मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ट्रान्सफर बजारको सबैभन्दा ठूलो चर्चा

भिनिसियस जुनियरको गन्तव्य म्याड्रिड कि लण्डन?

कीर्तिमानी मूल्यमा अनुबन्ध गर्ने आर्सनलको दाउ
मङ्गलबार, १२ साउन २०८३, १२ : ३०
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • रियल म्याड्रिडका ब्राजिली फरवार्ड भिनिसियस जुनियरको सम्भावित सरुवाप्रति आर्सनलसहित केही ठूला क्लबहरूको ध्यान आकृष्ट भएको छ।
  • रियल म्याड्रिडले भिनिसियससँग नयाँ सम्झौता गर्ने प्रयास गरिरहेको छ तर अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।
  • भिनिसियस अझै पनि सान्टियागो बर्नाबेउमै बस्न इच्छुक छन् तर क्लबबाट आफूलाई पर्याप्त सम्मान र माया गरिएको अनुभूति गर्न चाहन्छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । हालको खेलाडी स्थानान्तरण (ट्रान्सफर) बजारमा भिनिसियस जुनियरको भावी गन्तव्यभन्दा बढी चासोको विषय सायदै अर्को होला।

रियल म्याड्रिडका ब्राजिली फरवार्ड भिनिसियस विश्व फुटबलका सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन्। उनले सन् २०१८ मा १८ वर्षको उमेरमा रियल म्याड्रिडमा प्रवेश गरेका थिए। त्यसयता उनले यस स्पेनिस क्लबका लागि ३७५ खेलमा १२८ गोल गर्दै १४ वटा उपाधि जितिसकेका छन्।

यस्ता उत्कृष्ट खेलाडीलाई रियलले सम्झौताको अन्तिम वर्षसम्म पुग्न दिएको विषय धेरैका लागि आश्चर्यको कुरा बनेको छ। फुटबल उद्योगका स्रोतहरूका अनुसार, सामान्य अवस्थामा भिनिसियसको बजार मूल्य २० करोड पाउन्डभन्दा बढी हुने अनुमान छ।

मैदानभित्र उनी विश्वस्तरीय लेफ्ट विङ्गर मात्र होइनन्, आवश्यक पर्दा सेन्टर फरवार्डमा पनि उत्तिकै प्रभावकारी छन्। २६ वर्षको उमेरमा उनी आफ्नो खेल जीवनको उत्कृष्ट चरणमा पुगेको मानिन्छ।

मैदानबाहिर पनि उनी विश्वव्यापी पहिचान भएका स्टार हुन्। त्यसैले उनको व्यावसायिक मूल्य कुनै पनि क्लबका लागि ठूलो आर्थिक फाइदाको स्रोत बन्न सक्छ।

  • आर्सनलको चासो

रियल म्याड्रिडले भिनिसियससँग नयाँ सम्झौता गर्ने प्रयास गरिरहेको छ। सोमबार थप वार्ता भए पनि अहिलेसम्म कुनै सहमति भने हुन सकेको छैन।

यसले गर्दा उनको सम्भावित सरुवाप्रति आर्सनलसहित केही ठूला क्लबहरूको ध्यान आकृष्ट भएको छ। साउदी अरेबियाका क्लबहरूले पनि उनको अवस्थालाई नजिकबाट नियालिरहेका छन्।

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा प्रमाणित भइसकेका प्रतिभालाई टोलीमा भित्र्याउन चाहन्छन् र भिनिसियस त्यसका लागि सबैभन्दा उपयुक्त विकल्प मानिन्छन्।

क्लबनिकट स्रोतहरूका अनुसार, लेफ्ट विङ्गरको खोजीमा रहेको आर्सनलका लागि भिनिसियस धेरै विकल्पमध्ये एक हुन्। मोर्गन रोजर्सलाई चेल्सीले अनुबन्ध गरेपछि आर्सनलले नयाँ विकल्पहरू खोजिरहेको छ।

तर, बीबीसी स्पोर्टका अनुसार आर्टेटा भिनिसियसलाई अनुबन्ध गर्न यति लालायित छन् कि क्लबभित्र उनलाई पहिलो प्राथमिकतामा राखिएको छ। यद्यपि, आर्सनल स्वयं पनि यो स्थानान्तरण निकै कठिन हुने स्वीकार गर्छ। अधिकांश दक्षिण अमेरिकी खेलाडीका लागि रियल म्याड्रिड वा बार्सिलोनाबाट खेल्नु जीवनभरको सपना हुन्छ। त्यसैले, रियल छोडेर आर्सनल जानु धेरैको दृष्टिमा ठूलो उपलब्धि नभई सामान्य प्रक्रिया मात्र हुन सक्छ।

यसबाहेक, विश्वकै सबैभन्दा ठूलो क्लबमध्ये एक रियल म्याड्रिड छोड्दा खेलाडीको व्यावसायिक छविमा पनि असर पर्न सक्ने आँकलन गरिएको छ।

  • नयाँ सम्झौताप्रति भिनिसियस सकारात्मक

आगामी केही दिनमा रियल म्याड्रिड र भिनिसियसबीच नयाँ सम्झौताका लागि वार्ता तीव्र हुने अपेक्षा गरिएको छ।

स्रोतहरूका अनुसार भिनिसियस अझै पनि सान्टियागो बर्नाबेउमै बस्न इच्छुक छन्, तर उनी ‘क्लबबाट आफूलाई पर्याप्त सम्मान र माया गरिएको अनुभूति गर्न’ चाहन्छन्।

हालै नियुक्त भएका प्रशिक्षक जोसे मोरिन्होले पनि क्लबका सबै प्रमुख खेलाडीलाई टोलीमै राख्न चाहेको बताइएको छ।

तर, यदि रियलले नयाँ सम्झौता नगरी भिनिसियसलाई क्लबमा राखिरह्यो भने ठूलो जोखिम मोल्नुपर्ने हुन सक्छ। सन् २०२७ मा उनी निःशुल्क रूपमा (फ्रि ट्रान्सफरमा) क्लबबाट बाहिरिए भने त्यो रियलका लागि ठूलो आर्थिक क्षति हुनेछ।

यही कारण ट्रान्सफर विन्डो बन्द हुनुअघि नै यो विषयलाई निष्कर्षमा पुर्‍याउनु क्लबको प्रमुख प्राथमिकता बनेको छ।

हालको अवस्थामा भिनिसियसले नयाँ वर्ष लागेपछि अन्य क्लबहरूसँग निःशुल्क स्थानान्तरणका विषयमा पूर्व-सम्झौताको छलफल गर्न पाउनेछन्। यस्तो अवस्थामा नयाँ क्लबले ट्रान्सफर शुल्क तिर्नु नपर्ने भएकाले खेलाडी आफैँले अझ धेरै तलब दाबी गर्न सक्छन्।

  • रियलले कति मूल्य माग्न सक्छ?

रियल म्याड्रिडले सन् २०१९ मा एडेन हाजार्डलाई चेल्सीबाट अनुबन्ध गर्दा अधिकतम १३ करोड पाउन्ड खर्च गरेको थियो। त्यसबेला हाजार्ड २८ वर्षका थिए र चेल्सीसँग उनको सम्झौताको अन्तिम वर्ष चलिरहेको थियो।

भिनिसियस भने त्यसबेलाका हाजार्डभन्दा दुई वर्ष कान्छा (२६ वर्ष) छन् र उनको व्यावसायिक मूल्य पनि अझ धेरै छ। त्यसमाथि बितेका सात वर्षको मुद्रास्फीतिको प्रभाव पनि जोडिन्छ।

यसकारण उनलाई अनुबन्ध गर्न चाहने क्लबले गत वर्ष अलेक्जेन्डर इसाक न्युक्यासलबाट लिभरपुल जाँदा बनेको १२ करोड ५० लाख पाउन्डको बेलायती ट्रान्सफर कीर्तिमान तोड्नुपर्ने लगभग निश्चित छ।

यसका साथै भिनिसियसको तलब पनि अर्को ठूलो चुनौती हो। विभिन्न रिपोर्टअनुसार उनले रियलमा साताको करिब ४ लाख ५० हजार पाउन्ड बुझ्छन्, तर केही स्रोतका अनुसार वास्तविक रकम त्योभन्दा पनि बढी छ।

यदि उनी आर्सनल पुगे भने तत्कालै क्लबमा सबैभन्दा धेरै तलब पाउने खेलाडी बन्नेछन्। हाल आर्सनलमा बुकायो साका साताको अधिकतम ४ लाख पाउन्ड पारिश्रमिक पाउने खेलाडी हुन्।

  • के भिनिसियस रियल छोड्न तयार छन्?

यदि भिनिसियसले अर्को वर्ष निःशुल्क स्थानान्तरण रोजे भने, उनले अहिलेको तुलनामा दोब्बरसम्म तलब पाउन सक्ने सम्भावना रहन्छ।

त्यसैले, यदि उनले यसै समर विन्डोमा ‍क्लब छोड्ने निर्णय गरे भने उल्लेखनीय तलब वृद्धि माग्ने लगभग निश्चित मानिएको छ। कम्तीमा १३ करोड पाउन्डभन्दा बढीको ट्रान्सफर शुल्क र त्यसमाथि ठूलो पारिश्रमिकको व्यवस्था गर्नु कडा वित्तीय नियमहरू लागू भएको वर्तमान फुटबल बजारमा कुनै पनि क्लबका लागि चुनौतीपूर्ण हुनेछ।

यद्यपि, आर्सनलले आवश्यक आर्थिक विश्लेषण गरिसकेको र यस्तो स्थानान्तरण सम्भव बनाउने वित्तीय क्षमता आफूहरूसँग रहेको विश्वास गरेको बताइएको छ। क्लबभित्र पनि यो अनुबन्धको पक्षमा व्यापक समर्थन रहेको बुझिएको छ।

यसअघि आर्सनलले केही खेलाडीलाई आकर्षक 'इमेज राइट्स' सम्झौता दिएको अनुभव भएकाले भिनिसियसलाई प्रिमियर लिगमा ल्याउने प्रयासमा त्यो पनि महत्वपूर्ण पक्ष बन्न सक्छ।

रोचक कुरा के छ भने, भिनिसियसको प्रतिनिधित्व गर्ने ‘रक नेसन’ एजेन्सीले आर्सनलका ब्राजिली विङ्गर गाब्रियल मार्टिनेलीको पनि प्रतिनिधित्व गर्छ। भिनिसियस आएमा मार्टिनेलीको नियमित खेल्ने अवसर सीमित हुन सक्छ।

यद्यपि, दुई वर्षको सम्झौता बाँकी रहेका मार्टिनेली आर्सनलमै खुसी रहेको र आफूलाई उपयुक्त अवसर आएमा मात्र क्लब छोड्ने सोचमा रहेको बताइएको छ।

समग्रमा हेर्दा, अन्तिम निर्णय गर्ने सबैभन्दा ठूलो अधिकार अहिले भिनिसियसकै हातमा छ।

आर्सनल अहिले युरोपकै सबैभन्दा आकर्षक गन्तव्यमध्ये एक मानिन्छ। गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएको यो टोली आगामी सिजन उपाधिको प्रमुख दाबेदारमध्ये एक हो। आर्थिक रूपमा पनि क्लब निकै सबल अवस्थामा छ।

तर, उत्तर लण्डन जानु भनेको भिनिसियसले आफूसँग भएको बलियो 'बार्गेनिङ' शक्ति त्याग्नु मात्र होइन, सबैभन्दा महत्वपूर्ण कुरा, रियल म्याड्रिडको खेलाडी हुनुको गौरवपूर्ण पहिचान पनि छोड्नु हुनेछ।

अब सबैको चासो एउटै प्रश्नमा केन्द्रित छ– के भिनिसियस जुनियर वास्तवमै रियल म्याड्रिड छोड्न तयार छन्? यसको जवाफ सम्भवतः छिट्टै आउनेछ।

बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप