साप्ताहिक राशिफल : कस्तो रहला यो साताको तपाईंको भाग्य ?
सारांश
- मेष राशिको लागि साताको सुरु र अन्तको समय राम्रो छ, जसले सामाजिक, परोपकारी र शैक्षिक यात्राको अवसर ल्याउनेछ ।
- वृष राशिको लागि मंगलबार साँझसम्मको समय मध्यम छ, जसले व्यापारमा मन्दी ल्याउन सक्छ, तर बुधबारबाट भने शैक्षिक यात्रा र व्यापारमा वृद्धि हुने सम्भावना छ ।
- मिथुन राशिको लागि साताको सुरु र अन्तको समय राम्रो छ, जसले भौतिक सम्पत्ति र विलासी वस्तुको व्यापारबाट आम्दानी ल्याउनेछ ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापार वा सेयर बजारमा गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूका लागि रमाइलो यात्राको अवसर जुर्नेछ । बुधबार र बिहीबार प्राकृतिक स्रोत तथा पैतृक धन सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला, समाजमा विवाद हुने योग रहेको छ । कार्यक्षेत्रमा अरूको नकारात्मक टीकाटिप्पणीले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरू हाबी हुनेछन् । नोकरीमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेको छ । आफन्तको भावनालाई कदर गर्न नसक्दा टाढिनुपर्ने बाध्यता आउनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मंगलबार साँझसम्मको समय मध्यम रहेकोले व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था नाजुक हुन सक्छ, ध्यान दिनुहोला । आफन्त तथा चेलीहरूसँग मनमुटाव सिर्जना हुनेछ । बुधबारबाट धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । पूजा सामग्री तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ । सेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक सम्पत्ति तथा विलासी वस्तुको व्यापार व्यवसायबाट मनग्ये आम्दानी गर्न सकिनेछ । सेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । व्यवसायकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोगमार्फत अधिकार स्थापित गर्न सकिनेछ । बुधबार र बिहीबार आफन्त तथा चेलीहरूसँग मनमुटाव सिर्जना हुनेछ । व्यस्तता बढे पनि कमाइ भने न्यून नै रहनेछ । बोल्दा वा खानपानमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । निर्माण सामग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईंकै पक्षमा फैसला हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले यात्राको अवसर जुराउनेछ । वित्तीय क्षेत्र तथा सेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । साताको अन्त अर्थात् शुक्रबारबाट स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेको छ । काममा ढिलासुस्ती, बैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेको छ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नति तथा नयाँ काम पाउने योग केही दिनको लागि टरेर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले धन, सम्पत्ति, चिट्ठा तथा उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति-पत्नीबीचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईंको काममा भरपुर सहयोग गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईंकै पोल्टोमा पर्नेछ । वित्तीय क्षेत्र तथा सेयर बजारमा गरिने लगानीबाट भविष्यमा राम्रो आम्दानी हुनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले कुनै पनि कामलाई पुनः गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । पुराना रोगहरू फेरि बल्झिन सक्छन्, ध्यान दिनुहोला । रकम लगानी गर्नको लागि केही समय पर्खनु नै उचित रहेको छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावना रहेको छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मंगलबार साँझसम्मको समय मध्यम रहेकोले घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । राजनीति तथा समाजसेवीहरूका लागि समय मध्यम रहेको छ । मंगलबार साँझबाट शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोगमार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्ये धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफ्नै मिहिनेतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङ्कन हुनेछ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । बुधबार र बिहीबार आफन्त तथा साथीभाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, विवाद तथा किचलो हुन सक्छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय मध्यम रहेकोले दौडधुप तथा लामो खटाइले मात्र कामहरू सम्पादन हुनेछन् । पुराना मुद्दाहरूको निर्णय तपाईंको पक्षमा नआउने तथा नयाँ विवादमा फस्ने योग रहेको छ । आफूभन्दा ठुला तथा प्रतिष्ठित व्यक्तिहरूसँग विवाद बढ्ने योग रहेको छ । तर पनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । व्यापारबाट मनग्ये धन आर्जन गर्न सकिनेछ भने नयाँ सेयर बजारमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईंकै पोल्टोमा पर्नेछ । गीत संगीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समय फलदायी रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कार्यक्षेत्रमा तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेका कामहरू स्वतःस्फूर्त रूपमा अगाडि बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । अध्ययनमा अरूभन्दा एक कदम अगाडि बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ । शुक्रबार र शनिबार गन्तव्यविहीन यात्राले समस्या निम्तिन सक्छ, ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ । कुनै पनि विवाद तथा अदालती प्रक्रियामा सामेल नहुनुहोला, तपाईंको पक्षमा निर्णय नआउन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मंगलबार साँझसम्मको समय मध्यम रहेकोले खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला, दण्ड तथा जरिवाना हुन सक्छ । मंगलबार साँझबाट नयाँ प्रविधिको प्रयोगमार्फत रचनात्मक काम गरी मनग्ये धन आर्जन हुनेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति-पत्नीबीच विश्वास बढ्नेछ । होटल, रेस्टुरेन्ट तथा बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छलाङ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकांक्षाहरू पूरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्रा हुनेछ । बुधबार र बिहीबार खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ, ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । न्यायसंगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्ये फाइदा हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तिको गतिलो योग रहेको छ । कीर्तिमानी काम गरी नाम तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । सेयर बजार तथा व्यापारबाट मनग्ये लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्ये धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । शुक्रबारबाट लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ, ध्यान दिनुहोला ।
तपाईँको दिन शुभ रहोस् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण