शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त

शनिबार, ०९ साउन २०८३, १२ : २२
शनिबार, ०९ साउन २०८३

सारांश

  • प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५२ औँ जन्मजयन्तीको अवसरमा सम्मान अर्पण गरेका छन्।
  • भीमसेन थापा स्मृति प्रतिष्ठानले उनको कार्यकालका सुधार, परराष्ट्र नीति र सामाजिक गतिविधिहरू समेटिएका पुस्तकहरू तयार पारेको छ।
  • कार्यक्रममा राष्ट्रियताको भावना कमजोर हुँदै गएको र देशभक्तिको धार रक्षात्मक अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरिएको छ।

काठमाडौँ । राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५२ औँ जन्मजयन्तीको अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान अर्पण गरेका छन् । आज काठमाडौँको धरहरा परिसरमा प्रधानसेनापति सिग्देलले उनको तस्बिरमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरी सम्मान प्रकट गरेका हुन्। 

सोही अवसरमा नेपाली सेनाको श्री रणभैरव गणबाट सम्मान सलामी अर्पण गरिएको थियो । स्मृति सभा तथा सम्मान अर्पण समारोहमा बोल्दै भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पृथ्वीश्वरप्रसाद तिमिल्सिनाले भीमसेन थापाको कार्यकालमा भएका प्रशासनिक सुधार, परराष्ट्र नीति र सामाजिक गतिविधिहरूलाई अभिलेखवद्ध गर्ने उद्देश्यले पुस्तकहरू तयार पारिएको बताए। 

उनले ती कृतिहरू नेपाली सेना र नीति निर्माताहरूका लागि विशेष महत्त्वपूर्ण हुनसक्ने उल्लेख गरे । प्रतिष्ठानले हालसम्म तीनवटा भाग प्रकाशित गरिसकेको र आगामी वर्षहरूमा अन्य थप डकुमेन्टहरू पनि सार्वजनिक गर्दै जाने लक्ष्य राखेको छ । विशेषगरी युवा पुस्ता र अध्येताहरूका लागि यी सामग्रीहरू ज्ञानको महत्त्वपूर्ण स्रोत हुने विश्वास व्यक्त गरिएको छ । भीमसेन थापाको योगदानलाई जीवन्त राख्न र ऐतिहासिक तथ्यहरूलाई संस्थागत गर्न प्रतिष्ठान सक्रिय रूपमा लागिपरेको तिमिल्सिनाले स्पष्ट पारे । 

प्रा.डा. बुद्धिबहादुर थापाले नेपालको अस्तित्व र राष्ट्रिय स्वाभिमान रक्षाका लागि भीमसेन थापालगायत सम्पूर्ण राष्ट्रिय विभूतिहरूले पुर्‍याएको योगदान अतुलनीय रहेको बताए। उनले पुर्खाहरूले देशका निम्ति बगाएको रगत र दिएको बलिदानबाट प्रेरणा लिँदै नेपालको स्वाभिमानलाई अक्षुण्ण राख्न आगामी पुस्ता सधैँ प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । उनले आपसी एकता र विकासका लागि सबैलाई हातेमालो गर्न समेत आह्वान गरे ।

कार्यक्रममा बोल्दै बाबुराम सिंह थापाले वर्तमान समयमा राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले इतिहासका विभिन्न कालखण्डमा देशभक्त र देशद्रोही गरी दुईवटा धार देखिने गरेको उल्लेख गर्दै अहिलेको परिस्थितिमा देशभक्तिको धार रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरे । उनले देशभक्तहरूले जस्तोसुकै कठिन परिस्थिति र यन्त्रणा सहेर पनि राष्ट्रका लागि लडिरहने बताए । थापाले अबको समयमा कुनै निश्चित वंश वा जातिका आधारमा नभई सम्पूर्ण देशभक्त नेपालीहरू एकै ठाउँमा उभिएर देश जोगाउनुपर्नेमा जोड दिए । 

विश्व राजनीतिको बदलिँदो र जटिल परिस्थितिका कारण नेपाल जस्ता साना राष्ट्रहरूको अस्तित्वमाथि नै चुनौती थपिएको चर्चा गर्दै उनले यस्तो विषम परिस्थितिमा सबै देशभक्त नागरिकहरू अग्रसर हुनुको विकल्प नरहेको बताए । –न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप