आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
सारांश
- अमेरिका र इरानबीचको सैन्य आक्रमण र शब्द युद्धले क्षेत्रीय तनाव बढाएको छ ।
- इरानका विदेशमन्त्रीले अमेरिकाले इरानको पूर्वाधारमाथि आक्रमण गरे कडा जवाफ दिने चेतावनी दिएका छन् ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले जहाजमाथि आक्रमण गरे पुल वा विद्युत् केन्द्र ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
तेहरान । अमेरिका र इरानबिच सैन्य आक्रमण निरन्तर जारी रहँदा दुवै देशका नेताहरूबिच शब्द युद्ध पनि तीव्र बन्दै गएको छ । वासिङ्टन र तेहरानले एक अर्काको कुनै पनि आक्रमणको अझ कडा जवाफ दिने चेतावनी दिएका छन् । जसले क्षेत्रीय तनावलाई थप बढाएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत कडा प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्– ‘हाम्रो रक्षा सिद्धान्त स्पष्ट छ, आँखाको बदला आँखा ।’ इरानको पूर्वाधार वा राष्ट्रिय सम्पत्तिमाथि हुने कुनै पनि आक्रमणको शक्तिशाली र निर्णायक जवाफ दिइने उनले पोस्टमा लेखेका छन् । इरान आफ्नो सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको पनि उनले उल्लेख गरेका छन् ।
अराघचीको प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको नयाँ चेतावनीपछि आएको हो । ट्रम्पले बुधबार इरानले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने कुनै पनि जहाजलाई निशाना बनाएमा अमेरिकाले प्रत्येक घटनाको बदलामा इरानको एउटा पुल वा विद्युत् केन्द्र ध्वस्त पार्ने बताएका थिए ।
यसअघि पनि ट्रम्पले इरानका नागरिक पूर्वाधारहरूलाई निशाना बनाउन सकिने चेतावनी दिएका थिए । गत साता फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरान वार्तामा नआएसम्म उसका सबै पुलहरू ध्वस्त पार्ने बताएका थिए ।
यद्यपि,अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार जानाजानी नागरिक पूर्वाधारलाई निशाना बनाउनु युद्ध अपराध मानिन सक्ने भएकाले ट्रम्पको यस्तो अभिव्यक्तिमाथि आलोचना पनि भएको छ ।
इरानका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै अर्धसरकारी समाचार संस्था तस्निमले अमेरिका इरानका पुल वा विद्युत् केन्द्रमाथि आक्रमण गरे इरानले पनि सम्पूर्ण क्षेत्रमा रहेका महत्त्वपूर्ण पूर्वाधारमाथि प्रतिआक्रमण गर्ने चेतावनी दिएको जनाएको छ । ती अधिकारीका अनुसार अमेरिकाको हित जोडिएका ऊर्जा संरचना तथा अन्य महत्त्वपूर्ण पूर्वाधार पनि इरानको सम्भावित निशानामा पर्न सक्नेछन् ।
इरानी सैन्य अधिकारीहरूले स्ट्रेट अफ होर्मुजमाथि आफ्नो सार्वभौमिक अधिकार प्रयोग गर्ने अडान पनि दोहोर्याएका छन् । स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक भएकाले त्यहाँ हुने कुनै पनि सैन्य तनावले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति, तेलको मूल्य तथा विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्ने चिन्ता बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण