आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

पूर्वमुख्यमन्त्री जम्कट्टेललाई प्रश्न : नेकपा पदको प्रलोभनमा सरकारमा जान लागेको हो ?

आइतबार, १० साउन २०८३, १३ : ४६
आइतबार, १० साउन २०८३

सारांश

  • पूर्वमुख्यमन्त्री जम्कट्टेलले नेकपा पदको लोभमा नभई प्रदेशसभा विघटनबाट जोगाउन सरकार गठनको प्रक्रियामा सहभागी हुन लागेको बताएका छन् ।
  • उनले वर्तमान राजनीतिक परिस्थितिलाई निकास दिन र प्रदेशसभाको कार्यकाल जोगाउनका लागि यो कदम चालेको स्पष्ट पारे ।
  • जम्कट्टेलका अनुसार कांग्रेस र एमालेबीचको अघिल्लो गठबन्धन भत्किनुमा नेकपाको भूमिका नभई नेतृत्व हस्तान्तरणमा असमझदारी मुख्य कारण थियो ।

हेटौँडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री शालिकाराम जम्कट्टेलले प्रदेशसभालाई विघटनबाट जोगाउन बाध्यात्मक रूपमा सरकार गठनको प्रक्रियामा सहभागी हुन लागेको बताएका छन् । नेकपा पदको लोभमा परेर नभई प्रदेशसभाको स्थायित्व र मध्यावधि रोक्न सरकारमा सहभागी भएको बताए ।

हालैको राजनीतिक घटनाक्रम र बागमती प्रदेशमा नयाँ सरकार गठनको विषयमा नेकपा सत्ताको लागि मरिहत्ते गर्ने पक्षमा नरहेको उनले बताए । पार्टीभित्रै र कार्यकर्ता तहमा नेकपा सरकारभन्दा बाहिरै बस्नुपर्ने आवाज उठिरहेको बखत सत्ताको दौड भन्दा पनि वर्तमान राजनीतिक परिस्थितिलाई निकास दिन अग्रसर रहेको उनले बताए । पटक–पटकको सरकार परिवर्तनले जनतामा वितृष्णा बढिरहेकाले अब बन्ने गठबन्धनले प्रदेश सभाको कार्यकाल जोगाउने र स्थिरता दिनुपर्ने उनले बताए ।

‘हामी सरकारमा जान हतारिएका थिएनौँ र छैनौँ पनि । अहिलेको गठबन्धन टिकोस् भन्ने नै हाम्रो चाहना थियो । तर, अहिलेको अवस्थामा हामी सहभागी नहुने वा समर्थन नगर्ने हो भने प्रदेश सभा नै रहँदैन (विघटन हुन्छ) । त्यसैले यो हाम्रो खुसी भन्दा पनि संवैधानिक स्थिरताका लागि गरिएको बाध्यता हो ।’ उनले भने

उनका अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको अघिल्लो गठबन्धन भत्किनुमा नेकपाको कुनै भूमिका छैन । कांग्रेस र एमालेका नेताहरू आलोपालो नेतृत्वको सहमतिमा इमानदार हुन नसक्दा अहिलेको अवस्था सिर्जना भएको उनले बताए । नेतृत्व हस्तान्तरणको विषयमा कांग्रेस एमालेबिच असमझदारी बढ्नु नै गठबन्धन टुट्नुको मुख्य कारण देखिएको उनको भनाइ छ । नेकपाले मुख्यमन्त्री दाबी गरिरहेको भए पनि केन्द्रको भागबन्डामा कर्णाली प्रदेश लिनुपर्ने भएपछि बागमती छोड्नुपरेको उनले बताए ।

‘हाम्रो स्ट्रङ्ली दाबी बागमतीमै थियो । तर पाँच प्रदेशको प्याकेजमा कुरा गर्दा कर्णाली र बागमती मध्ये एउटा रोज्नुपर्ने भयो । अन्ततः कर्णाली हाम्रो भागमा प¥यो । बलियो उपस्थिति रहेको बागमतीमा हामीले एमालेलाई सघाउनुपर्यो’ उनले भने ।

नयाँ सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साथ अनिवार्य रहेको र राप्रपासँग छलफल गरेर मात्र अगाडि बढ्ने उनले बताए । उनले वर्तमान मुख्यमन्त्री विरुद्ध तत्कालै अविश्वासको प्रस्ताव लैजाने हतारोमा आफूहरु नरहेको पनि स्पष्ट परे ।

‘मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्छु भन्नुभएको छ । उहाँसँग विश्वासको मत लिने एक महिनाको समय छ । हामी उत्ताउलो भएर हतार गर्दैनौँ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप