शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ

शनिबार, ०९ साउन २०८३, १७ : २६
शनिबार, ०९ साउन २०८३

सारांश

  • नेपाल पत्रकार महासङ्घ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठले ‘टोकियो घोषणापत्र’ प्रवासको पत्रकारिताका लागि मार्गदर्शक दस्ताबेज हुने बताएका छन् ।
  • उनले यो सम्मेलनले प्रवासमा रहेर गरिने पत्रकारितालाई थप जिम्मेवार र व्यावसायिक बनाउन नयाँ उचाइ प्रदान गर्ने बताए ।
  • उनले डायस्पोरा मिडियाले नेपालको समृद्धि र पर्यटन प्रवर्द्धनमा थप सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

जापान । नेपाल पत्रकार महासङ्घ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठले ‘एफएनजे ग्लोबल मिडिया कन्फरेन्स’ मार्फत जारी हुने ‘टोकियो घोषणापत्र’ प्रवासको पत्रकारिताका लागि मार्गदर्शक दस्ताबेज हुने बताएका छन् । शनिबार टोकियोमा आयोजित सम्मेलनको समापन तथा उद्घाटन सत्रमा बोल्दै अध्यक्ष श्रेष्ठले प्रवासमा रहेर गरिने पत्रकारितालाई थप जिम्मेवार र व्यावसायिक बनाउन यो सम्मेलनले नयाँ उचाइ प्रदान गर्ने बताएका हुन् ।

आयोजक शाखाको तर्फबाट मन्तव्य राख्दै श्रेष्ठले जापान जस्तो व्यस्त र महँगो देशमा विश्वभरका नेपाली पत्रकारहरूलाई एउटै थलोमा भेला गराउनु चुनौतीपूर्ण भए पनि डायस्पोराको आवाजलाई सङ्गठित गर्न सफल भएकोमा खुसी व्यक्त गरे । ‘हाम्रो मुख्य उद्देश्य नै ब्रिजिङ नेपाल एन्ड द वर्ल्ड थ्रु मिडिया’ हो,’ उनले भने- ‘५० लाखभन्दा बढी प्रवासी नेपालीको भावना र समस्यालाई राज्यको केन्द्रसम्म पुर्‍याउन हामीले यो पहल गरेका हौँ ।’

अध्यक्ष श्रेष्ठले नेपाल पत्रकार महासङ्घका ११ वटा वैदेशिक शाखाहरू र केन्द्रबिचको सम्बन्धलाई थप सुदृढ र संस्थागत बनाउन सम्मेलन सफल भएको दाबी गरे । उनले नेपालबाट आएको ४१ जनाको जम्बो टोली र विभिन्न देशका प्रतिनिधिहरूको उपस्थितिले प्रवासको पत्रकारिताको महत्त्वलाई राज्यले पनि स्वीकार गरेको पुष्टि भएको बताए ।

प्रवासमा रहेका नेपालीहरूले आफ्नै बलमा सञ्चालन गरेका सञ्चारमाध्यमहरूले भोग्नुपरेका कानुनी, प्राविधिक र आर्थिक चुनौतीबारे चर्चा गर्दै उनले अबका दिनमा ‘डायस्पोरा मिडिया’ ले नेपालको समृद्धि र पर्यटन प्रवर्द्धनमा थप सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाए । ‘हामीले टोकियोमा जे जति छलफल गर्‍यौँ, त्यसको सार नै टोकियो घोषणापत्र हो, जसले प्रवासको पत्रकारितालाई नयाँ दिशा दिनेछ,’ उनले थपे ।

सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने सबै सङ्घ–संस्था, स्वयंसेवक र नेपालबाट टोकियो पुगेका केन्द्रीय पदाधिकारीहरूलाई धन्यवाद दिँदै श्रेष्ठले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूले निरन्तरता पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल र विदेशका गरी सयौँ पत्रकार तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप