लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
सारांश
- लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेपछि सरकार तत्कालका लागि सुरक्षित देखिएको छ ।
- केन्द्रको निर्देशनपछि लुम्बिनीमा पनि सरकार फेरबदलको माहोल तातेको थियो, तर प्रदेशस्तरका नेताहरूले एमाले–कांग्रेस गठबन्धनलाई निरन्तरता दिने मनसाय देखाएपछि राजनीतिक गतिविधि सुनसानजस्तै देखिएको छ ।
- मुख्यमन्त्री चेतनारायण आचार्यले गठबन्धन कायम राख्ने विषयमा छलफल भइरहेको बताएका छन् र उनी आज काठमाडौं जाँदैछन् जहाँ नेताहरूसँग भेटघाट गर्नेछन् ।
बुटवल । नेपाली कांग्रेसले प्रदेशमा नेकपा एमालेसँगको सत्ता गठबन्धन तोड्ने निर्णय गरेसँगै अन्य प्रदेशमा सरकार फेरबदलका गतिविधि तीव्र भए पनि लुम्बिनी प्रदेशमा भने तत्कालका लागि सरकार सुरक्षित देखिएको छ ।
केन्द्रको निर्देशनपछि केही दिनसम्म लुम्बिनीमा पनि सरकार फेरबदलको माहोल तातेको थियो । तर, शुक्रबारदेखि प्रदेशस्तरका नेताहरूले एमाले–कांग्रेस गठबन्धनलाई निरन्तरता दिने मनसाय देखाएपछि लुम्बिनीको राजनीतिक गतिविधि अहिले तत्कालका लागि सुनसानजस्तै देखिएको छ ।
सुरुमा कांग्रेसले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने र एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको थियो । तर, अन्य प्रदेशको अवस्था जस्तो भए पनि लुम्बिनीमा प्रदेशस्तरबाटै निर्णय गर्ने र तत्काल मन्त्रीहरूले राजीनामा नदिने विषयमा कांग्रेसभित्र सहमति बनेपछि सरकार फेरबदलको गतिविधि रोकिएको हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले सकेसम्म वर्तमान सत्ता सहकार्यलाई निरन्तरता दिने गरी छलफल भइरहेको रातोपाटीलाई बताए । उनले भने, ‘हिजो एमालेसँग भएको सहमति कार्यान्वयन गरेर अघि बढ्दा ठीक हुन्छ । त्यसकारण हामी तत्काल सोहीअनुसार छलफल गरिरहेका छौँ,’ उनले भने ।
कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दिनअघि कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू, पार्टीका प्रमुख सचेतक र सचेतकसहित बसेको अनौपचारिक बैठक बोलाएका थिए । उक्त बैठकमा तत्काल मन्त्रीहरूले राजीनामा नदिने र प्रदेशसरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि नलैजाने सहमति भएको थियो ।
कांग्रेस लुम्बिनी प्रदेशकी मुख्य सचेतक जमुना ढकालले पछिल्ला दुई–तीन दिनयता प्रदेशमा सरकार फेरबदलका विषयमा कुनै नयाँ गतिविधि नभएको बताइन् । कांग्रेस संसदीय दलको नेताले बोलाएको बैठकपछि पछिल्ला दुई–तीन दिनयता चुपचापजस्तै रहेको बताइन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तत्कालका लागि वर्तमान गठबन्धन कायम राख्ने विषयमा प्रदेशमा छलफल भइरहेको रातोपाटीलाई बताए । उनले भने, 'हामी तत्काल गठबन्धन कायम राखौँ भन्ने छ । तर, केन्द्रबाट के हुन्छ, त्यसमा निर्भर हुन्छ,’ उनले भने ।
मुख्यमन्त्री आचार्यले आफू आज काठमाडौं जान लागेको र त्यहाँ नेताहरूसँग भेटघाट गर्ने बताए । ‘थप निर्देशन के आउँछ, त्यसअनुसार सरकार फेरबदलका गतिविधि अघि बढ्छन्,’ उनले सुनाए ।
मुख्यमन्त्री आचार्यले काठमाडौंमा एमाले अध्यक्षलगायत नेताहरूसँग भेटघाट गर्ने र समय मिले कांग्रेसका केही नेताहरूसँग पनि भेट्ने बताए । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पनि काठमाडौंमै रहेकाले उनीसँग पनि भेटघाट हुन सक्ने छ ।
लुम्बिनी प्रदेशमा नेकपा अहिले प्रमुख प्रतिपक्षी दलका रूपमा छ । कांग्रेस र एमालेबिचको सत्ता समीकरण फेरबदल भए नेकपा निर्णायक शक्तिका रूपमा देखिने सम्भावना छ । नेकपा लुम्बिनी प्रदेशका प्रमुख सचेतक इन्द्रजित थारूले कांग्रेस र एमालेबिच सत्ता समीकरण फेरबदलको विषयमा आफ्नो पार्टीको धेरै चासो रहेको प्रतिक्रिया दिए ।
उनले अन्य प्रदेशमा चलेको फेरबदल गर्दा यहाँ पनि ‘कांग्रेस र एमाले दुवैसँग समान्य छलफल भएको बताए । उनले भने, ‘तर नेकपा आफैँले चासो दिएर अहिले लुम्बिनीमा सरकार फेरबदलका लागि सक्रियता बढाएको छैन ।’
उनले कसलाई समर्थन गर्ने वा आगामी रणनीति के हुने भन्ने विषयमा पार्टीले अहिलेसम्म कुनै स्पष्ट निर्णय नगरेको बताए ।
काग्रेस र एमालेबिचको सत्ता समीकरण लुम्बिनी प्रदेशमा भत्किए नेकपा निर्णायक शक्ति बन्नेछ । हाल नेकपासँग प्रदेशसभामा १३ सिट छ । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ । एमालेसँग २९ र कांग्रेससँग २७ सांसद छन् ।
कांग्रेस–एमाले गठबन्धन भत्किए नेकपा सरकार निर्माणमा निर्णायक बन्नेछ र उसलाई सत्तामा जाने अवसरसमेत प्राप्त हुन सक्नेछ ।
लुम्बिनी प्रदेशमा २०८१ साल साउनमा कांग्रेस र एमालेबिच भएको सत्ता समीकरणअनुसार चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । हाल प्रदेश सरकारमा कांग्रेस र एमालेसँगै अन्य साना दलका सांसदहरू पनि मन्त्रीका रूपमा सहभागी छन् । प्रदेश मन्त्रिपरिषद्मा १२ सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण