शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

भूकम्पको एक महिना बित्दा पनि भेनेजुएलामा आफन्तको खोजी जारी, पीडित जवाफ माग्दै

शुक्रबार, ०८ साउन २०८३, १२ : ३०
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • भूकम्प गएको एक महिना बितिसक्दा पनि भेनेजुएलामा हजारौं परिवारले आफ्ना आफन्तजनको खोजी गरिरहेका छन् र प्रियजनको शवसमेत फेला पार्न सकेका छैनन्।
  • सरकारी तथ्यांकअनुसार भूकम्पमा ५,३०० भन्दा बढीको मृत्यु र १६,५०० भन्दा बढी घाइते भएका छन्, तर बेपत्ताको संख्या दशौं हजारमा हुन सक्ने अनुमान छ।
  • भूकम्पपछिको सरकारी प्रतिक्रिया र भवन निर्माणमा लापरबाहीबारे पीडित समुदायले प्रश्न उठाइरहेका छन्, जबकि सरकारले भूकम्पको असाधारण तीव्रतालाई कारण बताएको छ।

काराकास । भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा शक्तिशाली दुईवटा भूकम्प गएको एक महिना बितिसकेको छ । तर हजारौँ परिवारका लागि त्रासदी अझै समाप्त भएको छैन । कतिपयले अझै आफ्ना हराइरहेका आफन्तको खोजी गरिरहेका छन् भने धेरैले आफ्ना प्रियजनको शवसमेत फेला पार्न सकेका छैनन् । त्यससँगै भवनहरू किन ढले, निर्माणमा लापरबाही भएको थियो कि थिएन भन्ने प्रश्न पनि पीडित समुदायले निरन्तर उठाइरहेका छन् ।

४९ वर्षीय माछा मार्ने काम गर्ने भिक्टर काल्देरोनका लागि त्यो दिन जीवनकै सबैभन्दा पीडादायी बन्यो । उनी लगातार १८ दिनदेखि समुद्रमा माछा मारिरहेका बेला रेडियोमार्फत आफू बस्ने भवन भत्किएको खबर पाए । किनारमा फर्किएपछि उनले परिवारका २६ सदस्य गुमाइसकेको यथार्थ सामना गर्नुपर्‍यो ।

उनले गुमाएकामध्ये दिदीबहिनी, उनीहरूका छोराछोरी र नातिनातिना, सौतेनी बुबा तथा नौ जना त काका–काकीका सन्तान थिए । मृतकहरूको उमेर दुई वर्षदेखि ७० वर्षभन्दा माथिसम्म थियो ।

भिक्टर अझै पनि बेपत्ता आफन्तहरूको खोजीमा छन् । ‘सबै हराएकालाई फेला नपार्दासम्म म रोएको छैन,’ उनले भावुक हुँदै भने । अहिले उनी आफ्नी छोरी र नातिनीसँग अस्थायी पालमा बसिरहेका छन् । उनीहरू बस्ने सार्वजनिक आवासीय भवन पूर्ण रूपमा ध्वस्त भएको थियो ।

सरकारी तथ्यांकअनुसार भूकम्पमा हालसम्म ५ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु पुष्टि भएको छ भने १६ हजार ५ सयभन्दा बढी घाइते भएका छन् । सरकारले बेपत्ताको आधिकारिक संख्या सार्वजनिक नगरे पनि त्यो संख्या दशौँ हजारमा हुन सक्ने अनुमान गरिएको छ ।

सबैभन्दा बढी क्षति पुगेको काराबायेडा क्षेत्रमा उद्धार कार्य अझै जारी छ । हालै भग्नावशेषबाट ११ वर्षीया बालिकासहित तीन जनाको शव निकालिएको थियो । एक महिनादेखि छोरीको खोजी गरिरहेका उनका बुबाले शव भेटिएपछि आफैलाई थाम्नै नसक्ने गरी रुन थाले । उद्धारकर्मीहरूले पनि केहीबेर काम रोकेर मौन प्रार्थना गरेका थिए ।

उद्धार टोलीका सदस्य माजिन हेर्नान्डेजले यस्तो दृश्यले उद्धारकर्मीलाई समेत मानसिक रूपमा भत्काइदिने बताए । ‘परिवार, साथीभाइ र उद्धार टोली सबैका लागि यो आत्मा च्यातिने अनुभव हो,’ उनले भने ।

भूकम्पपछि सहयोगका लागि पुगेका अधिकांश अन्तर्राष्ट्रिय उद्धार टोली आफ्ना देश फर्किसकेका छन् । त्यसपछि धेरै परिवार आफ्नै बलमा भग्नावशेष खोतल्दै आफन्त खोज्न बाध्य भएका छन् ।

यस अवस्थाले सरकारप्रति जनआक्रोश पनि बढाएको छ । प्रभावितहरू मुख्यतः यस्ता प्रश्न उठाइरहेका छन्, १२ मध्ये १० वटा आवासीय भवन किन ढले ? भवनको डिजाइनमा कमजोरी थियो कि ? निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको थियो कि ? कतै लापरबाही त भएको थिएन ?

यद्यपि सार्वजनिक निर्माणमन्त्री जुआन होसे रामिरेजले यी आरोप अस्वीकार गरेका छन् । उनका अनुसार भूकम्पको तीव्रता नै असाधारण थियो । ‘लगभग एकै समयमा फरक दिशाबाट आएका दुई शक्तिशाली भूकम्प कुनै पनि देशका लागि ठूलो चुनौती हुन्थे,’ उनले भने । उनका अनुसार सार्वजनिक मात्र होइन, निजी भवनहरू पनि समान रूपमा ध्वस्त भएकाले कुनै विशेष निर्माणलाई मात्र दोष दिन नमिल्ने दाबी गरे ।

कटिया ला मार क्षेत्रमा अर्को एउटा मार्मिक कथा पनि देखियो । भूकम्प गएको आठ दिनपछि पार्किङ क्षेत्रमा थुनिएका सुरक्षा गार्ड हेर्नान गिललाई जीवितै उद्धार गरिएको थियो । त्यस घटनाले केही समय देशभर आशा जगाएको थियो ।

तर अहिले त्यही भवनमा लौरा बारियोस आफ्नो ज्वाइँको शव खोजिरहेकी छन् । केही दिनअघि मात्र उनकी नन्द र तीन तथा १० वर्षका दुई बालबालिकाको शव एउटै कोठाबाट भेटिएको थियो । ‘बाल दिवस आयो, तर हाम्रो परिवारमा कुनै बच्चा बाँकी छैन,’ उनले आँसु झार्दै भनिन् ।

उनले उद्धारमा ढिलाइ गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरिन् । भग्नावशेष हटाउन प्रयोग भइरहेको भारी उपकरणसमेत अर्को स्थानमा लगिएपछि उनीहरू पुनः आफ्नै प्रयासमा खोजी गर्न बाध्य भएका छन् ।

भूकम्पपीडितलाई खाना र पिउने पानी उपलब्ध गराउन विभिन्न मानवीय संस्थाहरू सक्रिय छन् । तर धेरै परिवार अझै सडक किनारमा टाँगिएका साधारण पालमै बसिरहेका छन् ।

सरकारले हालसम्म २०० परिवारलाई नयाँ घर उपलब्ध गराएको जनाएको छ । तर वास्तविक आवश्यकता त्योभन्दा सय गुणा बढी हुन सक्ने अनुमान छ । विश्व बैंकका अनुसार यी दुई भूकम्पबाट करिब १९ अर्ब ६० करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । पुनर्निर्माणमा वर्षौँ लाग्ने र अर्बौँ डलर लगानी आवश्यक पर्ने देखिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप