तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
सारांश
- नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले कपडाको आकारमा सिलिकनमा मिसाएर ल्याइएको ४ किलो २५८ ग्राम तरल कोकेनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा एक जना कोलम्बियन र अर्की एक भारतीय नागरिक रहेका छन्।
- तस्करले ब्लाङ्केट, म्याट, ज्याकेट, एप्रोन र घाँटीमा लगाउने सिरानी भित्र सिलिकनमा मिसाएर उक्त कोकेन लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको हो।
काठमाडौँ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले कपडाको आकारमा सिलिकनमा मिसाएर ल्याइएको ४ किलो २५८ ग्राम तरल कोकेनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एक जना कोलम्बियन र अर्की एक भारतीय नागरिक रहेका छन्।
हवाई मार्ग हुँदै नेपाल आउने शङ्कास्पद विदेशी नागरिकहरूको निगरानी गर्ने क्रममा ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। ब्यूरोका अनुसार गत असार ३१ गते कतार एयरवेजको उडान नम्बर ‘क्युआर ६४६’ मार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौँ आएकी ६२ वर्षीया कोलम्बियन नागरिक योनेथ गार्जन काइसेडोलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको थियो।
प्रहरीले उनको खानतलासी गर्दा उनले ल्याएको सुटकेसभित्र ‘फल्स बटम’ बनाएर लागु औषध लुकाएको फेला पारेको थियो। तस्करले ब्लाङ्केट, म्याट, ज्याकेट, एप्रोन र घाँटीमा लगाउने सिरानी भित्र सिलिकनमा मिसाएर उक्त कोकेन लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको ब्यूरोले जनाएको छ।
अनुसन्धानकै क्रममा उक्त कोकेन बुझ्न भारतको मणिपुरबाट काठमाडौँ आएकी ३७ वर्षीया भारतीय नागरिक रेबेका पुल्लेलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई साउन ३ गते पक्राउ गरिएको र हाल दुवै जनामाथि ब्यूरोबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले सिलिकनसहितको ४ किलो २५८ ग्राम लागु औषध कोकेन, एक थान राहदानी, एक थान भारतीय निर्वाचन आयोगको कार्ड र २ सय अमेरिकी डलर बरामद गरेको छ। यसका अतिरिक्त उनीहरूको साथबाट चार थान मोबाइल र एउटा सुटकेस पनि बरामद गरिएको छ।
लागु औषध तस्करहरूले नेपालमा कोकेन भित्र्याउन अपनाएको यो शैलीलाई प्रहरीले निकै नौलो मानेको छ। ब्यूरोका सह-प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जीवन निरौलाले यस विषयमा भनेका छन्, ‘अन्य मुलुकबाट नेपालमा कोकेन लुकाई ल्याएको अहिलेसम्मको ट्रेन्ड हेर्दा यो नवीनतम विधि हो। लिक्विड कोकेनलाई सिलिकनसँग मिश्रण गरी कपडाको आकार र साइजमा तयार पारी ल्याएको यो लुकाउने नयाँ विधि भएको देखिन्छ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण