मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘गाडी विलासिता होइन आवश्यकता हो, डाउनपेमेन्ट २० प्रतिशतमा झार्नुपर्छ’

मङ्गलबार, १२ साउन २०८३, १३ : ००
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को संयोजक गौरव शारडाले एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको र ५५ भन्दा बढी ब्रान्डका ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक हुने बताएका छन् ।
  • उनले यसपटकको एक्स्पोलाई अपाङ्गता मैत्री, पार्किङको सहज व्यवस्थापन र यातायातका लागि पठाओसँगको सहकार्यमा अझ प्रभावकारी बनाइएको जानकारी दिए ।
  • शारडाले व्यक्तिगत सवारी साधनलाई विलासिता नभई आवश्यकता भन्दै लोन टु भ्यालु रेसियो ४० प्रतिशतबाट २० प्रतिशतमा झार्नुपर्ने र कर प्रणालीमा स्थिरता ल्याउनुपर्ने माग गरेका छन् ।

काठमाडौँ । नाइमा (नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन) द्वारा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को सन्दर्भमा एक्स्पोका संयोजक एवं अटोमोबाइल व्यवसायी गौरव शारडासँग रातोपाटीका लागि अनिश मिजारले कुराकानी गरेका छन् ।

  • आगामी साउन २६ देखि ३१ गतेसम्म नाइमाले नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्दैछ । तपाईँ यस एक्स्पोको संयोजक पनि हुनुहुन्छ, तयारी कहाँ पुग्यो ?

– अहिले हामी एक्स्पोको अन्तिम तयारीको चरणमा छौँ । भन्नुपर्दा हाम्रो प्लानिङ फेजका सबै कामहरू सकिइसकेका छन् । कुन–कुन एक्जिविटरहरू आउने, स्पोन्सर को–को हुने, कुन कम्पनीलाई कस्तो ठाउँ दिने भन्ने जस्ता प्राविधिक कुराहरू सबै टुङ्गो लागिसकेको छ ।

अब मात्र एक्जिक्युसन अर्थात् कार्यान्वयनको पाटो बाँकी छ । हाम्रो तर्फबाट तयारी पूर्ण भइसकेको छ, अब तोकिएको मितिमा भव्य रूपमा एक्स्पो सुरु हुन मात्र बाँकी हो ।

  • यसपटकको नाइमा मोबिलिटी एक्स्पोमा कति कम्पनीहरू सहभागी छन् र दर्शकहरूले के–के नयाँ कुराहरू हेर्न पाउनेछन् ?

–यसपटक एक्स्पो निकै विशेष र बृहत् छ । हामीसँग ५५ भन्दा बढी ब्रान्डहरू सहभागी हुँदैछन् । अझ महत्वपूर्ण कुरा यस एक्स्पोको दौरान ४० वटा भन्दा बढी नयाँ उत्पादनहरू सार्वजनिक हुनेछन् ।

विधागत रूपमा हेर्ने हो भने यसमा टु–ह्विलर (दुई पाङ्ग्रे), फोर–ह्विलर (चार पाङ्ग्रे) र कमर्सियल भेइकल्स व्यावसायिक सवारी साधनहरू रहनेछन् । प्रविधिका हिसाबले पनि हामीले विविधता दिएका छौँ ।

एक्स्पोमा आईसीई– पेट्रोल र डिजेल इन्जिन, हाइब्रिड र ईभीहरूको प्रदर्शनी हुनेछ । ग्राहकले बजारमा उपलब्ध हरेक प्रविधिका सवारी साधनहरू एउटै छानामुनि हेर्न र तुलना गर्न पाउनुहुनेछ ।

  • नाइमाले यो दोस्रो संस्करणको एक्स्पो आयोजना गर्दैछ । गत वर्षको अनुभव र यस पटकको तयारीमा के फरक छ ? अवलोकनकर्ताले के नयाँ अपेक्षा गर्न सक्छन् ?

– गत वर्षको पहिलो संस्करण निकै सफल रह्यो, तर त्यसबाट हामीले धेरै कुराहरू सिक्यौँ पनि । अवलोकनकर्ता र हाम्रा सहभागी व्यवसायीहरूले दिएका सुझावहरूलाई हामीले यस पटक मनन गरेका छौँ ।

साउनको समयमा मनसुन सक्रिय हुने भएकाले एउटा हलबाट अर्को हलमा जाँदा पानीले समस्या नपार्ने गरी हामीले व्यवस्थापन गरेका छौँ ।

हामीले यसलाई अपाङ्गता मैत्री बनाएका छौँ । गत वर्ष पनि यो सुविधा थियो, तर यस पटक हामीले यसलाई अझ प्रभावकारी बनाएका छौँ । तेस्रो मुख्य समस्या भनेको पार्किङको थियो ।

भृकुटीमण्डपको पार्किङ मात्र पर्याप्त नहुने भएकाले हामीले नेपाल पुलिस क्लब र ब्लु प्याभिलियनको पार्किङलाई पनि ६ दिनसम्म प्रयोग गर्ने व्यवस्था मिलाएका छौँ । साथै, यातायातको सहजताका लागि हामीले पठाओसँग राइड सेयरिङ पार्टनरका रूपमा सम्झौता गरेका छौँ ।

जसले गर्दा एक्स्पोमा आउने र जाने ग्राहकहरूलाई केही छुट र सहजता मिल्नेछ । बैंकिङ र फाइनान्सिङको कुरा गर्दा, हाम्रा बैंकिङ पार्टनरहरूले सजिलो प्रक्रिया र आकर्षक सुविधाहरू लिएर आउँदै हुनुहुन्छ । व्यवसायीहरूले पनि आफ्ना उत्पादनमा विशेष स्किमहरू राख्नुभएको छ ।

  • अटोमोबाइल क्षेत्रमा लामो समयदेखि नाडा अटो शो पनि हुँदै आएको छ । पछिल्लो दुई वर्षदेखि दुई वटा अटो शो हुन थालेका छन् । नाइमाले छुट्टै मोबिलिटी एक्स्पो गर्नुको औचित्य के हो ?

– यो प्रश्न धेरैले सोध्नुहुन्छ । नाइमाले मोबिलिटी एक्स्पो गर्नुको मुख्य कारण हाम्रा सदस्यहरूको चाहना र सुझाव नै हो । व्यवसायीहरूले अलि फरक, अलि आधुनिक र अन्तर्राष्ट्रिय स्तरको एक्स्पोको माग गरिरहनुभएको थियो ।

प्रदर्शनीमा स्टलहरूको साइज, गुणस्तर र आउने अवलोकनकर्ताको अनुभवलाई कसरी सुधार्ने भन्ने हाम्रो प्राथमिकता हो । हामीले अटोमोबाइललाई एउटा साधनको रूपमा मात्र नभई मोबिलिटीको व्यापक अर्थमा बुझ्न र बुझाउन खोजिरहेका छौँ । त्यसैले नाइमाले आफ्ना सदस्यहरूको व्यापार प्रवद्र्धन र ग्राहकको सन्तुष्टिका लागि यो छुट्टै प्लेटफर्म तयार पारेको हो ।

  • एक्स्पोमा गाडीको प्रदर्शनी मात्र नभएर केही लर्निङ सेसनहरू पनि राखिएको छ भन्नुभयो, त्यसको बारेमा केही बताइदिनुस् ?

–हाम्रो एक्स्पोको एउटा निकै महत्त्वपूर्ण पाटो हो । हामीले ६ दिनसम्म नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनमा लर्निङ सेसनहरू आयोजना गर्दैछौँ । यसमा सडक सुरक्षा, नयाँ प्रविधिहरू, ईभी ब्याट्रीको पुनः प्रयोग र त्यसको व्यवस्थापन जस्ता विषयहरूमा छलफल हुनेछ ।

विशेष गरी अहिले चर्चामा रहेको इथानोल ब्लेन्डिङबारे पनि हामी कुरा गर्नेछौँ । यसका लागि हामीले स्थानीय विज्ञहरूका साथै अन्तर्राष्ट्रिय विज्ञहरूलाई पनि आमन्त्रण गरेका छौँ । उहाँहरूले आफ्नो अनुभव र अन्तर्राष्ट्रिय अभ्यासहरू सुनाउनुहुनेछ, जसले गर्दा हाम्रो अटोमोबाइल क्षेत्रलाई आधुनिक बनाउन मद्दत पुग्नेछ । यो व्यापार गर्ने थलो मात्र नभई सिकाउने र सिक्ने थलो पनि हुनेछ ।

  • नेपालको अटोमोबाइल बजार अहिले कुन अवस्थामा छ ? विगत केही वर्षदेखि गाडीको बिक्री स्थिर भएको जस्तो देखिन्छ नि ?

– नेपालको अटोमोबाइल क्षेत्र अहिले स्ट्याग्नेसन अर्थात् स्थिर अवस्थामा छ । चार पाङ्ग्रे सवारीको कुरा गर्ने हो भने विगत चार वर्षदेखि वार्षिक करिब १३ हजार गाडी मात्र आयात भइरहेका छन् । यो भनेको धेरै सानो संख्या हो किनभने बजारमा धेरै कम्पनीहरू छन् ।

त्यस्तै, दुई पाङ्ग्रेमा पनि वार्षिक ३ लाखको हाराहारीमा बिक्री छ । हामी एउटा युवा देश हौँ, जहाँ धेरै मानिसहरूको चाहना गाडी वा बाइक चढ्ने हुन्छ । तर बजार नबढ्नु चिन्ताको विषय हो । यसले देशको अर्थतन्त्रको गतिलाई पनि देखाउँछ ।

  • बजार नबढ्नुमा नीतिगत समस्याहरू के–के देख्नुहुन्छ ? सरकार र राष्ट्र बैंकसँग यहाँहरूको अपेक्षा के छ ?

–मुख्य कुरा भनेको लोन टु भ्यालु रेसियो नै हो । अहिले व्यक्तिगत सवारी साधनका लागि ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने नियम छ । हामीले भन्दै आएका छौँ कि यसलाई २० प्रतिशतमा झारिदिनुस् ।

गाडी विलासिता मात्र होइन । यो आवश्यकता पनि हो । यदि डाउनपेमेन्ट कम भयो भने धेरै मानिसहरूको पहुँचमा सवारी साधन पुग्छ । राष्ट्र बैंकका गभर्नरले हालै केही ठूला बसहरूको हकमा केही खुकुलो गर्नुभएको छ । तर हामी चाहन्छौँ कि यो समग्र मोबिलिटी सेक्टरमा लागू होस् ।

कर प्रणालीमा स्थिरता हुनुपर्छ । विशेष गरी ईभीको हकमा करको दरहरू पटक–पटक परिवर्तन भइरहँदा व्यवसायी र ग्राहक दुवै अन्योलमा पर्छन् । सरकारले अलि व्यावहारिक र दीर्घकालीन कर नीति ल्याउनुपर्छ ।

नेपालमा इन्ट्री लेभलका बाइक र गाडीहरूलाई पनि विलासिताको वस्तु सरह कर लगाइन्छ, जुन जायज छैन । सामान्य मध्यमवर्गीय नेपालीले पनि गाडी चढ्न सक्ने वातावरण बनाउन कर घटाउनु जरुरी छ ।

  • नेपालमा नै गाडी एसेम्बल गर्ने वा उत्पादन गर्ने कुराहरू धेरै सुनिन्छन् । यसको सम्भावना र चुनौती कस्तो छ ?

– नेपालमा गाडी एसेम्बल गर्ने भावना निकै राम्रो हो र यो हुनुपर्छ । तर यसको आर्थिक पक्षलाई पनि हेर्नुपर्छ । नेपालमा वर्षको १३ हजार गाडी मात्र बिक्री हुन्छ, जुन निकै कम हो । एउटा ब्रान्डको एउटा मोडल वर्षमा ५–६ सय वटा मात्र बिक्री हुन्छ भने त्यसका लागि ठूलो प्लान्ट लगाउन सम्भव हुँदैन । एसेम्बल प्लान्टका लागि चाहिने डाइ र अन्य मेसिनरीहरू निकै महँगा हुन्छन् ।

हामीले वर्षको ४० देखि ५० हजार गाडी बिक्री गर्न सक्यौँ र एउटै मोडल ४–५ हजार बिक्री हुने अवस्था आयो भने मात्र एसेम्बल गर्ने कुरा आर्थिक रूपमा सफल हुन्छ ।

सरकारले २० प्रतिशत भ्यालु एडिसनको कुरा गरेको छ, तर त्यसका लागि चाहिने ब्याट्री, टायर वा प्लास्टिकका सामग्रीहरू नेपालमै उत्पादन हुनुपर्छ, जुन अहिले छैन । त्यसैले, अहिलेको अवस्थामा कस्ट अफ डुइङ बिजनेस निकै बढी छ ।

  • ईभीको प्रयोग नेपालमा निकै बढिरहेको छ । तर यसका लागि आवश्यक पूर्वाधार, जस्तै चार्जिङ स्टेसनहरूको अवस्था कस्तो छ ?

– ईभीको हकमा नेपालले ठूलो फड्को मारेको छ । करिब ७५ प्रतिशत नयाँ गाडीहरू इलेक्ट्रिक नै बिक्री भइरहेका छन् । चार्जिङ स्टेसनको कुरा गर्दा, निजी क्षेत्रले यसमा ठूलो लगानी गरेको छ । पहिले हाइवेमा जाँदा डर हुन्थ्यो ।

तर अहिले धेरै ठाउँमा चार्जिङ स्टेसनहरू बनिसकेका छन् । होटल, रेस्टुरेन्ट र कफी शप सञ्चालकहरूले पनि ग्राहक तान्न चार्जिङ सुविधा दिइरहनुभएको छ । जहाँ माग हुन्छ, त्यहाँ पूर्वाधार आफैँ बन्दै जान्छ ।

तर पनि, चाडबाडको समयमा जब हजारौँ गाडीहरू काठमाडौँ बाहिर जान्छन् । तब पूर्वाधार कम हुन सक्छ । त्यसैले पूर्वाधारको विकासमा निरन्तर काम भइरहनुपर्छ ।

  • सडक पूर्वाधारको अवस्थालाई यहाँले कसरी हेर्नुभएको छ ?

– सडक पूर्वाधारमा हामी धेरै पछाडि छौँ । काठमाडौँबाट पोखरा २०० किलोमिटर छ । जुन २ घण्टामा पुगिने बाटो हुनुपर्ने हो । तर अहिले अवस्था त्यस्तो छैन । सडकको अवस्थाले गाडीको आयु मात्र घटाउँदैन । यसले व्यापारको लागत पनि बढाउँछ । यदि सडक राम्रो भयो भने इन्फ्लेसन (मुद्रास्फीति) पनि घट्छ किनभने ढुवानी खर्च कम हुन्छ ।

सरकारले सडक निर्माणमा मात्र होइन, रोड सेफ्टी र चालकहरूको शिक्षामा पनि लगानी गर्नुपर्छ । सडक पूर्वाधार राम्रो हुनु भनेको समग्र देशको आर्थिक विकास हुनु हो ।

  • सार्वजनिक यातायातको सुधारका बारेमा नाइमाको के धारणा छ ?

– व्यक्तिगत सवारी साधन मात्र सबै कुरा होइन । सार्वजनिक यातायातलाई पनि हामीले मोबिलिटीको अभिन्न अङ्ग मान्नुपर्छ । हाम्रो देशमा सार्वजनिक यातायातको अवस्था निकै दयनीय छ । राती ८ बजेपछि सार्वजनिक गाडी पाइँदैन । रुटहरू व्यवस्थित छैनन् ।

हामीले गुणस्तरीय र भरपर्दो सार्वजनिक यातायात बनाउन सक्यौँ भने निजी गाडीको चाप पनि सडकमा कम हुन्छ । नाइमाले सार्वजनिक यातायातका क्षेत्रमा काम गर्ने व्यवसायीहरूलाई पनि यस एक्स्पो मार्फत समेट्न खोजेको छ ।

  • नेपाली ग्राहकहरू कत्तिको सचेत छन् ? उनीहरू गाडी किन्नुअघि कत्तिको रिसर्च गर्छन् ?

– नेपाली ग्राहकहरू निकै स्मार्ट र जानकार हुनुहुन्छ । धेरैजसो ग्राहक शोरुम आउँदा नै गाडीको ब्याट्री, प्रविधि र मूल्यका बारेमा धेरै रिसर्च गरेर आउनुहुन्छ । उहाँहरूलाई अन्तर्राष्ट्रिय बजारमा के भइरहेको छ भन्ने कुराको पनि राम्रो जानकारी हुन्छ ।

हामी व्यवसायीहरूलाई पनि सजिलो र चुनौतीपूर्ण दुवै बनाएको छ । ग्राहक जानकार हुँदा हामीले धेरै कुरा सम्झाइरहनु पर्दैन, तर उहाँहरूका प्रश्नहरूको उत्तर दिन हामी पनि उत्तिकै अपडेट हुनुपर्छ ।

  • अहिलेको एक्स्पोबाट यहाँहरूले के अपेक्षा गर्नुभएको छ ? कति व्यापार होला वा कति दर्शक आउलान् भन्ने केही लक्ष्य छ ?

– हामीले कुनै विशेष व्यापारिक लक्ष्य वा दर्शक संख्याको टार्गेट राखेका छैनौँ । हाम्रो मुख्य उद्देश्य भनेको अटोमोबाइल व्यवसायी र ग्राहकबिच एउटा सुमधुर सम्बन्ध कायम गर्नु हो ।

ग्राहकहरूले एउटै ठाउँमा सबै विकल्पहरू हेर्न पाऊन् र उहाँहरूले एउटा राम्रो अनुभव बटुल्नुहोस् भन्ने हाम्रो चाहना हो । साथै, हाम्रा लर्निङ सेसनहरूबाट मानिसहरूले नयाँ प्रविधिका बारेमा जानकारी पाउनेछन् ।

यो एक्स्पो केवल गाडी बेच्ने थलो मात्र होइन, यो नेपालको मोबिलिटी क्षेत्रको भविष्य कस्तो हुनेछ भनेर देखाउने एउटा ऐना पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप