मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान चलाएपछि लागूऔषध सेवनकर्ता र कारोबारी धमाधम पक्राउ पर्न थालेका छन् ।
लागूऔषधविरुद्धको अभियानअन्तर्गत प्रहरीले नियमित जाँच गर्न थालेपछि मधेस प्रदेशका आठवटै जिल्लामा गाँजा, चरेस, अफिम, ब्राउन सुगरलगायत लागूऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्न थालेका हुन् ।
सङ्गठित अपराध तथा लागूऔषधविरुद्ध अभियान चलाएको प्रहरीले मधेस प्रदेशका आठवटै जिल्लाबाट ठूलो परिमाणमा लागूऔषध पनि बरामद गर्दै आएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बितेका तीन आर्थिक वर्षमा मधेस प्रदेशमा विभिन्न प्रकारका लागूऔषधसहित दुई हजार ८११ जना पक्राउ परेका छन् भने दुई हजार १२१ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । उक्त अवधिमा दुई हजार ५५४ नेपाली, २५३ भारतीय र एक विदेशी नागरिकसहित दुई हजार ८११ जना पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।
बितेको आर्थिक वर्षमा मधेस प्रदेशमा लागूऔषधसहित प्रहरीले ७८६ नेपाली, ८४ भारतीय र एक विदेशी गरी ८७१ जनालाई पक्राउ गरेको छ भने ६३० वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् ।
यसैगरी, सो अवधिमा १५ हजार ३८२ किलोग्राम गाँजा, ५१६ ग्राम ब्राउन सुगर, २७२ किलोग्राम चरेस, तीन किलोग्राम अफिम, दुई हजार ८३१ ग्राम हिरोइन, चार लाख ७३ हजार ४८५ वटा ट्याब्लेट, दुई हजार ११८ सिरफ र १८ हजार १२५ इन्जेक्सन बरामद भएको प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लागूऔषधसहित ८३६ जना पक्राउ पर्दा ५८५ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए । त्यस क्रममा १६ हजार ५७३ किलोग्राम गाँजा, ६१ ग्राम ब्राउन सुगर, ५०५ किलोग्राम चरेस, ४५ किलोग्राम अफिम, दुई हजार ७०५ ग्राम हिरोइन, तीन लाख ७० हजार ४४२ वटा ट्याब्लेट, सात हजार ५०४ सिरफ र ६१ हजार ३३३ इन्जेक्सन बरामद भएको थियो ।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा प्रहरीले मधेस प्रदेशबाट लागूऔषधसहित एक हजार १०४ जनालाई पक्राउ गरेको थियो भने ७९७ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए । सो आर्थिक वर्षमा आठ हजार ५३९ किलोग्राम गाँजा, ५९४ ग्राम ब्राउन सुगर, १२१ किलोग्राम १४६ ग्राम चरेस, एक ग्राम अफिम, एक हजार १३१ ग्राम ७ हजार १११ मिलिग्राम हिरोइन, ४९ हजार ८८८ वटा ट्याब्लेट, तीन हजार ४१६ सिरफ र ५४ हजार ४०४ इन्जेक्सन बरामद भएको थियो ।
खुला सीमाको फाइदा उठाउँदै नेपाल–भारत सीमा जोड्ने विभिन्न नाकाका औषधि पसलबाट सहजै ल्याइने लागूऔषध राजधानी काठमाडौंसम्म पुग्ने गरेको छ ।
सीमावर्ती भारतीय बजारमा पुगेर लागूऔषध सेवन तथा खरिद गरी नेपाल ल्याउने युवाको संख्या बढ्दो रहेको छ । प्रहरीले सीमा नाकामा ओहोरदोहोर गर्ने युवालाई लक्षित गरेर चेकजाँच कडा गरेसँगै अधिकांशको साथबाट केही न केही मात्रामा लागूऔषध बरामद हुने गरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले बताए ।
लागूऔषध सेवन तथा कारोबारको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा रहेका छन् । अभिभावकविहीन युवा लागूऔषधको कुलतमा फसेको उनले बताए । पढाइ छोडेर बसेका, काम नपाएर फुर्सदमा रहेका युवा साथीको बहकाउमा परेर दुव्र्यसनमा फस्ने गरेको प्रहरी नायब महानिरीक्षक अधिकारीले बताए ।
‘यसअघि प्रायः युवा मात्रै लागूऔषधको दुव्र्यसनमा फसेका जस्तो लाग्थ्यो,’ उनले भने, ‘हिजोआज बालबालिका, किशोरकिशोरी र महिला पनि यसमा फसेका भेटिन्छन् । छोरालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँदा पनि अभिभावकले आफ्ना सन्तान लागूऔषधको कुलतमा फसेको पत्याउँदैनन् । लागूऔषध दुव्र्यसनबाट बच्न अभिभावक, विद्यालय, शिक्षक र परिवार आफैं सचेत हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोदारी राजमार्ग १० दिनदेखि अवरुद्ध, स्थानीय आक्रोशित
-
पारामेडिक्सका नीतिगत अन्योल हटाउन सीएमए सङ्घको माग
-
इन्सपेक्टर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न १० दिन म्याद थप
-
मापसे गरेर सवारी चलाएको अभियोगबाट बच्न आफ्नै मृत्युको नाटक
-
'रामायण'का मेकरहरूले बाँडेका हुन् सुनको शङ्ख ?
-
नेपाल भलिबल लिगको खेलाडी अक्सन, १२९ खेलाडीमाथि बोली लाग्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण