मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परीक्षाका क्रममा परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण ‘ब्लक’ गर्नुपर्छ

मङ्गलबार, १२ साउन २०८३, १२ : ४६
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • परीक्षा नियन्त्रण कार्यालयमा प्रश्नपत्र निर्माण प्रक्रिया लामो र सुरक्षित हुन्छ, जसमा अति गोप्य शाखामा विज्ञहरूको रोस्टरबाट छनोट भएका विषयगत विज्ञहरूले प्रश्नपत्र निर्माण गर्छन्।
  • प्रश्नपत्र निर्माणदेखि वितरणसम्म निकै गोप्य तरिकाले काम हुने भए पनि परीक्षा हलमा प्रश्नपत्र खोलिएपछि मात्रै अवाञ्छित कार्य भएर लिक हुने सम्भावना रहन्छ।
  • परीक्षा हलमा विद्यार्थी, निरीक्षक, परीक्षा शाखाका कर्मचारी, परीक्षा सञ्चालन समिति कसैको हातमा मोबाइल, क्यामेराजस्ता डिजिटल सामग्री लैजान रोक्नुपर्छ र परीक्षा हलमा प्रवेशअघि परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण रूपमा ब्लक गर्नुपर्छ।

कुनै पनि परीक्षा सञ्चालनका क्रममा प्रश्नपत्रको गोपनीयता कायम राख्नुपर्छ । प्रश्नपत्र लिक हुनु अशोभनीय विषय हो । यद्यपि यस्ता घटना बेला–बेला प्रकाशमा आइरहेका छन् ।

प्रश्नपत्र निर्माण प्रक्रिया लामो र सुरक्षित हुन्छ । परीक्षा नियन्त्रण कार्यालयमा अति गोप्य शाखा रहन्छ । प्रायः विश्वविद्यालयमा अति गोप्य शाखा र गोप्य शाखा हुने गर्छन् ।

अति गोप्य शाखामा प्रश्नपत्र निर्माणका काम हुन्छन् । सम्बन्धित विषयगत विज्ञहरूको रोस्टर तयार गरिन्छ । लामो अनुभव प्राप्त गरेका, सम्बन्धित विषयमा उपाधि प्राप्त व्यक्तिहरू विज्ञका रूपमा छनोट हुनुहुन्छ । त्यही रोस्टरबाट विषयगत विज्ञहरूलाई बोलाएर अति गोप्य शाखामै प्रश्न लिन्छौँ ।

प्रश्न बनाएर आएपछि खामभित्र हालेर प्रश्न सिलबन्दी गरिन्छ । विज्ञले हाम्रो कार्यालयमा आएर प्रश्नपत्र उपलब्ध गराउनुहुन्छ । बोर्डले प्रश्नपत्र गल्ती भए/नभएको, दोहोरिएको/नदोहोरिएको, पाठ्यक्रम अनुसार मिले/नमिलेको सबै प्रमाणीकरण गर्छ । त्यसपछि प्रश्नपत्रको खाम खोलिन्छ । सम्बन्धित विषयका विज्ञहरूले एउटा विषयको प्रश्नपत्रको तीनदेखि पाँच वटा सेट निर्माण गर्नुहुन्छ ।

सम्बन्धित विषयमा आएका प्रश्नपत्र सेटको सिलबन्दी खोल्ने अधिकार विषय समितिको अध्यक्ष र उहाँसँग आउने एक जना सदस्यले मोडेरेसन, स्क्रुटिङ गर्ने वा रिभ्यु गर्नुहुन्छ । परीक्षा नियन्त्रण कार्यालयको अति गोप्य शाखामा उपलब्ध भएका पाँच वटा सेट ‘र्‍यान्डम्ली’ निकालिन्छ । एउटा प्रश्नपत्रको सेट तानिन्छ । प्रश्नपत्र छाप्ने काम अति गोप्य शाखामै हुन्छ । सो शाखामा अनावश्यक मान्छेहरूलाई प्रवेशको अनुमति दिइँदैन । कार्यालयकै कर्मचारी समेत अनावश्यक रूपमा त्यहाँ जान पाउनुहुँदैन । सो शाखामा मोबाइल लैजान प्रतिबन्ध गरिएको हुन्छ ।

प्रश्नपत्र प्रिन्ट पश्चात गोप्य शाखामै सिलबन्दी गरिन्छ र परीक्षा केन्द्रमा पठाइन्छ । सुरक्षाको दृष्टिकोणले परीक्षा केन्द्र नजिक रहेका प्रहरी चौकीमा प्रश्नपत्र पठाइन्छ । केन्द्राध्यक्ष र प्रहरी प्रमुखको रोहबरमा प्रश्नपत्रहरू परीक्षा केन्द्रसम्म पुर्‍याइन्छ । त्यसपछि प्रहरी प्रमुख वा प्रमुखले तोकेको व्यक्ति, केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्षको रोहबरमा मुचुल्का उठाइ प्रश्नपत्र खोल्ने काम हुन्छ ।

पछिल्लो समय केन्द्रमा प्रश्नपत्र वितरण भएपछि केन्द्रमा खटिएका गार्डहरूले आफ्नो मोबाइलबाट लुकेर, छलेर सुपरीवेक्षक र विद्यार्थीको समन्वयमा ह्वाट्सएपबाट पठाएको हो कि भन्ने देखिन्छ । त्यो त छानबिन समितिले देखाउला ।

परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि मात्रै प्रश्नपत्र खोल्ने काम गरिन्छ । तर, उक्त प्रश्नहरू परीक्षा हलमा बस्ने निरीक्षकको हातमा पाँच मिनेटमात्रै अगाडि पुग्छ र परीक्षाको समय वा घण्टी बजेपछि मात्रै विद्यार्थीले प्रश्नपत्र पाउँछन् । यसले गर्दा यहाँसम्म प्रश्नको गोपनीयतामाथि प्रश्न उठाउने ठाउँ हुँदैन ।

प्रश्नपत्र निर्माणदेखि वितरणसम्म निकै गोप्य तरिकाले काम हुन्छन् । प्रश्नपत्र खोलिएपछि मात्रै अवाञ्छित कार्य भएर लिक हुने सम्भावना रहन्छ । यसलाई रोक्न परीक्षा हलमा विद्यार्थी, निरीक्षक, परीक्षा शाखाका कर्मचारी, परीक्षा सञ्चालन समिति कसैको हातमा मोबाइल, क्यामेराजस्ता डिजिटल सामग्री लैजान रोक्नुपर्छ ।

पछिल्लो समय केन्द्रमा प्रश्नपत्र वितरण भएपछि केन्द्रमा खटिएका गार्डहरूले आफ्नो मोबाइलबाट लुकेर, छलेर सुपरीवेक्षक र विद्यार्थीको समन्वयमा ह्वाट्सएपबाट पठाएको हो कि भन्ने देखिन्छ । त्यो त छानबिन समितिले देखाउला । तसर्थ परीक्षा हलमा प्रवेशअघि परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण रूपमा ब्लक गर्नुपर्छ । परीक्षा केन्द्रमा खटिने निरीक्षकलाई पनि मोबाइल लैजान प्रतिबन्ध गर्नुपर्छ, जसले गर्दा यस्ता सम्भावित घटना रोकिन सक्छन् ।

संसारका विश्वविद्यालयमा अनलाइन माध्यमबाट परीक्षा भइरहेका छन् । ती विश्वविद्यालयमा बहुवैकल्पिक प्रश्नहरू सोधिने गरिन्छ । परीक्षा केन्द्रमा सीसी क्यामेराको व्यवस्था गरिने अभ्यास छ । प्रश्नपत्रहरूको सेट पनि लगभग फरक–फरक प्रकृतिको हुन्छ । यसले गर्दा प्रश्न लिक हुने सम्भावना कम हुन्छ ।

विश्वविद्यालय तथा उच्च शिक्षा क्षेत्रमा प्रश्नपत्र निर्माण गर्ने कार्य अत्यन्तै प्राज्ञिक, वैज्ञानिक र अनुशासित प्रक्रियाबाट पूरा गरिन्छ । प्रश्नपत्र बनाउँदा सर्वप्रथम पाठ्यक्रम र त्यसको क्रेडिट आवरलाई विशेष ध्यान दिइन्छ ।

कुनै एकाइमा धेरै क्रेडिट आवर छ भने त्यसलाई बढी समय र महत्त्व दिएर पढाइएको हुने भएकाले प्रश्नपत्रमा पनि सोही अनुसारका लामा तथा महत्त्वपूर्ण प्रश्न समेटिनुपर्छ । थोरै क्रेडिट आवर भएको खण्डबाट धेरै अङ्कको र धेरै क्रेडिट आवर भएको खण्डबाट थोरै अङ्कको प्रश्न सोध्नु पाठ्यक्रमको मर्मविपरीत हुन्छ । प्रश्नपत्रले विद्यार्थीको ज्ञान, सिप र व्यावहारिक दक्षताको बहुआयामिक प्रतिनिधित्व गर्नुपर्छ । यसका लागि सबै प्रश्न एकै प्रकारका नभई विश्लेषण, छलफल र समालोचनात्मक सोच माग्ने खालका हुनुपर्छ ।

विगतका वर्षमा सोधिएका प्रश्नहरू हुबहु दोहोरिन नदिनका लागि प्रश्न निर्माणकर्ता विज्ञले धेरै कुरा विचार गरेर ३ देखि ४ सेटसम्म प्रश्न तयार पार्छन् । पुराना प्रश्नहरूसहितको प्रश्न बैंकबाट मिलाएर बनाइएका यी सेटहरूलाई अन्तिम रूप दिन अर्को विज्ञ वा समूहद्वारा मोडरेसन गराइन्छ ।

निरीक्षक वा केन्द्राध्यक्षको आँखा छलेर वा कहिलेकाहीँ तल्लो स्तरका कर्मचारी, शिक्षक र विद्यार्थीबिचको अवाञ्छित मिलेमतोका कारण पनि यस्ता घटना हुने गर्छन् ।

मोडरेसन गर्ने टोलीले ३० देखि ४० प्रतिशतसम्म प्रश्न परिमार्जन वा परिवर्तन गर्न पाउने अधिकार राख्छ । यसरी धेरै चरणमा प्रश्नहरू फेरबदल हुने र प्रश्न बैंकबाट आकस्मिक रूपमा प्रश्न सेट छानिने भएकाले प्रश्न निर्माण गर्ने विज्ञ वा समितिलाई समेत कुन प्रश्न परीक्षामा आउँदैछ भन्ने अगाडि नै थाहा हुँदैन ।

परीक्षाको मर्यादा जोगाउन र प्रश्नपत्र चुहावट हुन नदिन समय सीमाका कडा नियमहरू लागू गरिएका हुन्छन् । परीक्षा सुरु भएको आधा घण्टापछि आउने परीक्षार्थीलाई कुनै पनि हालतमा परीक्षा हलमा छिर्न दिइँदैन, ताकि बाहिर प्रश्नपत्र हेरेर वा चिट बनाएर भित्र छिर्ने सम्भावना नरहोस् । परीक्षा हलभित्र छिरिसकेको विद्यार्थीले पनि सुरुको एक घण्टा व्यतीत नगरी शौचालय जान वा उत्तरपुस्तिका बुझाएर बाहिर निस्कन पाउँदैन । यसले गर्दा बाहिर निस्किएर प्रश्नको उत्तर तयारी गरी पुनः भित्र छिर्नेजस्ता अवाञ्छित गतिविधिहरू रोकिन्छन् ।

यस्ता वैज्ञानिक र अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरू अपनाएर नै परीक्षाको निष्पक्षता र मर्यादा जोगाउने प्रयास गरिएको हुन्छ । यति धेरै सुरक्षात्मक उपाय अपनाउँदा अपनाउँदै पनि आधुनिक प्रविधिको दुरुपयोगका कारण प्रश्नपत्र चुहावट र परीक्षामा अनियमितताका चुनौती थपिएका छन् ।

हाल मोबाइल, क्यामेरा र डिजिटल प्रविधिको पहुँचका कारण परीक्षा हलभित्रैबाट प्रश्नपत्रको फोटो खिचेर तुरुन्तै बाहिर पठाउने, इमेल, ह्वाट्सएप वा अनलाइन माध्यमबाट उत्तर खोज्ने र एआईको प्रयोग गरी ५ मिनेटमै उत्तर प्राप्त गरी पुनः हलभित्र पठाउने जस्ता अवाञ्छित कार्य हुने गरेका छन् ।

निरीक्षक वा केन्द्राध्यक्षको आँखा छलेर वा कहिलेकाहीँ तल्लो स्तरका कर्मचारी, शिक्षक र विद्यार्थीबिचको अवाञ्छित मिलेमतोका कारण पनि यस्ता घटना हुने गर्छन् । यसलाई पूर्ण रूपमा रोक्नका लागि अन्तर्राष्ट्रिय उडान अघि गरिने ‘मेटल फ्री’ चेकिङजस्तै कडा सुरक्षा व्यवस्था लागु गर्नुपर्छ ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन र परीक्षा केन्द्रले संयुक्त रूपमा जिम्मेवारी लिएर विद्यार्थीलाई परीक्षा हलमा प्रवेश गर्नुअघि मोबाइल, क्यामेरा, कागजका टुक्रा वा कुनै पनि डिजिटल उपकरण नभएको पूर्ण सुनिश्चितता गर्नुपर्छ । साथै, निरीक्षक तथा पर्यवेक्षकहरूलाई पनि कडा अनुशासन र नियमभित्र राखेर परीक्षा सञ्चालन गर्न सकेमा मात्र यस्ता गम्भीर त्रुटिहरूलाई पूर्ण रूपमा रोक्न सकिन्छ ।

(त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहपरीक्षा नियन्त्रक डा. कविराज पौड्यालसँग गरिएको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. कविराज पौड्याल
डा. कविराज पौड्याल
लेखकबाट थप