आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

प्रश्नपत्र चुहावट प्रकरणमा स्ववियूले माग्यो त्रिवि डिनको राजीनामा

आइतबार, १० साउन २०८३, १४ : ०५
आइतबार, १० साउन २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियूले प्रश्नपत्र चुहावट प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै व्यवस्थापन संकायका डीन र सहायक डीनको राजीनामा मागेको छ ।
  • स्ववियू सभापति दीपकराज जोशीले परीक्षाको निष्पक्षतामाथि सम्झौता गर्न नसकिने र डिन कार्यालय आफैँले छानबिन समिति बनाउँदा विश्वसनीयतामा प्रश्न उठेको बताए ।
  • स्ववियूले दुई दिनभित्र दोषीलाई कारबाहीको माग गरेको छ भने त्रिवि व्यवस्थापन संकायले एमबीएस प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न प्रा.डा.अच्युत ज्ञवालीको संयोजकत्वमा सात दिनको समयसीमा भएको समिति गठन गरेको छ ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले व्यवस्थापन संकाय डीन र परीक्षा हेर्ने सहायक डीनको राजीनामा माग गरेको छ । नैतिक जिम्मेवारी लिई राजीनामाको माग गरिएको त्रिवि स्ववियू सभापति दीपकराज जोशीले रातोपाटीलाई जानकारी दिए । 

जोशीले भने– ‘परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमा माथि कसैले सम्झौता गर्नुहुँदैन । यो गम्भीर विषय हो । डिन कार्यालय नै दोषी भएर उसले आफैँले समिति बनाएर छानबिन हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिँदैन । विश्वसनीयतामाथि प्रश्न खडा भएको छ । नैतिकताका आधारमा सम्बन्धित निकायका अधिकारीले राजीनामा दिनैपर्छ ।’ दुई दिनभित्र दोषीलाई कारबाहीको माग स्ववियूको छ । 

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा सञ्चालन समितिले समिति बनाएको थियो । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डिनको कार्यालयले मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटनाको छानबिन गर्न आइतबार बिहान एक समिति गठन गरेको छ ।

छानबिन समितिको संयोजकमा त्रिवि केन्द्रीय विभागका प्रा.डा.अच्युत ज्ञवाली रहेका छन् । यस्तै, सदस्यहरूमा केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा समितिका सदस्य महेशराज ओझा रहेका छन् । समितिलाई सात दिन समय दिइएको त्रिवि व्यवस्थापन संकायका सहायक डिन डा.भरत राईले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप