बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
विज्ञान/प्रविधि

एआई: आणविक बमभन्दा खतरनाक 'हतियार'

बिहीबार, ०७ साउन २०८३, ११ : ३०
बिहीबार, ०७ साउन २०८३

सारांश

  • डारिओ अमोडेले खोलेको एन्थ्रोपिक नामक कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा काम गर्दछ, जसको प्लेटफर्म क्लाउड हो।
  • एआईले चिकित्सा, कानुन, इन्जिनियरिङ, शिक्षा जस्ता विभिन्न क्षेत्रका कामहरू गर्न सक्ने क्षमता राख्दछ र यसले आईटी क्षेत्रमा ठूलो रोजगारी कटौतीको सम्भावना छ।
  • क्वान्टम कम्प्युटिङ र एआईको संयोजनले भविष्यमा विश्वको स्वरूप परिवर्तन गर्नेछ र यस युगमा गोप्यता र निजताको अवधारणा समाप्त हुनेछ।

उनको नाम हो– डारिओ अमोडे। अमेरिकाका टप ब्रेन। टेक वर्ल्डका दिग्गज। तमाम इन्फ्लुएन्सर उनलाई वर्तमान युगको जे रोबर्ट ओपेनहाइमर भन्छन्। ओपेनहाइमर २०औँ शताब्दीका त्यस्ता महान् एवं खतरनाक वैज्ञानिक हुन्, जसले मानवतालाई सबैभन्दा घातक उपहार दिए– आणविक बम।

दुनियाँलाई थाहा छ, म्यानह्याटन प्रोजेक्टअन्तर्गत जुन आणविक बम अस्तित्वमा आयो त्यसका प्रमुख ओपेनहाइमर थिए। प्रायः उनलाई आणविक बमको जनक भनिन्छ। तर विज्ञानको दुनियाँ सामाजिक, राजनीतिक अथवा धार्मिक क्षेत्रको मूल्य, मान्यता र परम्परा जस्तो एकाङ्गी हुँदैन। विज्ञानमा कुनै पनि आविष्कारका पछाडि एक व्यक्तिको मात्र योगदान नरहेर अनेकौँ व्यक्तिको सामूहिक प्रयास रहेको हुन्छ।

उदाहरणका लागि डारिओले आफूलाई प्रदान गरेको उपमामा आफूलाई ओपेनहाइमरको सट्टा लिओ जिलार्डका नजिक पाउँछन्। जिलार्ड ती व्यक्ति हुन्, जसले सबैभन्दा पहिला एटमिक चेन रियाक्सन सम्भव हुने कुरा प्रमाणित गरेर देखाए। जुन पछि गएर आणविक बम बनाउने दिशामा महत्त्वपूर्ण पानीढलो साबित भयो।

सायद त्यसैले होला डारिओ आफूलाई ओपेनहाइमरभन्दा जिलार्डको समकक्ष उभ्याउन चाहन्छन्। सबैभन्दा खतरनाक हतियार आणविक बमको निर्माणमा जिलार्डको पनि उत्तिकै योगदान छ भन्ने धेरै मानिसलाई थाहा छैन।

त्यसो त यहाँ छुटाउनै नमिल्ने कुरा के छ भने आणविक बम आइन्स्टाइनको योगदानबिना पनि बन्ने थिएन। विज्ञान जगत्‌को सबैभन्दा महत्त्वपूर्ण फर्मुला E=mc²।

अब बुझ्न केही अप्ठेरो पर्दैन। सजिलै अनुमान लगाउन सकिन्छ, डारिओ मानवतालाई आणविक बम जस्तै कुनै खतरनाक निष्पत्ति दिन गइरहेका छन्। ढिलोचाँडो (३–१० वर्षभित्र) विश्वले आणविक बमभन्दा खतरनाक 'हतियार' पाउँदैछ।

डारिओले सन् २०२१ मा एउटा कम्पनी खोले– एन्थ्रोपिक। ६५ अर्ब डलरबाट सुरु भएको यो कम्पनीले ५ वर्षमै आफूलाई ट्रिलियन डलर कम्पनीमा दर्ज गरायो। यो मुकाम हासिल गर्न एप्पललाई ४२ वर्ष, गुगललाई २१ वर्ष र मेटालाई १७ वर्ष लागेको थियो।

एन्थ्रोपिक आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बौद्धिकताको क्षेत्रमा काम गर्ने कम्पनी हो। च्याट जीपीटी जस्तै यसको पनि आफ्नो प्लेटफर्म छ, जसलाई क्लाउड (Claude) भनिन्छ। हुन त च्याट जीपीटीको विकासमा डारिओको पनि नाम आउँछ।

विश्वले एटम बमभन्दा पनि खतरनाक 'हतियार'पाउन गइरहेको छ। त्यो अरू केही नभएर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नै हो।

आफ्नो कम्पनी खोल्नुअघि उनले सन् २०१६ देखि २०२० सम्म ओपन एआई कम्पनीका लागि च्याट जीपीटी बनाउन योगदान गरेका थिए। एआई आधारित लार्ज ल्याङ्ग्वेज मोडलको च्याट जीपीटी च्याटबोट नोभेम्बर २०२२ मा लन्च भएको थियो। त्यसको चार महिनापछि एन्थ्रोपिक कम्पनीको क्लाउड मोडल लन्च भयो।

एन्थ्रोपिक कम्पनीले अप्रिल २०२४ मा क्लाउडमा नयाँ प्रोग्राम अपडेट गर्‍यो। माइथोस प्रिभ्यु र फेबेल प्रोग्रामले संसारभरि तहल्का मच्चायो। अन्ततः अमेरिकी सरकारले माइथोस र फेबेललाई अमेरिकाभन्दा बाहिर बेच्न प्रतिबन्ध लगायो। भेनेजुएला र इरानसँगको युद्धमा अमेरिकी सेनाले माइथोस र फेबेलको सहयोगले आशातीत सफलता प्राप्त गरेको थियो। कुनै एआईमाथि प्रतिबन्ध लागेको यो पहिलो घटना हो।

माथि उल्लेख गरिसकिएको छ, विश्वले एटम बमभन्दा पनि खतरनाक हतियार पाउन गइरहेको छ। त्यो अरू केही नभएर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नै हो। वास्तवमा यसको श्रेय गणितज्ञ एलन ट्युरिङलाई जान्छ। द्वितीय विश्वयुद्धमा जर्मन सेनाको कोड ब्रेक गर्ने काममा लागेका एलनले सन् १९५० तिर मेसिनमा बुद्धि आए कस्तो हुन्छ भन्ने कल्पना गरेका थिए।

पछि सन् १९५६ मा अमेरिकाको डार्टमाउथ कलेजमा भएको यससम्बन्धी सेमिनारमा आर्टिफिसियल इन्टेलिजेन्स भन्ने शब्दको उत्पत्ति भयो।

अहिले एआई आफ्नो प्रारम्भिक चरणमै छ। आम मानिसले विभिन्न च्याटबोट प्रयोग गरेर आफ्नो क्षमताभन्दा कैयौँ गुणा बढी कार्य गर्न सक्छन्। अहिले उपलब्ध एआईको प्रयोगले नै मानिसको बुद्धिमत्ता पराजित हुने चरणमा पुगिसक्यो। मानिसलाई घण्टौँ लाग्ने कार्य एआईले मिनेटमै सम्पन्न गरिदिन्छ।

अहिले एआई आफैँ सिक्ने चरणमा छ। यसै चरणमा आईटी सेक्टरमा भुइँचालो गइसक्यो। विभिन्न आईटी कम्पनीका हजारौँ कामदार बेरोजगार भइसकेका छन्। वर्षौँ लगाएर पढेका आईटी इन्जिनियरहरूले गर्ने कोडिङ, प्रोग्रामिङ, डेटा एनालाइसिस एआईले सजिलै गरिदिएको छ।

आउने तीन वर्षभित्र अर्थात् २०२९ सम्म आईटी सेक्टरका झन्डै ५० लाख इन्जिनियरहरू कम्पनीबाट बिदा हुन सक्छन् भन्ने अनुमान गरिएको छ। सायद एआईको सबैभन्दा ठूलो र पहिलो मार नै आईटी सेक्टरमा पर्छ होला। त्यसो त इन्टरटेन्मेन्ट इन्डस्ट्री पनि यसको सिकार बन्न थालिसकेको छ।

एआईबाट बनाइएका १० अर्बभन्दा बढी अनुहार (एआई सिर्जित अनुहारहरू) नेटमा उपलब्ध छन्। अब एड्भरटाइजिङ कम्पनीहरूले आफ्नो उत्पादनको विज्ञापनका लागि कुनै वास्तविक मोडललाई प्रयोग गरिराख्नुपर्दैन। त्यसको विकल्पमा उनीहरूले एआई मोडलहरूलाई प्रयोग गर्न सक्छन्।

तपाईं एआईका माध्यमले अमिताभ बच्चन, नरगिस र अन्य मनोवाञ्छित कलाकारसँग आफूलाई राखेर फिल्म बनाउन सक्नुहुन्छ।

डाक्टर, वकिल, इन्जिनियर, न्यायाधीश, शिक्षक, प्रोफेसर, म्यानेजर, अकाउन्टेन्ट, वित्तीय सल्लाहकार, मार्केटिङ म्यानेजर, पत्रकार, लेखक, सङ्गीतकार, फेसन डिजाइनर आदि सेक्टरको काम एआईले जिम्मा लिन सक्छ।

तपाईं पीएचडी गर्दै हुनुहुन्छ, तपाईंका लागि यो कार्य एआईले नै सम्पादित गरिदिन्छ। अहिले रोबोटिक सर्जरी प्रारम्भिक चरणमा छ तर निकट भविष्यमै रोबोटिक सर्जनले डाक्टरलाई विस्थापित बनाइदिन सक्छ। सूचना तथा सञ्चार जगत्‌मा सन् १९९० को दशकपछि जुन तीव्रतम विकास भयो त्यो अब एआईले मेडिकल क्षेत्रमा गर्न गइरहेछ।

आगामी तीन वर्षभित्रै एआई अहिलेको चरण पार गरेर एजीआई अर्थात् आर्टिफिसियल जनरल इन्टेलिजेन्समा प्रवेश गर्छ। त्यसबेला अहिलेका च्याटबोटको स्थानमा एआई एजेन्ट्स आइसक्नेछन्। एआई एजेन्ट्सले तपाईंले गर्ने सारा कार्य सम्पादन गरिदिन्छन्। र, आउने दशकभित्र एजीआई विकसित भएर एएसआई अर्थात् आर्टिफिसियल सुपर इन्टेलिजेन्स बन्न पुग्छ।

त्यस्तो अनुमानित बिन्दुमा एएसआईको आइक्यु लेभल १६०० हुने अनुमान गरिएको छ। त्यस स्तरमा पुग्दा मानिसले तथ्याङ्क सङ्कलन गरेर गर्ने जुनसुकै काम मानिसको हातबाट खोसिन सक्छ। एआईले ती सबै काम मानिसले भन्दा हजारौँ गुणा तीव्र गतिमा दक्षता र कुशलतापूर्वक गर्न सक्छ।

डाक्टर, वकिल, इन्जिनियर, न्यायाधीश, शिक्षक, प्रोफेसर, म्यानेजर, अकाउन्टेन्ट, वित्तीय सल्लाहकार, मार्केटिङ म्यानेजर, पत्रकार, लेखक, सङ्गीतकार, फेसन डिजाइनर आदि सेक्टरको काम एआईले जिम्मा लिन सक्छ।

  • एआई के हो त ?

एआईका परिकल्पनाकार एलन ट्युरिङले मेसिनमा इनपुट गरिएको बुद्धि मानिसले झैँ प्रयोग गरेर त्यसले काम गर्न सकोस् भन्ने सोचेका थिए।

मानिससँग बुद्धि हुन्छ, के सबै मानिससँग समान रूपको बुद्धि हुन्छ ? सबैको बुद्धिको स्तर एउटै हुन्छ ? प्रश्न बचकाना भए पनि झर्को नमान्नुस्। बुद्धिको स्रोत के हो ? जतिसुकै बुद्धिमान् भए पनि के आइन्स्टाइनलाई नेपाली बोल्न आउँथ्यो ? के लियो टल्सटोयलाई हिन्दू धर्मग्रन्थादिको मूल तत्त्व थाहा थियो ?

तपाईं सहजै भन्न सक्नुहुन्छ उनको मस्तिष्कमा नेपाली भाषा अथवा धर्मग्रन्थको डेटा थिएन। उनीहरूसँग जुन–जुन कुराको ज्ञान अर्थात् डेटा थियो ती कुरामा उनीहरू बुद्धिमान् थिए। बुद्धिको सिधै सम्बन्ध मस्तिष्कमा सङ्ग्रहित डेटासँग हुन्छ।

मस्तिष्कमा सङ्ग्रहित रहेको डेटा एनालाइसिस गरी परिणाममा पुग्नु नै बुद्धि हो। अर्थात् आजको भाषामा भन्ने हो भने इन्टेलिजेन्ट हुनु हो। कुनै मस्तिष्कमा स्टोरेज क्षमता जतिसुकै भए पनि कुनै एक विषयसँग सम्बन्धित डेटा छैन भने त्यस विषयका बारे मस्तिष्क पूर्णतया अनभिज्ञ हुन्छ। अर्थात् इन्टेलिजेन्स भनेको उपलब्ध डेटाको विश्लेषण गरेर कुनै ज्ञात–अज्ञात परिणाममा पुग्ने टुल हो, यान्त्रिकी हो।

विज्ञान भन्छ– ७० हजार वर्षपहिले संसारभर रहेका अनेक मानिस वा समुदायसँग मस्तिष्कमा स्टोरेज क्षमता थिएन। कुनै घटना अथवा अज्ञात दुर्घटनाले तत्कालीन मानिस वा समुदायमध्ये होमो सेपियन्ससँग मस्तिष्कमा यो स्टोरेज क्षमता विकसित हुँदै गयो।

यसभन्दा पहिले तमाम मानिस समुदाय प्राणी जगत्‌का अन्य सदस्यझैँ इन्स्टिंक्ट व्यवहार गर्थे। मस्तिष्कमा स्टोरेज क्षमता आएपछि होमो सेपियन्स प्राणीले आफूसँग घटेका घटना स्मृतिमा राख्न थाले। बिस्तारै भाषाको विकास भयो। उसले आफ्नो भाव, समवेदना, विचार, दृष्टिकोण व्यक्त गर्ने कलामा निपुणता हासिल गर्दै गयो।

आज पृथ्वीमा होमो सेपियन्सबाहेक मानिसको अर्को कुनै प्रजाति बाँकी छैन। यो पढ्दै गर्दा तपाईंको मस्तिष्कमा कुनै शङ्काले आकार लिएको छ भने त्यो निराधार होइन।

अब एकपटक मनन गरी हेर्नुस् त भाषा भनेको के हो ? तपाईंले भाषालाई ‘ब्रह्म’ भन्नुस् वा ‘सरस्वती’ त्यससँग मलाई कुनै आपत्ति छैन। के अक्षर, शब्द, वाक्य, निर्दिष्ट चिह्न, अङ्क आदि सबै मूल रूपमा डेटा नै होइनन् र ? के श्रुति–स्मृति परम्पराबाट अघि बढेर पुस्तक लेखनसम्म आइपुगेको त्यस युगको प्रविधिको निष्पादित पुस्तक आफैँमा एआईकै स्वरूप होइन र ?

त्यसैले मलाई के लाग्छ भने किताब अथवा पुस्तक नै पहिलो एआई टुल हो। हो, यो एक्टिभ हुँदैन त्यसैले यसलाई प्यासिभ एआई मान्न सकिन्छ।

यो स्वीकार गर्दा मानवीय बुद्धि स्वयंमै आर्टिफिसियल इन्टेलिजेन्स होइन र ? ७०–७५ हजार वर्षपहिले त्यस समयमा रहेका विभिन्न मानिस प्रजातिमध्ये एउटा होमो सेपियन्सको मस्तिष्कमा विकसित भएको स्टोरेज क्षमता र त्यसको प्रतिफलले विकसित भएको भाषा र भाषाको प्रयोगले असामान्य रूपमा वृद्धि भएको बुद्धि अर्थात् इन्टेलिजेन्सले नै अन्य सबै मानिस प्रजाति नेस्तनाबुत भएका होइनन् र ?

आज पृथ्वीमा होमो सेपियन्सबाहेक मानिसको अर्को कुनै प्रजाति बाँकी छैन। यो पढ्दै गर्दा तपाईंको मस्तिष्कमा कुनै शङ्काले आकार लिएको छ भने त्यो निराधार होइन। यसको बलियो सम्भावना छ, विश्वभरका दिग्गजहरू एआईप्रति त्यसै त्रसित भएका होइनन्।

एआईले मानिसका लागि स्वर्गको कल्पना साकार गर्न सक्छ। भन्न खोजेको के भने एआईले त्यस्तो ल्याकत पनि राख्छ। तर प्रत्येक कुराका दुइटा पाटा हुन्छन्, एउटा पाटो जति स्वच्छ र शुभ्र हुन्छ अर्को त्यत्तिकै श्याम र अँध्यारो हुन्छ, डरलाग्दो हुन्छ।

तपाईं अहिलेकै उपलब्ध कम्प्युटिङ क्षमता र एआईको तालमेलले त्रसित हुनुहुन्छ भने क्वान्टम कम्प्युटिङ र एआईको घालमेलले गर्ने महाअवतारी स्वरूपको कल्पना पनि नगर्नुस्। अहिलेदेखि नै सबै कुरा छाडेर प्रभुको शरणमा जानुस्।

जसरी २०औँ शताब्दीमा आएर न्युटनीय फिजिक्स अर्थात् क्लासिकल फिजिक्सभन्दा पहिले क्वान्टम फिजिक्सको क्षेत्रमा पस्यो र विज्ञानले पदार्थ हेर्न छाड्यो अथवा पदार्थलाई शङ्कराचार्यले झैँ माया भन्न थालियो। मायाको अर्थ मिथ्या होइन, मायाको अर्थ बदलिँदो अस्तित्व हो। सुपर पोजिसन हो। वेभ पार्टिकल हो। दृष्टिअनुसारको सृष्टि हो। अब्जर्भर इफेक्ट हो।

अहिले नै चीनले ४०० क्युबिटको क्वान्टम कम्प्युटिङ हासिल गरिसकेको छ। विभिन्न अमेरिकी कम्पनीहरूले पनि क्वान्टम कम्प्युटिङको क्षेत्रमा तीव्र विकास गर्नका लागि अर्बौँ डलर खर्च गरिरहेका छन्। जुन दिन हजार क्युबिटको क्वान्टम कम्प्युटिङसँग हाम्रो समाज ठोक्किनेछ, त्यस दिन विश्वको स्वरूप आजजस्तो रहनेछैन। त्यो पूर्णतया बदलिने निश्चित छ।

दस वर्षभित्रै चीनले १००० क्युबिटको क्वान्टम कम्प्युटिङ हासिल गर्छ। क्वान्टम कम्प्युटिङको साथ पाएर एआई पनि क्लासिकल एआईबाट क्वान्टम एआईमा रूपान्तरित हुने निश्चित छ।

समग्रतामा सुपर इन्टेलिजेन्सले गर्ने कामलाई चार भागमा विभाजन गरेर बुझ्न सकिन्छ–

१. तपाईंलाई डेटा थाहा छ। डेटाबाट आफूलाई चाहिने निष्कर्ष वा परिणाम पनि थाहा छ। तपाईं एआईलाई सोध्नुहुन्छ। उसले द्रुत गतिमा सटीकताका साथ तपाईंलाई परिणाम उपलब्ध गराउँछ। डेटा नोन, परिणाम नोन अर्थात् नोन=नोन भेरिएबल।

२. डेटा उपलब्ध छैन तर आफूलाई चाहिने परिणामबारे तपाईं पक्का हुनुहुन्छ। डेटा अननोन, परिणाम नोन अर्थात् अननोन=नोन भेरिएबल।

३. तपाईंसँग डेटा छ तर त्यसले ल्याउने परिणाम थाहा छैन। डेटा नोन, परिणाम अननोन अर्थात् नोन=अननोन भेरिएबल।

४. न तपाईंसँग डेटा छ, न परिणामबारे थाहा छ अर्थात् अननोन=अननोन भेरिएबल।

प्रकृतिले मानिसलाई सीमित क्षमताका साथ बनाएको हो। मानिससँग भएका सबै इन्द्रिय र कर्मेन्द्रियहरूको क्षमता सीमित छ। विगतका अनेकौँ मेसिनले मानिसको त्यो क्षमता बढाएको हो। ट्र्याक्टरदेखि रकेटसम्म हेर्नुस्, चस्मादेखि माइक्रोस्कोप हुँदै टेलिस्कोपसम्म हेर्नुस्।

माइक्रोस्कोप नभएको भए हामीलाई मानव कोशिका, ब्याक्टेरिया र भाइरसका बारेमा कसरी थाहा हुन्थ्यो ? हब्बल टेलिस्कोप बन्नुभन्दा पहिला मिल्कीवे ग्यालेक्सीबाहेक अन्य केही कुरा थाहा थिएन। हब्बलले ब्रह्माण्डमा २ ट्रिलियन ग्यालेक्सी रहेको बतायो।

अब संसार एआईको युगमा प्रवेश गरिसक्यो, यो कसैले चाहेर पनि रोकिनेवाला छैन। त्यसैले अब पुरानो शिक्षाको काम छैन। पुराना पेसाहरू बिस्तारै विस्थापित हुन्छन्। कुनै पनि देशको सरकारले अब रोजगार दिन सक्दैन। यदि २०० किसिमका पुराना पेसा, रोजगार अथवा आजीविकाका साधन थिए भने तीमध्ये १०–१२ वटा मात्रै टिक्न सक्छन्।

त्यसैले संसारभरका सरकारहरूले शिक्षामा अविलम्ब परिवर्तन ल्याउनैपर्ने आवश्यकता छ। साथै एआई मन्त्रालय गठन गरेर छुट्टै साइबर मन्त्रालय खडा गर्नुपर्ने आवश्यकता छ। एआई जनित बेइमानी र साइबर क्राइम अब यति तीव्र हुने निश्चित छ कि आम मानिसको घरबारदेखि बैङ्क ब्यालेन्स रित्तिन ३० सेकेन्ड पनि लाग्दैन। तपाईं साइबर र एआईका विषयमा जानकार हुनुहुन्न भने इन्टरनेटबाट लिने गरेका सुविधामा विराम लगाएकै राम्रो।

एउटा अन्तिम कुरा– अब गोप्यता र निजताको कुरा बिर्सनुस्। यो डेटाको युग हो। तपाईंका तमाम डेटा सयौँ ठाउँमा स्टोर गरेर राखिएका छन्। साइबर र एआईको यस विज्ञान सिर्जित संसारमा निजी केही छैन। गोप्य केही छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप