आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

एमाले कर्णालीले भन्यो- ‘नेकपाकै कारण मुख्यमन्त्रीले राजीनामा दिनुपर्‍यो, केन्द्रको निर्णय हामीलाई पचेको छैन’

आइतबार, १० साउन २०८३, १३ : १९
आइतबार, १० साउन २०८३

सारांश

  • नेकपा एमाले कर्णालीले केन्द्रमा नेकपासँग गरिएको प्रदेश सत्ता समीकरण आफू खासै नपचेको बताएको छ।
  • नेकपाकै कारण एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीबाट राजीनामा दिनुपरेपछि कर्णाली एमाले रुष्ट बनेको छ।
  • एमाले सांसद विनोदकुमार शाहले केन्द्रको निर्णय एमाले कर्णालीलाई त्यति पचेको अवस्था नभएको बताएका छन्।

सुर्खेत । नेकपा एमाले कर्णालीले केन्द्रमा नेकपासँग गरिएको प्रदेश सत्ता समीकरण आफू खासै नपचेको बताएको छ। नेकपाकै कारण एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि समीकरण बनेपछि कर्णाली एमाले रुष्ट बनेको छ । 

पूर्वमन्त्री एवम् एमाले सांसद विनोदकुमार शाहले नेकपा र एमालेबिच सहकार्य हुने कुरामा केन्द्रमा सम्झौता भइसकेपछि कर्णालीमा एमालेले दाबी गर्ने ठाउँ नरहेको बताए ।  ‘तर केन्द्रको निर्णय एमाले कर्णालीलाई त्यति पचेको अवस्था होइन,’ उनले रातोपाटीसँग भने  ।

उनका अनुसार, सहकार्यको कुरा अहिले प्रदेश स्तरमा भएको स्थिति नै छैन । यद्यपि केन्द्रमा दुई कम्युनिस्टबिच सहकार्यको कुरा चलिरहेका बेला कर्णालीमा नेकपाले एमाले मुख्यमन्त्रीविरुद्ध काङ्ग्रेससँग मिलेर अविश्वासको प्रस्ताव मात्र दर्ता गराएन सोही कारण सोमबार यामलाल कँडेलले पदबाट राजीनामा दिनुपर्‍यो ।

त्यसपछि मात्रै केन्द्रबाट निर्णय आयो । ‘हामीले उहाँहरूलाई (नेकपा) ‘ब्याक’ भइदिनुस् र अविश्वासको प्रस्ताव फिर्ता लिनुस् भनेका थियौँ, तर उहाँहरूले मान्नुभएन,’ शाह भन्छन्, ‘उहाँहरूले नमानेकै कारणले गर्दा मुख्यमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था आयो ।’

त्यसकारण अहिले अवस्था सहज नरेको उनले प्रस्ट पारे । तथापि राजनीतिमा कहिलेकाहीँ अस्वाभाविक कुराहरू पनि स्वाभाविक भइदिन्छन्, त्यो हुन सक्छ ।  उनी थप्छन्, ‘हुन्न भनेर हामीले अहिले नै भन्न त सकिन्न, तर जोसँग सहयात्री बन्ने निर्णय भएको छ, उहाँहरूका कारण हामी साह्रै अप्ठ्यारोमा परेको चाहिँ हो ।’

केन्द्रमा मुख्यमन्त्री नेकपाले पाउने समझदारी भएपछि उक्त कुरा ल्याएर नेकपा कसरी आउँछ, के गर्छ ? भन्ने कुरामा निर्भर रहने शाह बताउँछन् ।

‘अब बल उहाँहरूकै कोर्टमा छ, हाम्रो कोर्टमा छैन, उहाँहरूले बल कसरी हान्नुहुन्छ, त्यसमा निर्भर हुन्छ,’ उनले भने । प्रदेश सभामा रहेका सबै राजनीतिक दलहरूसँग संवाद, छलफल र निर्णय गर्ने अधिकार एमाले संसदीय दलका नेता यामलाल कँडेललाई दिइएको पनि उनले बताए । कँडेल आइतबार बिहान काठमाडौँ गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप