शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड

कांग्रेस र एमालेबिचको रडाकोले बजेट अड्किएपछि मात्र सहयोग गर्नुपरेको दाबी
शुक्रबार, ०८ साउन २०८३, १६ : २४
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीको आवश्यकता सरकार बनाउनु नरहेको स्पष्ट पारेका छन्।
  • बजेट निर्माणका क्रममा प्रदेश सरकारहरूमा कांग्रेस र एमालेबिच रडाको मच्चिएका कारण नेकपामाथि बाध्यता आइलागेको उनले बताए।
  • राष्ट्रिय स्वाधीनता र जनताको हक अधिकारको निम्ति आन्दोलन आजको आवश्यकता भएको र नेकपाको प्राथमिकता सरकार नभएको उनले दोहोर्याए।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आवश्यकता सरकार बनाउनु नरहेको स्पष्ट पारेका छन्।

शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। बजेट निर्माणका क्रममा प्रदेश सरकारहरूमा कांग्रेस र एमालेबिच रडाको मच्चिएका कारण नेकपामाथि बाध्यता आइलागेको उनले बताए।

२०८४ सालको प्रदेश र स्थानीय तहको निर्वाचनपछि मात्रै नेकपाले सरकार बनाउनेबारे सोच्ने भन्दै उनले कांग्रेस–एमालेलाई नै सरकार सञ्चालन गरिरहन आग्रह गरे। विगतमा अन्य दलहरूसँग सहकार्य गर्दैमा वर्षौँ बितेको र नागरिक पनि त्यसै कुरामा भ्रमित भएको उनको टिप्पणी छ। साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा नेकपाको प्राथमिकतामा रहेको उनले बताए।

कार्यक्रममा बोल्दै दाहालले भने, ‘हामीले कहिले कांग्रेससँग सहकार्य, कहिले एमालेसँग, कहिले मधेसीसँग भन्दाभन्दै हाम्रा दिनहरू त्यसैमा बिते। जनता भ्रमित पनि त्यसैमा भए।’

अहिले सरकार मुख्य कुरा नरहेको उल्लेख गर्दै उनले थपे, ‘हाम्रो लागि साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा मुख्य हो। त्यसकारण हाम्रो ध्यान सरकारतिर छैन।’

प्रदेश सरकारबारे बोल्दै उनले भने, ‘अहिले हामीलाई एउटा झमेला आइलागेको छ, यो प्रदेश सरकारको झमेला। हामीले सुरुदेखि नै कांग्रेस र एमालेको सरकार सबै प्रदेशमा छ, तपाईँहरू चलाइराख्नुस्, हामीलाई चाहिएन भन्दाभन्दै यो बजेटको बेलामा कांग्रेस र एमालेको बिचमा यस्तो रडाको पर्‍यो कि बजेट पास गर्नै नसक्ने स्थिति आयो।’

बजेट अड्किएपछि बाध्यता आइलागेको दाबी गर्दै उनले भने, ‘हामीले पनि फेरि प्रदेश बरबादै हुन त दिनु हुँदैन भनेर ध्यान दिनुपर्ने अवस्था आइलाग्यो।’

आफ्नो प्राथमिकता दोहोर्‍याउँदै उनले भने, ‘म फेरि पनि भन्न चाहन्छु, हामीलाई अहिले सरकार चाहिएको छैन। नेपाली कम्युनिस्ट पार्टीको प्राथमिकता सरकार हुँदै होइन। राष्ट्रिय स्वाधीनता र जनताको हक अधिकारको निम्ति आन्दोलन आजको आवश्यकता हो।’

सरकारमा भएपछि मात्रै वामपन्थी सहकार्य हुन्छ भन्ने कुरामा आफू सहमत नरहेको उनले बताए। यद्यपि प्रदेश, संविधान र राजनीतिमा नै गाँठो पर्‍यो भने त्यो गाँठो फुकाउने कुरामा सहयोग गर्न नेकपा तयार रहेको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप