मोबाइल र सामाजिक सञ्जालले मानव तस्करलाई सहज बनायो : हरिवंश आचार्य
सारांश
- वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन भएको र यसका विरुद्ध जनचेतना जगाउनुपर्नेमा जोड दिएका छन्।
- उनले मोबाइल र सामाजिक सञ्जालको दुरुपयोगले मानव तस्करहरूलाई सहज बनाएको र राजनीतिक अस्थिरता तथा बेरोजगारीले युवाहरूलाई प्रलोभनमा पार्ने गरेको बताए।
- आचार्यले नक्कली शरणार्थी प्रकरण जस्ता घटना राजनीतिक नेतृत्वको संलग्नतामा मान्छे बेचिनु अनैतिकताको पराकाष्ठा भएको टिप्पणी गर्दै नयाँ राजनीतिक संस्कारले मात्र समस्या समाधान हुने विश्वास व्यक्त गरे।
काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना जगाउनुपर्नेमा जोड दिएका छन्।
मंगलबार विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव बेचबिखनको स्वरूप बदलिएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना र राजनीतिक सुशासनको आवश्यकता रहेको बताएका हुन्।
आचार्यले विगत लामो समयदेखि आफूहरू कलाका माध्यमबाट मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय रहेको स्मरण गराए। उनले ‘रातु’, ‘छोरी’ र ‘टीकेको तीन मन्तर’ जस्ता टेलिचलचित्र तथा विभिन्न गीतमार्फत सचेतना फैलाउँदै आएको जानकारी दिँदै हालको परिस्थिति झन् चुनौतीपूर्ण बनेको बताए।
उनले प्रविधिको विकाससँगै मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगले मानव तस्करहरूलाई थप सहज बनाएको र सर्वसाधारणलाई प्रलोभनमा पार्न सजिलो भएको उल्लेख गरे। मुलुकको राजनीतिक अस्थिरता र बेरोजगारीका कारण युवाहरूमा विदेशिने मोह बढ्नु र त्यसैको फाइदा उठाउँदै तस्करहरूले सपना बाँड्नु दुःखद् भएको उनको ठम्याइ छ।
कलाकार आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरण जस्ता घटनालाई लक्षित गर्दै राजनीतिक नेतृत्वकै संलग्नतामा मान्छे बेचिनु अनैतिकताको पराकाष्ठा भएको टिप्पणी गरे। उनले नयाँ राजनीतिक संस्कार र सोचका साथ अघि बढे मात्र यस्ता समस्या समाधान हुने विश्वास व्यक्त गरे। आचार्यले भने, ‘हामीले पहिलेदेखि नै रात, छोरी, टीकेको तीन मन्तर लगायतका कार्यक्रममार्फत मानव बेचबिखनविरुद्ध सचेतना जगाउने काम गर्दै आएका छौँ।’
उनले अगाडि भने, ‘अहिले यो समस्या चेलीबेटी बेचबिखनमा मात्र सीमित छैन। युवा, बालबालिका र विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन गर्ने घटना बढ्दै गएका छन्। त्यसैले अब सचेतना अभियानलाई अझ वृहत् रूपमा अगाडि बढाउन आवश्यक छ।’
मोबाइल र सामाजिक सञ्जालले राम्रो कामसँगै विकृति पनि बढाएको उल्लेख गर्दै उनले नयाँ सोच, नयाँ राजनीतिक संस्कार र सबैको सचेत प्रयासबाट मात्र मानव बेचबिखनजस्ता अपराध न्यूनीकरण गर्न सकिने बताए।
आफ्नो सामाजिक उत्तरदायित्वबाट कहिल्यै पछि नहट्ने प्रतिबद्धता जनाउँदै आचार्यले अडियो–भिजुअल माध्यमबाट आगामी दिनमा पनि सचेतनाका कार्यक्रमहरूलाई निरन्तरता दिने बताए। केही नकारात्मक तत्त्वहरूले कलाकारका सामाजिक कार्यलाई लिएर अनर्गल प्रचार गर्ने गरेको प्रति दुःख व्यक्त गर्दै उनले साइबर अपराध नियन्त्रणमा नेपाल प्रहरीले थप प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
-
भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
-
सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ६ सय ५५ जनाले पाए निःशुल्क प्रसूति सेवा
-
गोपालमान श्रेष्ठको निष्ठा र समर्पण भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने : आङदेम्बे
-
ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवामा अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण