प्रदेशमा प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन्न : गगन थापा
सारांश
- कांग्रेस सभापति गगन थापाले प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल नहुने बताएका छन् ।
- उनले पछिल्लो एक दशकको नेपाली राजनीति बढी सत्ता केन्द्रित भएको टिप्पणी गर्दै सत्ता र शक्ति नै सबै थोक हो भन्ने सोचबाट बाहिर निस्कनुपर्ने बताए ।
- थापाले कांग्रेसभित्र नयाँ पुस्ताको सहभागिता र प्रतिनिधित्व बढाउन आवश्यक रहेको र उनीहरूको नवीन सोच र दृष्टिकोणलाई पार्टीले आत्मसात गर्नुपर्ने बताए ।
ललितपुर। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल नहुने बताएका छन् । ललितपुरमा आइतबार बिहान नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति विषयक साक्षात्कार कार्यक्रममा सभापति थापाले राजनीतिक दलहरूका लागि सत्ता प्राप्ति मात्र अन्तिम लक्ष्य हुन नहुने बताए । उनले राजनीतिक दलहरूले सत्ताभन्दा विचार, नीति र सिद्धान्तका आधारमा आफूलाई निर्देशित गर्नुपर्ने बताए ।
थापाले पछिल्लो एक दशकको नेपाली राजनीति बढी सत्ता केन्द्रित भएको टिप्पणी गरे । ‘सत्ता र शक्ति नै सबै थोक हो भन्ने सोचबाट हामी बाहिर निस्कनुपर्छ,’ उनले भने, ‘पार्टीले आफ्ना स्थापित मूल्य, मान्यता र सिद्धान्तमा कहिल्यै सम्झौता गर्नु हुँदैन ।’ उनले प्रदेश सरकार गठनका सन्दर्भमा सबै प्रमुख दलहरू मिलेर सरकार बनाउने र प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल नहुने बताए ।
थापाले कांग्रेसभित्र नयाँ पुस्ताको सहभागिता र प्रतिनिधित्व बढाउन आवश्यक रहेको बताए । पार्टीको वैधानिक संरचनामा युवाहरूको स्थान सुरक्षित गर्न चालिएका कदमहरूबारे चर्चा गर्दै उनले भने, ‘नयाँ पुस्ताको ऊर्जा र पुराना पुस्ताको अनुभवलाई समायोजन गरेर मात्र कांग्रेसलाई थप सबल बनाउन सकिन्छ ।’ उनले नयाँ पुस्तालाई केवल मतदाता वा प्राविधिक कार्यकर्ताका रूपमा मात्र नहेरी उनीहरूको नवीन सोच र दृष्टिकोणलाई पार्टीले आत्मसात गर्नुपर्ने बताए ।
आफ्नो राजनीतिक यात्राको सुरुवाती दिनहरू स्मरण गर्दै थापाले २०५१ सालको मध्यावधि निर्वाचनताकाको प्रसङ्ग उल्लेख गरे । तत्कालीन समयमा पार्टीभित्रको आन्तरिक मतभेदका बाबजुद पूर्वप्रधानमन्त्री द्वय कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई एउटै मञ्चमा ल्याएर कार्यक्रम आयोजना गरिएको अनुभव उनले सुनाए । सोही क्रममा किशुनजीबाट आफूले राजनीतिक पद अस्थायी हुने तर सामाजिक पुँजी र निष्ठा स्थायी रहने महत्त्वपूर्ण पाठ सिकेको उनले बताए ।
थापाले पार्टीको संगठन सुदृढीकरणका लागि सबै तहका नेता तथा कार्यकर्ताले आफ्नो सोच र कार्यशैलीमा समयानुकूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रक्षेपणअनुसार बाढीको खतरा छैन : विभाग
-
प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सीएम’ कक्ष
-
पर्यटन विधेयकमा संशोधन : पर्यटन प्राधिकरण स्थापना, पर्वतारोहण नियमन र स्थानीय रोयल्टी
-
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
-
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
-
गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण