बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार

प्रविधिसँग प्रतिस्पर्धा होइन, सहकार्य जरुरी
बिहीबार, ०७ साउन २०८३, १३ : २६
बिहीबार, ०७ साउन २०८३

सारांश

  • गायक शिव परियारले एआईले गीत-सङ्गीत सखाप पार्ने र कलाकार विस्थापित गर्ने भन्ने चिन्ताहरू पूर्ण रूपमा आधारहीन नभए पनि एआईलाई डरका रूपमा मात्र हेर्न नहुने बताएका छन्।
  • एआईले गीत लेख्न, धुन बनाउन, गाउन, बजाउन र प्राविधिक काम छिटो गर्न सक्ने भए पनि मानव चेतना, भावना र अनुभवको विकल्प नभएको उनको भनाइ छ।
  • परियारले प्रविधिसँग डराउनुको सट्टा त्यसलाई बुझ्ने, प्रयोग गर्ने र आफ्नो मौलिकतालाई सशक्त बनाउने समय आएको भन्दै एआईले सिर्जनाको गति दिन सक्ने तर आत्मा भने कलाकारले मात्र दिन सक्ने बताएका छन्।

काठमाडौँ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले गर्दा गीत-सङ्गीत सखाप हुन्छ, कलाकार विस्थापित हुन्छन् र रेकर्डिङ स्टुडियो बन्द हुन्छन् भन्ने चर्चाबारे गायक शिव परियारले आफ्नो विचार व्यक्त गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा ‘एआई र नेपाली सङ्गीतका विषयमा मेरो विचार’ शीर्षकमा पोस्ट गर्दै उनले यी चिन्ताहरू पूर्ण रूपमा आधारहीन नभए पनि एआईलाई डरका रूपमा मात्र हेर्न नहुने बताएका हुन्।

एआईले गीत लेख्न, धुन बनाउन, गाउन, बजाउन र प्राविधिक काम छिटो गर्न सक्ने भएकाले केही प्रकारका काम र कार्यशैलीमा परिवर्तन आउनु स्वाभाविक भएको उनको भनाइ छ। तर, एआई मानव चेतनाको विकल्प नभई मानिसले नै बनाएको एक शक्तिशाली प्रविधि भएको उनले उल्लेख गरेका छन्। 

‘यसले धेरै कुरा गर्न सक्छ, तर जीवन बाँच्दैन, पीडा महसुस गर्दैन, प्रेम, बिछोड, सङ्घर्ष वा आनन्दको अनुभूति गर्दैन’ भन्दै परियारले थपेका छन्, ‘त्यसैले शब्दको रसमा डुबेर, आफ्ना अनुभव र आत्माको गहिराइबाट जन्मिएको भावलाई मानिसले जस्तो प्रस्तुत गर्न सक्दैन।’

अबको बाटो एआईसँग प्रतिस्पर्धा गर्ने नभई आफ्नै साधना अझ गहिरो बनाउने रहेको परियारको तर्क छ। कलाकार, सर्जक, सङ्गीतकार, गीतकार र प्राविधिक सबैले आफ्नो क्षेत्रमा निरन्तर अध्ययन, चिन्तन, अभ्यास र आत्ममन्थन गर्नुपर्नेमा उनले जोड दिएका छन्। साधनाबाट जन्मिएका सिर्जनाको मूल्य कुनै पनि प्रविधिले घटाउन नसक्ने विश्वास उनले व्यक्त गरेका छन्।

बजारको उदाहरण दिँदै उनले लेखेका छन्, ‘जति प्रकारका फास्ट फुड आए पनि कोदोको ढिँडो र फापरको ढिँडोको महत्त्व हराएको छैन। किनभने मानिसले अन्ततः स्वादसँगै गुण, मौलिकता र वास्तवकिता नै खोज्ने गर्दछ।’

एआईले काम गर्ने तरिका बदल्न सक्ने, सिर्जनाको गति बढाउन सक्ने र कलाकारको सहयोगी बन्न सक्ने भए पनि कुनै पनि प्रविधिले मानव संवेदना, साधना, अनुभव र आत्माबाट जन्मिएको सङ्गीतको स्थान लिन नसक्ने उनको ठहर छ। प्रविधिसँग डराउनुको सट्टा त्यसलाई बुझ्ने, आवश्यक ठाउँमा प्रयोग गर्ने र आफ्नो मौलिकतालाई अझ सशक्त बनाउने समय आएको उनले बताएका छन्। ‘एआईले सिर्जनाको गति त दिन सक्छ, तर सिर्जनाको आत्मा भने स्वयं कलाकारले मात्र दिन सक्छन्,’ उनले भनेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप