मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा

मङ्गलबार, १२ साउन २०८३, १८ : ५५
मङ्गलबार, १२ साउन २०८३

भारतका सडक यातायातमन्त्री नितिन गडकरीले आफूलाई देशको इथानोल मिश्रण कार्यक्रमसँग जोडेर सामाजिक सञ्जालमा मानहानिपूर्ण सामग्री प्रसारण गरिएको भन्दै मेटासहितका ठूला प्रविधि कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।

गडकरीले बम्बे उच्च अदालतमा दायर गरेको मुद्दामा ११ करोड भारतीय रुपैयाँ (११ लाख ४० हजार अमेरिकी डलर) क्षतिपूर्तिको माग गरेको उनको कार्यालयले जनाएको छ ।

उनले सामाजिक सञ्जालमा प्रसारित सामग्रीले आफूलाई सरकारको ‘ई–२०’ इथानोल मिश्रित पेट्रोल नीतिका लागि व्यक्तिगत रूपमा जिम्मेवार रहेको र आफू तथा आफ्नो परिवारले त्यसबाट आर्थिक लाभ लिएको भनी गलत आरोप लगाइएको बताएका छन् ।

भारत सरकारले आयातित इन्धनमाथिको निर्भरता घटाउने र कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले पेट्रोलमा २० प्रतिशतसम्म इथानोल मिश्रण गर्ने ‘ई–२०’ नीति कार्यान्वयन गरिरहेको छ । उक्त नीतिविरुद्ध सामाजिक सञ्जालमा विभिन्न पोस्ट तथा भिडियो भाइरल भएका छन् । ती सामग्रीमा इथानोल मिश्रित पेट्रोलले सवारीसाधनको इन्जिनमा क्षति पुर्‍याउने र कम इथानोल मिश्रणका लागि बनाइएका सवारीसाधनको मर्मत खर्च बढाउने दाबी गरिएको छ ।

गडकरीले आफूविरुद्ध प्रसारित ‘डिपफेक’ सामग्री र भिडियोले आफ्नो प्रतिष्ठामा अपूरणीय क्षति पुर्‍याइरहेको दाबी गरेका छन् ।

मुद्दामा फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटासहित ‘एक्स कर्प’, गुगललगायत कम्पनीलाई विपक्षी बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गडकरीको मुद्दाबारे प्रतिक्रिया माग्दै एएफपीले गरेको अनुरोधमा मेटाबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

भारत फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताको सङ्ख्याका दृष्टिले मेटाका लागि प्रमुख बजारमध्ये एक हो । भारतीय सरकारले सामाजिक सञ्जाल प्लेटफर्ममाथिको नियमनसमेत विस्तार गर्दै आएको छ र आपत्तिजनक सामग्री हटाउन तथा सरकारी निर्देशन पालना गर्न ती कम्पनीलाई निर्देशन दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप