मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी

मङ्गलबार, १२ साउन २०८३, १२ : ४८
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • मानव बेचबिखनको आधुनिक स्वरूपलाई सम्बोधन गर्न नेपाल प्रहरीले साइबर ब्युरो अन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको प्रस्ताव अगाडि बढाएको छ ।
  • आकर्षक रोजगारीको प्रलोभनमा पारी विदेश पुर्‍याई अनलाइन ठगी तथा साइबर अपराधमा संलग्न गराउने नयाँ प्रवृत्ति बढ्दो क्रममा छ ।
  • पछिल्लो तीन वर्षमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ५ सय ३० मुद्दा दर्ता भएका छन्, जसमा ८६ प्रतिशत महिला तथा बालबालिका पीडित छन् ।

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र आधुनिक स्वरूपलाई सम्बोधन गर्न नेपाल प्रहरीले साइबर ब्युरो अन्तर्गत ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको प्रस्ताव अगाडि बढाएको बताएका छन् । 

मङ्गलवार विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले उक्त जानकारी दिनुभएको हो । महानिरीक्षक कार्कीले पछिल्लो समय मानव बेचबिखन परम्परागत स्वरूपबाट रूपान्तरित भई डिजिटल प्लेटफर्ममार्फत हुने ‘साइबर स्लेभरी’ र ‘फोस्र्ड क्रिमिन्यालिटी’का रूपमा देखापरेको बताए ।

उनले आकर्षक रोजगारीको प्रलोभनमा पारी विदेश पुर्‍याउने र त्यहाँ बन्धक बनाई अनलाइन ठगी तथा साइबर अपराधमा संलग्न गराउने नयाँ प्रवृत्ति बढ्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गरे। पछिल्लो तीन वर्षमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ५ सय ३० वटा मुद्दा दर्ता भएका छन् । कुल ७१० जना पीडितमध्ये ८६ प्रतिशत महिला तथा बालबालिका रहेका छन् ।

दक्षिण पूर्वी एशिया र भारतबाट गरिएका उद्धार अभियानमा ८७ प्रतिशत महिला तथा बालबालिका नै रहेका छन् । यद्यपि, पुरुष पीडितको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अनुसार दक्षिण एसियामा मानव बेचबिखनबाट प्रभावित मुलुकहरूमध्ये नेपाल शीर्ष चारभित्र पर्ने उनले जानकारी दिए।

महानिरीक्षक कार्कीले अबको अनुसन्धान केवल कसुर र कसुरदार पत्ता लगाउनमा मात्र सीमित नभई पीडितको शारीरिक, मानसिक र आर्थिक क्षतिको समेत अनुसन्धान गरिने बताए । नेपालीहरू वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा छरिएको अवस्थामा उनीहरूको सुरक्षा र कानुनी सहजीकरणको लागि भारतमा जस्तै खाडी मुलुक, युरोप, अमेरिका र मलेसियामा पनि प्रहरी सहचारीको आवश्यकता रहेको उनले बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप