मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
१०औँ राष्ट्रिय खेलकुद

दशौँ राष्ट्रिय खेलकुद कहिले ? पटक–पटक मिति सार्दा बढ्दै छ अन्योल

मङ्गलबार, १२ साउन २०८३, १९ : ००
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटकपटक सरेपछि खेलाडी, प्रशिक्षक र सरोकारवाला अन्योलमा परेका छन् ।
  • पूर्वाधार निर्माण, बजेट व्यवस्थापन, समन्वय अभाव र प्रशासनिक तयारी अपुग भएका कारण प्रतियोगिता आयोजना हुन सकेको छैन ।
  • प्रतियोगिता स्थगित हुँदा खेलाडीको प्रशिक्षण, छनोट र प्रदर्शनमा असर परेको छ भने खेल संघहरूको वार्षिक योजनासमेत प्रभावित भएको छ ।

काठमाडौँ । नेपाली खेलकुदको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अनिश्चित छ । पटक–पटक प्रतियोगिताको मिति तोकिए पनि विभिन्न कारण देखाउँदै सारिएको छ । 

जसका कारण खेलाडी, प्रशिक्षक, प्रदेश खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघहरूलाई अन्योलमा पारेको छ । पूर्वाधार तयार भए पनि खेलाडी र आयोजक समितिहरू निराश छन् भने खेल गतिविधि शून्यजस्तै बनेको छ । 

सन् २०२६ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची र नागोया सहरमा २०औँ एसियाली खेलकुद (एसियाड) आयोजना हुँदै छ । एसियाली खेलकुदअघि राष्ट्रिय खेलकुद हुने भएकाले धेरै खेलाडीले यसलाई अभ्यासका रूपमा अवसर पाउँथे, तर विडम्बना त्यसो हुन सकेन । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सम्बन्धित निकायले दशौँ राष्ट्रिय खेलकुदका लागि अहिलेसम्म चार पटक मिति तय गरेका छन् । तर हरेक पटक कुनै न कुनै कारण देखाउँदै प्रतियोगिता स्थगित गरिएको छ । सुरुमा २०८१ सालमा आयोजना गर्ने तयारी गरिएको थियो । त्यसपछि विभिन्न चरणमा नयाँ कार्यतालिका सार्वजनिक गरियो । पछिल्लोपटक राखेपको १२३औँ बोर्ड बैठकले प्रतियोगिता २०८३ वैशाखमा गर्ने निर्णय भए पनि आवश्यक तयारी पूरा हुन नसकेपछि त्यो मिति पनि कार्यान्वयन हुन सकेन । अहिले प्रतियोगिताको नयाँ मिति औपचारिक रूपमा घोषणा भएको छैन । 

गएको असार ६ गते शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशमा निर्माणाधीन प्रदेश रङ्गशालाको स्थलगत अनुगमन गरेका थिए । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको अवस्था बुझ्न सुर्खेत पुगेका मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रतियोगिताको औपचारिक मिति सरकारले छिट्टै घोषणा गर्ने योजना बनाएको समेत जानकारी दिएका थिए । तर मन्त्री पोखरेलले बोलेको एक महिना बढी हुँदा पनि अहिलेसम्म सरकारले मिति तोक्न सकेको छैन । 

निरीक्षणका क्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले मन्त्री पोखरेललाई रङ्गशाला निर्माणको अहिलेको प्रगति, भौतिक पूर्वाधारको अवस्था र तयारीका क्रममा देखिएका चुनौतीहरूका बारेमा विस्तृत जानकारी गराएका थिए । रङ्गशालाको अवलोकनपछि मन्त्री पोखरेलले कर्णाली प्रदेशमा खेलकुदका भौतिक संरचनाको अभाव रहेको स्विकारे । 

sasmit-karnali

कर्णालीले पहिलो पटक राष्ट्रिय खेलकुदजस्तो गरिमामय प्रतियोगिता आयोजना गर्ने अवसर पाएकाले यसलाई सफल बनाउन केन्द्र र प्रदेश सरकारबिच समन्वयकारी भूमिका रहने मन्त्री पोखरेलको भनाइ थियो । 

67c6c34d-2f50-49e5-a3da-67afb02cf1bb

किन हुन सकेन प्रतियोगिता ? 

प्रतियोगिता हुन नसक्नुका पछाडि धेरै कारण देखिएका छन् । मुख्य कारणमा प्रतियोगिता आयोजना गर्ने कर्णाली प्रदेशको पूर्वाधार निर्माण समयमै पूरा नहुनु, आवश्यक बजेट व्यवस्थापनमा ढिलाइ, केन्द्र र प्रदेशबीचको समन्वय अभाव तथा प्रतियोगिता सञ्चालनसम्बन्धी प्रशासनिक तयारी अपुग रहनु हो । 

कर्णालीमा निर्माण भइरहेका केही खेल पूर्वाधार अझै पूर्ण रूपमा सञ्चालनयोग्य अवस्थामा नपुगेका कारण प्रतियोगिता सार्नुपरेको सम्बन्धित अधिकारीहरूले बताउँदै आएका छन् । केही खेलका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्डका मैदान तथा आवास व्यवस्थापन पनि चुनौतीका रूपमा देखिएको छ । 

खेलाडीको तयारी प्रभावित 

राष्ट्रिय खेलकुदलाई लक्ष्य बनाएर लामो समयदेखि प्रशिक्षण गरिरहेका खेलाडीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । प्रतियोगिताको मिति पटक–पटक परिवर्तन हुँदा प्रशिक्षण तालिका, छनोट प्रतियोगिता र खेलाडीको प्रदर्शनमा प्रत्यक्ष असर परेको प्रशिक्षकहरू बताउँछन् । 

कतिपय खेलाडीले प्रतियोगिता कहिले हुन्छ भन्ने टुंगो नहुँदा नियमित प्रशिक्षणलाई निरन्तरता दिन पनि कठिनाइ भइरहेको गुनासो गरेका छन् । देशकै सबैभन्दा ठूलो बहुखेल प्रतियोगिता दशौँ राष्ट्रिय खेलकुद पटक–पटक स्थगित हुँदा यसको प्रत्यक्ष असर खेलाडी, प्रशिक्षक र प्रदेशका खेल संरचनामा देखिन थालेको हो । प्रतियोगिताको मिति चार पटकसम्म तोकिए पनि विभिन्न कारण देखाउँदै स्थगित भएपछि खेलाडीहरू लामो समयदेखि अन्योलमा परेका छन् । 

राष्ट्रिय खेलकुद प्रतियोगिता हरेक दुई वर्षमा आयोजना गर्ने व्यवस्था भए पनि दशौँ संस्करण समयमै हुन नसक्दा खेलाडीको तयारी, प्रदर्शन र भविष्य नै प्रभावित बनेको खेलकर्मीहरू बताउँछन् । प्रतियोगितालाई लक्ष्य बनाएर महिनौँदेखि नियमित प्रशिक्षण गरिरहेका खेलाडीहरू अहिले अभ्यासको निरन्तरता कायम राख्नसमेत संघर्ष गरिरहेका छन् । 

खेलाडीहरूका अनुसार प्रतियोगिता नहुँदा उनीहरूको प्रतिस्पर्धात्मक लय टुटेको छ । नियमित प्रतिस्पर्धाको अभावले खेल प्रदर्शनमा गिरावट आउने, नयाँ प्रतिभाले आफ्नो क्षमता देखाउने अवसर गुमाउने र राष्ट्रिय टोली छनोटसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ । 

राष्ट्रिय खेलकुद उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि राष्ट्रिय टोलीमा प्रवेश गर्ने महत्त्वपूर्ण आधार मानिन्छ । तर प्रतियोगिता नै नहुँदा धेरै खेलाडीले आफ्नो क्षमता प्रमाणित गर्ने अवसर गुमाएका छन् । यसले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रियालाई समेत चुनौतीपूर्ण बनाएको खेल संघहरुले बताएका छन् । 

दशौँ राष्ट्रिय खेलकुदका लागि धेरै प्रदेशले बन्द प्रशिक्षण सञ्चालन गरेका थिए । प्रतियोगिता स्थगित भएसँगै कतिपय प्रशिक्षण कार्यक्रम रोकिएका छन् भने कतिपय खेलाडी आफ्नै खर्चमा अभ्यास जारी राख्न बाध्य भएका छन् । यसले आर्थिक रूपमा कमजोर खेलाडीलाई थप कठिनाइमा पारेको छ । 

प्रतियोगिता नहुँदा खेलाडीले पाउने दैनिक भत्ता, प्रोत्साहन रकम तथा प्रदर्शनमा आधारित अन्य अवसरसमेत गुमेका छन् । केही खेलाडीका लागि यस्ता प्रतियोगिता रोजगारी, छात्रवृत्ति तथा संस्थागत अवसर प्राप्त गर्ने माध्यम पनि हुने भएकाले ढिलाइले उनीहरूको व्यावसायिक करिअरमा समेत असर परेको छ । 

प्रदेश खेलकुद विकास परिषद् र विभिन्न सङ्घहरूले प्रतियोगितालाई केन्द्रमा राखेर तयार पारेका वार्षिक योजना, प्रशिक्षण कार्यक्रम र बजेट कार्यान्वयनसमेत प्रभावित भएका छन् । खेल पूर्वाधारको प्रयोग घट्नुका साथै खेल गतिविधिमा समेत सुस्तता आएको छ ।

राष्ट्रिय खेलकुद जस्तो ठूलो प्रतियोगिता पटक–पटक स्थगित हुनु नेपाली खेलकुदका लागि राम्रो संकेत होइन । यसले खेलाडीको मनोबल कमजोर बनाउने, खेलप्रतिको आकर्षण घटाउने र नयाँ पुस्तालाई खेलमा टिकाइराख्न चुनौती थपेको छ । 

दशौँ राष्ट्रिय खेलकुदका लागि अहिलेसम्म चार पटक मिति तोकिए पनि पूर्वाधार निर्माण, आवश्यक तयारी र व्यवस्थापनसम्बन्धी कारण देखाउँदै प्रतियोगिता सारिँदै आएको छ । यसले प्रतियोगिता कहिले हुने भन्नेबारे अझै स्पष्टता आउन सकेको छैन । 

खेलाडी र सरोकारवालाले अब थप ढिलाइ नगरी निश्चित कार्यतालिकासहित प्रतियोगिता आयोजना गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् । राष्ट्रिय खेलकुद समयमै हुन सके मात्र खेलाडीको मनोबल कायम रहने, नयाँ प्रतिभाले अवसर पाउने र नेपालको समग्र खेलकुद विकासले गति लिनेछ । 

संघहरू पनि अन्योलमा 

राष्ट्रिय खेल संघहरूलाई पनि छनोट प्रतियोगिता, प्रशिक्षण शिविर र बजेट व्यवस्थापनमा समस्या भइरहेको छ । प्रतियोगिताको निश्चित मिति नहुँदा वार्षिक कार्ययोजना प्रभावित भएको संघहरूको भनाइ छ । प्रदेश खेलकुद परिषद्हरूले समेत खेलाडी छनोट प्रक्रिया लामो समयसम्म खुला राख्नुपरेको र त्यसले अतिरिक्त आर्थिक भार थपिएको बताएका छन् । 

अब कहिले ? 

राखेपले प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता दोहोर्याउँदै आए पनि नयाँ मिति भने सार्वजनिक गरिसकेको छैन । कर्णालीका आवश्यक पूर्वाधार, आवास र व्यवस्थापन तयारी पूरा भएपछि मात्रै नयाँ मिति घोषणा गरिने बताइएको छ । 

खेलकुद क्षेत्रका सरोकारवालाले भने अब थप ढिलाइ नगरी स्पष्ट कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार राष्ट्रिय खेलकुद समयमै हुन नसक्दा खेलाडी उत्पादन, राष्ट्रिय टोलीको तयारी र समग्र नेपाली खेलकुदको विकास प्रक्रियामा नकारात्मक असर पर्ने जोखिम बढ्दै गएको छ ।

कर्णाली सरकारले राष्ट्रिय प्रतियोगिताका ३५ मध्ये २४ खेल कर्णालीमा खेलाउने तयारी गरेको थियो । त्यसमध्ये झन्डै १० हजार दर्शक अट्ने प्रदेश रंगशालामा फुटबलसहित १६ वटा खेल खेलाइने प्रदेश सरकारको योजना छ । हुम्लामा हक्की मैदान तथा दैलेख, कालीकोट, जुम्ला, रुकुम पश्चिम र सल्यानमा रहेका कवर्डहलमा पनि केही खेल खेलाउने गरी प्रदेश सरकारले तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप