मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सुरुङमार्ग उद्घाटनप्रति व्यवसायी खुसी, तोकिएको शुल्कबारे पुनर्विचार गर्न माग

मङ्गलबार, १२ साउन २०८३, ११ : ५३
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन भएको छ, जसले नेपाली जनताको आधुनिक सुरुङमार्गमा सवारी गुडाउने सपनालाई साकार पारेको छ।
  • यातायात व्यवसायीहरूले सुरुङमार्गको उद्घाटनमा खुसी व्यक्त गर्दै यसले समय बचत गर्ने र दुर्घटनाको जोखिम घटाउने विश्वास व्यक्त गरेका छन्।
  • व्यवसायीहरूले सार्वजनिक तथा मालवाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्कमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्।

काठमाडौँ । नेपालको यातायात पूर्वाधारको इतिहासमा एक महत्वपूर्ण कोशेढुङ्गा पार गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। 

‘अपरेसनल’ तथा ‘मेन्टिनेन्स’ परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सोमबार आयोजित एक समारोहका बिच यस सुरुङमार्गको उद्घाटन भएको छ। यससँगै नेपाली जनताको आधुनिक सुरुङमार्गमा सवारी गुडाउने दशकौँ पुरानो सपनाले मूर्त रूप पाएको छ। 

नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको सञ्चालनले मुलुकलाई विधिवत रूपमा सुरुङ मार्गको युगमा प्रवेश गराएको छ। यातायात व्यवसायी तथा पूर्वाधार विज्ञहरूले यसलाई नेपाली सडक यातायात क्षेत्रको ठूलो उपलब्धिका रूपमा चित्रण गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नागढुङ्गा सुरुङमार्गको उद्घाटनप्रति खुसी व्यक्त गर्दै सरकारले देशभरका अन्य निर्माणाधीन सुरुङमार्गलाई पनि ‘फास्ट ट्र्याक’मा अघि बढाउनुपर्ने बताए। उनले यस आयोजनाले समयको बचत गर्नुका साथै नागढुङ्गाको कठिन सडक खण्डमा हुने सम्भावित दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे।

यद्यपि सुरुङमार्ग प्रयोग गरेबापत सार्वजनिक तथा मालवाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्कप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्। उनले सुरुङमार्ग प्रयोग गर्ने सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्क पुनर्विचार गर्न सरकारलाई आग्रह गरे। 

सुरुङमार्ग प्रयोग गर्ने सवारीका लागि तोकिएको शुल्क धेरै बढी भएको गुनासो आएको बताउँदै उनले सुरुङमार्ग सञ्चालन खर्च र सार्वजनिक यातायात व्यवसाय दुवैलाई असर नपर्ने गरी शुल्क निर्धारण गर्न आग्रह गरे।

उनले भने, ‘नागढुङ्गा सुरुङमार्गको उद्घाटन भएकोमा हामी खुसी छौँ। सरकारले यससँगै देशभरका अन्य निर्माणाधीन सुरुङमार्गहरूको निर्माण पनि फास्ट ट्र्याकमा गर्नुपर्छ।’ साथै उनले थपे, ‘सुरुङमार्गमा चल्ने सार्वजनिक यात्रुवाहक र मालवाहक सवारी साधनले तिर्नुपर्ने शुल्कबारे पुनर्विचार गर्न आग्रह गर्दछु।’ उनले सुरुङमार्ग सञ्चालन र सार्वजनिक यातायातलाई असर नपर्ने गरी आर्थिक व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्ग हाल केही दिनका लागि परीक्षण (ट्रायल) को चरणमा रहनेछ। उनले सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि खुला नभएसम्म कुनै पनि शुल्क नलिइने स्पष्ट पारे। सुरुङमार्गको अन्तिम चरणको प्राविधिक परीक्षण (मक ड्रिल) बाँकी रहेको भन्दै केही दिनमै सबै प्रकारका सवारीका लागि सुरुङमार्ग सञ्चालन गरिने उनले बताए। उनले सुरुङमार्गको आयु एक सय वर्ष रहेको जानकारी दिए।

महानिर्देशक जैसीले भने, ‘यो सुरुङमार्गको एक सय वर्षको डिजाइन लाइफ हुन्छ। यसलाई राम्रोसँग चलाउन सकियो भने यो डिजाइन लाइफसम्म टिक्छ।’ उनले अगाडि भने, ‘हामीले अलिकति मक ड्रिल गर्नुपर्नेछ। त्यसपछि छिट्टै नै सुरुङमार्ग पूर्ण रूपबाट सञ्चालनमा आउँछ। पूर्ण रूपबाट सञ्चालन नभएसम्म हामी शुल्क लिँदैनौँ।’

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालको भौगोलिक जटिलताका कारण सुरक्षित र छिटो यात्राका लागि सुरुङमार्ग अपरिहार्य रहेको बताए। उनका अनुसार चालू आर्थिक वर्षभित्रै निर्माणाधीन ९ सय मिटर लामो सिद्धबाबा सुरुङमार्ग पनि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। 

सुरुङमार्ग सञ्चालनको लागत र शुल्कबारे स्पष्ट पार्दै सचिव सिग्देलले सुरुङभित्र सुरक्षा, निगरानी र वायुको गुणस्तर कायम राख्न २४ सै घण्टा प्राविधिक जनशक्तिको उपस्थिति आवश्यक पर्ने भएकाले यसको सञ्चालन खर्च तुलनात्मक रूपमा बढी हुने बताए। भविष्यमा धेरै सुरुङमार्गहरू सञ्चालनमा आएपछि एउटै एकीकृत व्यवस्थापन प्रणालीमार्फत लागत घटाउन सकिने उनको भनाइ छ। हाल काठमाडौँ–तराई फास्ट ट्रयाकलगायत अन्य ६ वटा सुरुङमार्गको निर्माण कार्य पनि द्रुत गतिमा अघि बढिरहेको उनले जानकारी दिए।

सचिव सिग्देलले भने, ‘यो सुरुङमार्गको उद्घाटन गरेसँगै हामी सुरुङमार्गको युगमा प्रवेश गरेका छौँ। निर्माणको क्रममा रहेको ९ सय मिटरको सिद्धबाबा सुरुङमार्ग हामी यही आर्थिक वर्षभित्र सञ्चालन गर्छौँ।’ 

उनले थपे, ‘हाम्रो जस्तो भौगोलिक अवस्था भएको देशमा सुरुङ अपरिहार्य छ। समयको बचत र सवारी दुर्घटना घटाउने कुरामा सुरुङमार्ग अत्यन्तै आवश्यक छ।’ उनले २४ सै घण्टा मानवीय उपस्थिति हुनुपर्ने कारणले सञ्चालन खर्च अलि महँगो पर्ने र भविष्यमा धेरै सुरुङहरू बनेपछि एउटै व्यवस्थापनले लागत घट्ने बताए।

सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ। यस्तै, बस तथा ट्रकले काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ बराबरको शुल्क तिर्नुपर्नेछ। सुरुङमार्गभित्र सुरक्षाका कारण मोटरसाइकल, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीसाधन र पैदलयात्रीलाई प्रवेश निषेध गरिएको छ। साथै प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारीसाधनले पनि यस मार्गको प्रयोग गर्न पाउने छैनन्।

वि.सं. २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास गरिएको यस आयोजनाको सुरुवाती लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। यद्यपि निर्माणका क्रममा आइपरेका भूगर्भीय समस्या, डिजाइनमा गरिएका परिमार्जन र अन्य प्राविधिक कारणले गर्दा यसको कुल लागत २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। खर्चको हिसाबले चुनौतीपूर्ण देखिए पनि यस सुरुङमार्गले नेपालको आधुनिक पूर्वाधार विकासमा एक नयाँ मानक स्थापना गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप