नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
केही समयअघि मात्रै सम्पन्न विश्वकै एक विशिष्ट अन्तर्राष्ट्रिय फिल्म महोत्सव ‘कान्स’को ७९औँ संस्करणका अवसरमा विश्वभरिका राजनीतिज्ञ, व्यापारी, पत्रकार, फिल्म वितरक तथा समीक्षकहरू पेरिसमा भेला भएका थिए । विश्वभरका चलचित्रकर्मीहरू यस महोत्सवमा आफ्ना सिनेमा छनोट हुनुलाई मात्र पनि जीवनभरको सपना ठान्ने गर्छन् ।
नेपाली सिनेमाको इतिहासमै पहिलोपटक अविनाशविक्रम शाहले निर्देशन गरेको ‘एलिफ्यान्ट इन द फग’ यस महोत्सवको ‘अन सर्टेन रिगार्ड्स’ र ‘बेस्ट साउन्ड’ क्याटगोरीमा छनोट भयो । यसले ‘अन सर्टेन रिगार्ड्स’तर्फ जुरी अवार्ड र साउन्डतर्फ उत्कृष्ट अवार्ड जित्यो ।
नेपाली सिनेमाकर्मीहरूका लागि यो एउटा सपना साकार भएको पल थियो । यसअघि अविनाशले नै निर्देशन गरेको ‘लोरी’ नामक सर्ट फिल्मले कान्समा छोटो चलचित्रतर्फको अवार्ड जितेको थियो । नेपाली फिल्मकर्मीहरूले बनाएका धेरै ‘सर्ट फिल्म’हरू सन् १९९० को दशकको अन्त्यदेखि नै अन्तर्राष्ट्रियस्तरका सिनेमा महोत्सवहरूमा छनोट हुन थालेका थिए । यो क्रम बढ्दै गएर आज एउटा फिचर फिल्मले कान्सजस्तो प्रतिष्ठित महोत्सवमा अवार्ड जित्न सफल भएको छ ।
एउटा सिनेकर्मीले आफ्नो नितान्त व्यक्तिगत र निरन्तरको मिहिनेत तथा प्रयासबाट यो सफलता प्राप्त भएको हो । यो सफलतापछाडि थुप्रै कथाहरू होलान्, धेरै व्यक्तिहरू जोडिएका होलान्, तर यसको नेतृत्व अविनाशले नै गरेका हुन् । यस सफलतामा राज्यले खेलेको भूमिका नगन्य देखिन्छ । अझ, अवार्ड जितिसकेपछि त्यसको अपनत्व लिने अवसरबाट समेत राज्य चुकेको छ ।
नेपालमा वर्षमा कम्तीमा पनि एक सयको हाराहारीमा सिनेमाहरू निर्माण भइरहेका छन् । केवल यही सङ्ख्यालाई नै राज्यले एउटा ठुलो उपलब्धि मानिरहेको छ । तर सिनेमा वा साहित्यको मापन सङ्ख्याले नभई त्यसको गुणस्तरले गर्छ । गुणस्तरीय सिर्जनाले समाजलाई जसरी प्रेरित गर्न सक्छ, त्योभन्दा बढी नकारात्मक असर गुणस्तरहीन सिर्जनाले पुर्याइरहेको हुन्छ ।
तसर्थ, राज्यको काम सङ्ख्या गन्ने मात्र होइन, गुणस्तरीय सिनेमा निर्माण गरिरहेका सर्जकहरूलाई निरन्तर लागिरहने अनुकूल वातावरण सिर्जना गरिदिने हो । नेपाली कथा, कला, इतिहास, पहिचान, सामाजिक चेतना, संस्कृति, सम्पदा र पुरातत्त्वलाई कलात्मक तरिकाले प्रस्तुत गर्दा अन्तर्राष्ट्रिय बजारमा पुग्न सकिने रहेछ भन्ने कुरा पछिल्लो दुई दशकमा नेपाली सिनेमाले अन्तर्राष्ट्रिय महोत्सवहरूमा पाएको सफलताले प्रस्ट्याउँछ । आज अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुगेका अधिकांश नेपाली सिनेमा कुनै सरकारी रणनीति, विशेष अनुदान वा अन्तर्राष्ट्रिय प्रवर्द्धनका परिणाम होइनन्; यी त नेपाली सिनेमाका निर्देशक, निर्माता, लेखक, प्राविधिक तथा कलाकारहरूको अथक् परिश्रम, व्यक्तिगत आर्थिक जोखिम, अन्तर्राष्ट्रिय सहकार्य र सीमित स्रोतसाधनको अधिकतम उपयोगका प्रतिफल हुन् ।
तर, सधैँ सिनेकर्मीको एकल प्रयासले मात्रै यो सम्भव हुँदैन । राज्यले सिनेमा क्षेत्रका लागि दीर्घकालीन रणनीति बनाएर सोहीअनुसारका नीति तथा कार्यक्रम निर्माण गर्ने अठोट लिनु जरुरी छ । यसो गर्न सके सिनेमा क्षेत्र केवल मनोरञ्जनको साधन वा देश चिनाउने माध्यममा मात्र सीमित रहनेछैन, यसबाट मनग्य आर्थिक लाभसमेत लिन सकिनेछ । स्पष्ट रूपमा भन्नुपर्दा, सिनेमा क्षेत्रमा लगानी बढाउनु भनेको राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउनु हो ।
यसका केही सफल उदाहरणहरू विश्व समुदायले देखिसकेको छ, जुन देशहरू यस प्रकार छन्ः
१. दक्षिण कोरिया : सिनेमा र संस्कृतिको माध्यमबाट देशको अर्थतन्त्र कसरी कायापलट हुन्छ भन्ने सबैभन्दा उत्कृष्ट उदाहरण दक्षिण कोरिया हो । सन् १९९० को दशकमा कोरियामा आर्थिक मन्दी उच्च थियो । तर, त्यही बेला उसले सिनेमा र सङ्गीतलाई सफ्ट पावरका रूपमा प्रयोग गर्दै आर्थिक आर्जन गर्ने उद्देश्यले यस क्षेत्रमा ठुलो लगानी गर्यो ।
जसको परिणामस्वरूप, २०२५/२०२६ को एक प्रतिवेदनअनुसार यस क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा वार्षिक करिब १७.१ बिलियन अमेरिकी डलरको योगदान पुर्याएको छ । यसले समाजमा पुर्याएको अप्रत्यक्ष योगदान र कोरियाको प्रतिष्ठा फैलाउन खेलेको भूमिकाले विदेशी मुद्रा भित्र्याउन ठुलो मद्दत गरेको छ । कोरियाली सरकारको ‘इन्टरनेसनल भिजिटर सर्भे’अनुसार कोरिया घुम्न आउने कुल विदेशी पर्यटकहरूमध्ये ३८.३ प्रतिशत पर्यटकहरू कोरियाली सिनेमा, ड्रामा वा त्यहाँको संस्कृतिबाट प्रभावित भएर पुग्ने गर्छन् । सिनेमाकै कारण त्यहाँको फेसन, कस्मेटिक्स र परिकारको निर्यात विश्वभर बढेको छ ।
२. न्युजिल्यान्ड : न्युजिल्यान्डले आफ्नो प्राकृतिक सम्पदा र भूमिपुत्र (माओरी) हरूका कथाहरूलाई सिनेमाका माध्यमबाट विश्वभरका दर्शकसम्म पुर्याउने लामो रणनीतिक योजना बनाएर यस क्षेत्रमा लगानी बढायो । यसले देशको पर्यटन प्रवर्द्धनमा ठुलो भूमिका खेलेको छ । सन् २००० को सुरुवाततिर चर्चित सिनेमा श्रृङ्खला ‘द लर्ड अफ द रिङ्स’ र ‘हबिट’ रिलिज भएपछि न्युजिल्यान्ड पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो । ती चलचित्र छायाङ्कन गरिएका ‘हबिटन’ जस्ता ठाउँ हेर्नकै लागि यहाँ ठुलो सङ्ख्यामा पर्यटक आउने गर्छन् । यसले त्यहाँको राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष रूपमा अर्बौँ डलर र हजारौँ रोजगारी थपेको छ, जसलाई त्यहाँ ‘द रिङ इफेक्ट’ भनिन्छ ।
३. फ्रान्स : फ्रान्सले हलिउडको सांस्कृतिक थिचोमिचोबाट आफ्नो कला र पहिचान जोगाउन कान्सजस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा ठुलो लगानी गरेको छ । फ्रान्स सरकार सिनेमालाई व्यापार मात्र मान्दैन, यसलाई राष्ट्रको गौरव र सम्पदा मान्छ । फ्रान्सले प्रत्येक सिनेमाको टिकट बिक्रीबाट निश्चित प्रतिशत रकम करका रूपमा काट्छ र सो रकम पुनः फ्रान्सेली मौलिक सिनेमा बनाउन अनुदानका रूपमा सिनेमाकर्मीहरूलाई बाँडिदिन्छ । यसले फ्रान्समा ठुलो सङ्ख्यामा मौलिक फिल्महरू निर्माणका लागि बाटो खोलेको छ । फ्रान्सलगायत युरोपेली देशहरूमा ‘क्रिएटिभ इकोनोमी’ (सिनेमा, कला, साहित्य) ले कुल रोजगारीमा बृहत् योगदान पुर्याउँछ । फ्रान्सको विश्वव्यापी छवि र पर्यटन विकासमा सिनेमाको ठुलो योगदान छ ।
४. फिलिपिन्स : फिलिपिन्सले पछिल्लो समय आफ्नो कला, संस्कृति र कथाहरूलाई सिनेमा तथा नाटकमार्फत विश्वभर फैलाएर ठुलो आर्थिक र सांस्कृतिक लाभ लिइरहेको छ । फिलिपिन्स सरकारले सिनेमा, सङ्गीत र डिजिटल मिडियालाई देशको अर्थतन्त्रको एउटा मुख्य खम्बा नै मानेको छ । यसका लागि उनीहरूले सन् २०२२ मा एउटा ऐतिहासिक कानुन पारित गरे, जसको नाम थियो– ‘फिलिपिन्स क्रिएटिभ इन्डस्ट्रिज डेभलपमेन्ट एक्ट’ ।
यस कानुनको मुख्य उद्देश्य सिनेमा र कलाका माध्यमबाट देशको आर्थिक विकास गर्नु तथा रोजगारी सिर्जना गर्नु हो । पछिल्लो एक प्रतिवेदनअनुसार फिलिपिन्समा कला क्षेत्रले करिब ७० लाख नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिएको छ ।
यस देशले आफ्नो रैथाने कथा र पहिचानलाई विश्वव्यापीकरण गरेको छ । उनीहरूले आफ्ना ऐतिहासिक घटनाहरू, पारिवारिक मूल्यमान्यता र फिलिपिनो आदिवासी संस्कृतिहरूलाई सिनेमामा प्राथमिकता दिने गरेका छन् । ‘फिल्म डेभलपमेन्ट काउन्सिल अफ द फिलिपिन्स’ले विदेशी फिल्ममेकरहरूलाई फिलिपिन्समा छायाङ्कन (सुटिङ) गर्न आकर्षित गर्नका लागि ‘फिल्म लोकेसन इन्सेन्टिभ’ दिने गर्छ । विदेशी फिल्म सुटिङ हुँदा स्थानीय प्राविधिक, कलाकार र त्यहाँको पर्यटन व्यवसायलाई प्रत्यक्ष लाभ पुगिरहेको छ ।
अब हाम्रै छिमेकी तथा दक्षिण एसियाली केही देशहरूको बारेमा चर्चा गरौँः
१. भारत : बलिउड र पछिल्लो समय दक्षिण भारतीय सिनेमाले भारतको आन्तरिक संस्कृति र लोककथाहरूलाई विश्वव्यापी बनाएका छन् । विश्वकै ठुलो जनसङ्ख्या भएको भारतमा मिडिया र मनोरञ्जन क्षेत्रले ५० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिएको छ ।
भारत सरकारको पर्यटन मन्त्रालयले ‘फिल्म टुरिजम’लाई प्रोत्साहन गर्न एउटा विशेष नीति नै बनाएको छ । भारतले सिनेमालाई केवल मनोरञ्जनको माध्यम मात्र नभई विश्वभर देशको पहिचान फैलाउने सबैभन्दा ठुलो सफ्ट पावरका रूपमा प्रयोग गर्दै आइरहेको छ ।
२. बंगलादेश : बंगलादेशले पछिल्लो समय आफ्नो फिल्म उद्योग ‘ढालीउड’को पुनरुत्थान गर्न र ओटीटी प्लेटफर्महरूमार्फत आफ्ना मौलिक कथाहरू विश्वभर पुर्याउन ठुलो लगानी गरिरहेको छ । बंगलादेश सरकारले सिनेमा उद्योगलाई प्रवर्द्धन गर्न फिल्म सेन्सर बोर्डलाई आधुनिकीकरण गर्ने र हलहरूको स्तरोन्नतिका लागि करोडौँ टाकाको विशेष सहुलियतपूर्ण ऋण कोष स्थापना गरेको छ । सरकारले राष्ट्रिय पहिचान बोकेका सिनेमा निर्माणका लागि प्रत्येक वर्ष ठुलो मात्रामा सरकारी अनुदानसमेत वितरण गर्दै आएको छ ।
३. श्रीलंका : श्रीलंकाले आफ्नो गृहयुद्धपछिको इतिहास, बुद्ध धर्मसँग जोडिएका सम्पदा र प्राकृतिक सुन्दरतालाई सिनेमामार्फत विश्वमाझ प्रस्तुत गरेर पर्यटन उद्योगलाई ठुलो टेवा पुर्याएको छ । श्रीलङ्काको कुल जीडीपीमा पर्यटन क्षेत्रको योगदान करिब ४ देखि ५ प्रतिशत छ, जसमा सिनेमा पर्यटनको ठुलो भूमिका छ । हलिउड र बलिउडका धेरै चर्चित चलचित्रहरू यहाँ छायाङ्कन गरिएका छन् । यहाँको राष्ट्रिय चलचित्र निगमले विदेशी सिनेमाहरूलाई आफ्नो देशमा खिच्न आकर्षित गरेर विदेशी मुद्रा आर्जन गर्ने नीति लिएको छ । साथै, स्थानीय चलचित्रहरूलाई अन्तर्राष्ट्रिय महोत्सवहरूमा पुर्याउन सरकारले आर्थिक सहयोगसमेत गर्ने गरेको छ ।
यसरी हेर्दा हाम्रै छिमेकी देशहरूले सिनेमाका माध्यमबाट देशको अर्थतन्त्रमा पुर्याएको योगदानको चर्चा भइरहँदा, हामीकहाँ भने सिनेमा क्षेत्रले अर्थतन्त्रमा कति योगदान पुर्याउँछ भन्ने एकीकृत तथ्याङ्क वा ‘डाटा’समेत राज्यसँग छैन ।
नेपालसँग संसारकै उत्कृष्ट लोकेसन र मौलिक कथाहरू छन् । राज्यले सिनेमा क्षेत्रलाई अनुत्पादक क्षेत्रका रूपमा हेर्न छाडेर छिमेकी देशहरूले जस्तै नीतिगत रूपमै प्राथमिकता दिने हो भने नेपाली सिनेमाले नेपालको सुस्त रहेको पर्यटन र रचनात्मक अर्थतन्त्रलाई नयाँ ऊर्जा दिन सक्छ ।
किनभने, पछिल्ला वर्षहरूमा विश्व अर्थतन्त्रमै सिर्जनशील क्षेत्रको भूमिका र महत्त्व बढेर गएको छ । ‘बिजनेस कन्सल्टिङ फर्म एन्ड ग्लोबल म्यानेजमेन्ट’को पछिल्लो अध्ययन प्रतिवेदनअनुसार सन् २०२० मा रचनात्मक उद्योगको उत्पादन २ दशमलव २५ ट्रिलियन डलरबराबर थियो, जुन विश्वको कुल जीडीपीको करिब ३ दशमलव १ प्रतिशत हो ।
युनेस्कोको सन् २०२२ को रिपोर्टअनुसार विश्वमा सिर्जना भएका कुल रोजगारीमध्ये झन्डै ६ दशमलव २ प्रतिशत रचनात्मक क्षेत्रले सिर्जना गरेको थियो । यस प्रतिवेदनमा रचनात्मक उद्योगमा गरिने प्रत्येक १ डलरबराबर लगानीले समग्रमा २ दशमलव ५० डलरबराबरको आर्थिक ‘आउटपुट’ दिने उल्लेख छ; किनभने रचनात्मक उद्योगले पर्यटन, उत्पादन र सहरी सेवाजस्ता अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि लाभ पुर्याइरहेको हुन्छ ।
तसर्थ, आजका दिनमा रचनात्मक क्षेत्र केवल राज्यको प्रतिष्ठा, मनोरञ्जन वा विलासको साधनमा मात्र सीमित छैन । यसले ठुलो सङ्ख्यामा रोजगारी सिर्जना गर्छ र अर्थतन्त्रलाई चलायमान बनाउँछ । जसरी फिलिपिन्स र अन्य देशहरूले आफ्नो देशको सिनेमा तथा कला क्षेत्रलाई कानुनी रूपमै सिर्जनात्मक उद्योगको मान्यता दिएर देशको कुल जीडीपीमा उल्लेख्य योगदान पुर्याउन सकेका छन्, त्यसैगरी नेपालले पनि सिनेमालाई मनोरञ्जनको दायराबाट माथि उठाएर आर्थिक विकासको इन्जिन बनाउन सक्छ ।
नेपालका मौलिक कथा, भाषा, वेषभूषा र संस्कृतिलाई सिनेमामार्फत विश्वमाझ पुर्याउन राज्यले ठोस नीति ल्याउनु जरुरी छ ।
नयाँ चलचित्र विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेस भएर हाल विषयगत समितिहरूमा छलफलका क्रममा छ । टेबुल गरिएको उक्त विधेयकमाथि सरोकारवालाहरूका तर्फबाट पर्याप्त सुझावहरू दिइएका छन् । यस क्रममा सङ्कलन हुने हरेक सुझाव र बहस नेपाली सिने क्षेत्रलाई भावी दिनमा मार्गदर्शन गर्नका लागि महत्त्वपूर्ण साबित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण