बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज

बिहीबार, ०७ साउन २०८३, ११ : ४५
बिहीबार, ०७ साउन २०८३

सारांश

  • जापानको एसडीआरएस कम्पनीले गर्मीबाट राहत दिन 'डु हिएमोन बक्स' नामक मानव फ्रिज बनाएको छ ।
  • यो उपकरणले प्रयोगकर्तालाई करिब ५ मिनेटमै चिसो महसुस गराउने र १० मिनेटमा शरीरको तापक्रम घटाउन मद्दत गर्ने कम्पनीको दाबी छ ।
  • निर्माणस्थल, कारखाना जस्ता स्थानमा काम गर्ने श्रमिकका लागि उपयोगी यो मानव फ्रिजले सामान्य एयर कन्डिसनरको तुलनामा आधा विद्युत् खपत गर्छ ।

टोकियो । बढ्दो गर्मीबाट मान्छेलाई राहत दिन नयाँ प्रविधि विकास गर्ने होडबाजी छ । यसै क्रममा जापानको एउटा कम्पनीले मानव शरीरलाई छिट्टै चिसो बनाउने विशेष उपकरण सार्वजनिक गरेको छ । 

जापानी रेफ्रिजेरेसन तथा भेन्डिङ मेसिन निर्माता एसडीआरएसले ‘डु हिएमोन बक्स’ नामक मानव फ्रिज बनाएको छ । यसको डिजाइन जापानभरि व्यापक रूपमा प्रयोग हुने चिसो भेन्डिङ मेसिनबाट प्रेरित भएर तयार गरिएको बताइएको छ ।

उपकरणको भित्री तापक्रम स्थायी रूपमा करिब १५ डिग्री सेल्सियसमा रहन्छ । प्रयोगकर्ता भित्र पसिसकेपछि त्यसमा रहेको कुर्सीमा बस्दा करिब ५ डिग्री सेल्सियससम्म चिसो बनाइएको हावा टाउको, घाँटी, काँध र ढाडतर्फ प्रवाह हुन्छ । यसले केही क्षणमै शरीरलाई चिसो महसुस गराउने कम्पनीको दाबी छ । 

कम्पनीका अनुसार करिब पाँच मिनेट प्रयोग गरेपछि शरीरमा उल्लेखनीय रूपमा चिसोपन महसुस हुन थाल्छ । करिब १० मिनेटसम्म बस्दा शरीरको तापक्रम छिट्टै घट्न मद्दत पुग्ने भएकाले गर्मीका कारण हुने हिटस्ट्रोक वा अत्यधिक तापको प्रारम्भिक लक्षण कम गर्न सहयोग पुग्न कम्पनीको भनाइ छ ।

यो उपकरण विशेषगरी अत्यधिक गर्मीका कारण स्वास्थ्य जोखिम उच्च हुने निर्माणस्थल, कारखाना, गोदाम तथा खुला स्थानमा काम गर्ने श्रमिकहरूका लागि उपयोगी हुने बताइएको छ । यसमा हावा र चिसोका लागि तीनवटा फरक सेटिङ उपलब्ध छन् । अत्यधिक चिसो हुन नदिन २० मिनेटपछि यो स्वतः बन्द हुने सुविधा पनि छ । कम्पनीका अनुसार यसले सामान्य स्पट एयर कन्डिसनरको तुलनामा करिब आधा मात्र विद्युत् खपत गर्छ । यसको सामान्य मोडेलको मूल्य करबाहेक करिब १५ लाख येन तोकिएको छ ।

हाल यो मुख्य रूपमा कम्पनी तथा संस्थाका लागि लक्षित भए पनि भविष्यमा जापानमा गर्मी अझ बढ्दै गए यस्ता मानव फ्रिज सार्वजनिक स्थानमा भेन्डिङ मेसिनजत्तिकै सामान्य दृश्य बन्न सक्ने अपेक्षा गरिएको छ । यसलाई जडान गर्न विशेष केही गर्नु पर्दैन । भित्र र बाहिर दुवै स्थानमा प्रयोग गर्न सकिने यो उपकरण पाङ्ग्रामा राखिएकाले आवश्यक स्थानमा सजिलै सार्न सकिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप