मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह

मङ्गलबार, १२ साउन २०८३, १५ : ४७
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • कांग्रेस सभापति गगन थापाले नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
  • थापाले चिकित्सक र स्वास्थ्यकर्मीको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न सरकारलाई आग्रह गरेका छन् ।
  • उनले स्वास्थ्य सेवा अत्यावश्यक भएकोले नागरिकको अवस्थालाई ध्यान दिएर सेवा प्रवाह नरोक्न चिकित्सकहरूलाई अपिल गरेका छन् ।

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीको माग सम्बोधन गरी स्वास्थ्य सेवा प्रवाह सुचारु गर्न आग्रह गरेका छन् । 

वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको घटनालाई लिएर उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् ।

साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुःखद र निन्दनीय रहेको उनले बताएका छन् ।

नागरिकको जीवन रक्षाका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आफ्नै कार्यस्थलमा असुरक्षित हुनु र उपचार गर्ने क्रममा वा गरेकै आधारमा दुर्व्यवहार र भौतिक आक्रमणमा पर्नु कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।

यस घटनापछि पेसागत सुरक्षाका लागि नेपाल चिकित्सक सङ्घ लगायतको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा उपचारको पर्खाइमा रहेका हजारौँ बिरामीहरूले सास्ती भोग्नुपर्ने विषम परिस्थिति सिर्जना भएकोमा थापाले चिन्ता व्यक्त गरेका छन् । आफ्नो सुरक्षा र पेसागत हकका लागि सेवा बन्दजस्तो अप्रिय निर्णय गर्ने ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मी पुग्नु चिन्ताजनक विषय रहेको भन्दै उनले तत्कालीन र दीर्घकालीन समाधान खोज्न ढिलो गर्न नहुने उल्लेख गरेका छन्।

फेसबुक पोस्टमा थापाले भने, ‘विगतमा चिकित्सक र स्वास्थ्यकर्मीको पटक–पटकको आन्दोलनको दबाब र नेपाली कांग्रेसकै पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (संशोधन सहित) कार्यान्वयनमा आइसकेको छ। अतः यस घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गरियोस् । वार्ताका क्रममा दुर्व्यवहार गर्ने अधिकारी र प्रहरी माथि निष्पक्ष छानबिन गरियोस्।’

संवाद र सेवा सुचारु गर्ने विषयमा थप्दै उनले भने, ‘नेपाल चिकित्सक सङ्घ र स्वास्थ्यकर्मीसँग अविलम्ब संवाद गरी उनीहरूका पेसागत सुरक्षाका मागहरू सम्बोधन गरेर ओपिडी लगायतका अत्यावश्यक सेवाहरू तत्काल सुचारु गर्ने वातावरण मिलाउन सरकारले अतिरिक्त पहलकदमी लियोस्।’

चिकित्सकहरूलाई अपिल गर्दै उनले अगाडि भने, ‘स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकोले यसको संवेदनशीलताको ख्याल राख्दै हजारौँ नागरिक र बिरामीको अवस्थालाई ध्यान दिएर सेवा प्रवाह नरोक्न र वार्ता र संवादबाटै समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक सङ्घ लगायत सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई अपिल गर्दछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप