमा संसद्को सदस्य नभएको मान्छे प्रधानमन्त्री हुँदैन भनेर पढेका हौं । तर विगतमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइयो, जुन संविधानभन्दा बाहिरको कदम थियो । त्यसलाई 'आवश्यकताको सिद्धान्त' भनियो ।

अहिले पनि धेरै काम संविधान र कानुनभन्दा बाहिरबाट भइरहेका छन् । उदाहरणका लागि नेपाल वायुसेवा निगममा करिब ८० वर्षका व्यक्तिलाई नियुक्ति दिइयो । कानुनमा ६५ वर्षभन्दा माथिको हुन नपाइने प्रष्ट व्यवस्था छ । हामी 'जेरेन्टोक्र्यासी' (बुढाबुढीतन्त्र) को विरुद्ध लडेको होइन र ? अनि फेरि बुढाबुढीलाई नै किन नियुक्ति ? यदि उहाँहरू 'हामी आन्दोलनको भावना बमोजिम आएका हौं, संविधान मान्दैनौं' भन्नुहुन्छ भने त्यो 'ग्रान्डनम थ्योरी'  अन्तर्गत पर्छ । तर एकातिर युगान्तकारी परिवर्तन भन्ने अनि अर्कोतिर त्यही पुरानो प्रणालीलाई निरन्तरता दिने काम षड्यन्त्र हो ।

वर्तमान सरकारको (बालेन/रवि फ्याक्टर सहितको) १०० दिनको मूल्यांकन कसरी गर्नुहुन्छ ? नयाँ अनुहार आउँदा पनि परिवर्तन किन महसुस भएन ?

यो सरकारको नागरिकता नीति बाहेक अरू कुरालाई १०० मा ९९ अंक दिन सकिएला, तर त्यो नागरिकता नीतिको कारण ९९ पनि शून्य हो । यो सरकारको १०० बुँदे कार्यनीतिमा विदेशीहरूले दिएको 'होमवर्क' पूरा गरिएको छ । त्यो हो– 'फेसलेस सिटिजनसिप' ।

Swagat Nepal3

संसारको कुनै देशमा कार्यालयमै उपस्थित नभई, डकुमेन्ट इमेल गरेर पठाएको भरमा घरमै नागरिकता र पासपोर्ट पुग्ने व्यवस्था छैन । तर नेपाललाई 'फिजी' बनाउने उद्देश्यले अहिले पहिलो पटक औपचारिक रूपमा विदेशीहरूलाई खुरुखुरु नागरिकता वितरण गर्ने प्रपञ्च रचिँदैछ । यसले उत्तरतर्फबाट करिब ६ लाख र दक्षिणतर्फबाट त्यसको कैयौं गुणा बढीलाई नागरिकता दिइँदैछ । यो अत्यन्त खतरनाक छ ।

यो सरकारले विदेशीलाई नागरिकता बाँड्दैछ भन्ने तपाईंको प्रष्ट आरोप हो ?

मज्जाले । यो सिधा कुरा हो । जबसम्म यो सरकारले नागरिकताको विषयमा आफ्नो स्पष्ट धारणा ल्याउँदैन, तबसम्म यो डरलाग्दो विषय रहिरहन्छ । हिजो विद्या भण्डारीले रोकेको नागरिकता विधेयकलाई अहिले घुमाउरो बाटोबाट लागु गरिँदैछ । हाम्रो जस्तो भूराजनीतिक संवेदनशीलता भएको देशमा रगतको नाताबाट मात्र नागरिकता दिइनुपर्छ । तर यहाँ विदेशीलाई नागरिकता बाँडेर देश सिध्याउने खेल भइरहेको छ ।

गरिब र धनीबिचको राज्यको व्यवहारलाई कसरी चित्रण गर्नुहुन्छ ?

यो देशमा ठुला व्यापारीलाई कर फर्छ्यौट आयोग बनाएर अर्बौंको कर लाखमा असुल गरेर मिनाहा गरिन्छ । मैले करिब २ खर्ब रूपैयाँ बराबरको कर छुट पाएकाहरूको लिस्ट नै सार्वजनिक गरेको छु । सरकारले त्यो असुल गर्ने हो भने विदेशीसँग ऋण लिनै पर्दैन । तर एउटा गरिब किसानले ऋण लिएर किनेको भैंसी भीरबाट लडेर मर्‍यो भने उसको ऋण मिनाहा हुँदैन । राज्यको नीति नै भ्रष्टहरूलाई जोगाउने र गरिबलाई मार्ने खालको छ ।

कुनै मन्त्रीले हिजो दौरा-सुरुवाल लगाउँथ्यो, आज टिसर्ट लगाएर हिँड्छ भन्दैमा त्यो नयाँ परिवर्तन हुँदैन । हिजो दलका नेताले जे गर्थे, आज नयाँ भन्नेहरूले पनि त्यही गरिरहेका छन् । सत्ताधारी दलको मान्छे होइन भने तपाईंको काम रोकिन्छ । एउटा अर्को वडाको मान्छेले नभएको कागज प्रमाणित गरेर अदालत लगेको प्रमाणसहित अख्तियारमा उजुरी दिँदा पनि अख्तियार मौन छ ।

बालेन शाह र रवि लामिछानेबिचको आगामी राजनीतिक यात्रा र सम्भावित टकरावलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

बालेनजीले के सोचिरहनु भएको छ भन्ने कुरा उहाँकै क्याबिनेटका मान्छेलाई पनि थाहा छैन । सामाजिक सञ्जालमा अर्को पाँच वर्षपछि बालेन नै प्रधानमन्त्री भन्ने भाष्य बनिरहेको छ । यो देख्दा ५३ वर्ष पुगिसक्नुभएका रविजीलाई पक्कै चसक्क हुन्छ होला । ३६/३७ वर्षका बालेन अगाडि बढ्दा रविजी चुप लागेर बस्ने कुरा आउँदैन ।

अहिलेको सरकारको बजेट र कार्यक्रम हेर्ने हो भने धेरै कुरामा रवि फ्याक्टर हाबी भएको देखिन्छ । सय बुँदे कार्यक्रममा आएका 'महेन्द्र राजमार्ग' जस्ता पदावली बजेटमा हराए । यसले देखाउँछ कि सबै निर्णयमा बालेनको मात्र सहमति छैन । भोलिका दिनमा उहाँहरूबिच राजनीतिक टकराव आउन सक्ने सम्भावना प्रष्ट छ ।

तपाईं खुलेरै राजसंस्थाको वकालत गर्दै आउनुभएको छ । अहिलेको लोकतान्त्रिक गणतन्त्रमा राजसंस्था फर्किने सम्भावना कत्तिको देख्नुहुन्छ ?

मेरो प्रष्ट निष्कर्ष के हो भने नेपालमा राजसंस्था पुनर्स्थापित भएन भने नेपाल भन्ने देश विश्वको नक्साबाटै डिलिट हुन्छ । तेस्रो विकल्प नै छैन, कि राजसंस्था पुनर्स्थापित हुन्छ, कि नेपाल डिलिट हुन्छ ।

जहाँ-जहाँ राजसंस्था अन्त्य भए, ती देशहरू कालान्तरमा विश्वको नक्साबाट मेटिएका छन् वा छिन्नभिन्न भएका छन् । अहिले नेपालमा चीनले 'फ्री तिब्बत मुभमेन्ट'लाई रोक्न खोजिरहेको छ भने अमेरिकाले त्यसलाई प्रवर्द्धन गर्दैछ । विदेशीहरूलाई नेपालको संविधानमा 'राजसंस्था' नलेखियोस् भन्ने चाहिएको थियो, त्यो उनीहरूले सफल पारे । अहिले उनीहरू नेपाललाई सिध्याउने नागरिकता नीति लाद्न सफल भइरहेका छन् । त्यसैले देशको अस्तित्व जोगाउनका लागि राजसंस्था अपरिहार्य बनिसकेको छ र यसको आवश्यकता झन्-झन् पुष्टि हुँदै गइरहेको छ ।

भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप