९२ वर्षमा पनि थाकेका छैनन् हातहरू : तीन पुस्ताको प्रसूति गराउने डाक्टर
सारांश
- ९२ वर्षको उमेरमा पनि डाक्टर सुरी श्रीमाथीले करिब ७० वर्षको अनुभवसहित निरन्तर चिकित्सा सेवा दिइरहेकी छन्।
- उनी पूर्ण आत्मविश्वासका साथ शल्यक्रिया गर्छिन्, आफैँ कार चलाएर अस्पताल जान्छिन् र उनको स्मरणशक्ति तेज छ।
- डा. श्रीमाथीले योग, ध्यान, सन्तुलित खानपान, पेसाप्रतिको समर्पण र अनुशासित जीवनशैलीलाई आफ्नो सक्रियताको रहस्य बताएकी छन्।
अहिलेसम्म तपाईंले भेटेका डाक्टरहरूमध्ये सबैभन्दा बढी अनुभव कोसँग थियो होला ?
यो प्रश्नमा तपाईंको जवाफ के हुन सक्छ ? ३० वर्ष, ४० वर्ष वा ५० वर्ष?
तर, के तपाईंले कहिल्यै यस्तो डाक्टर भेट्नुभएको छ, जससँग करिब ७० वर्षको अनुभव छ ? सायद छैन होला...
मैले जुन डाक्टरलाई भेटेँ, उनी एमबीबीएस गरेपछि विगत ६८ वर्षभन्दा बढी समयदेखि चिकित्सा सेवा दिइरहेकी छन्।
उनी हुन्, डाक्टर सुरी श्रीमाथी, जो हैदरावादमा बस्छिन्। ९२ वर्षको उमेरमा पनि उनी लगातार अपरेसन गरिरहेकी छन्।
सन् १९५८ मा सुरी श्रीमाथीले एमबीबीएसको डिग्री हासिल गरेपछि आफ्नो करियर सुरु गरेकी थिइन्। आज पनि उनी पूर्ण जोश र उत्साहका साथ हरेक दिन बिरामीहरू जाँच्छिन्।
आवश्यकता पर्दा सिजेरियन डेलिभरी (शल्यक्रियामार्फत प्रसूति) पनि गराउँछिन्। उनी कुनै युवा डाक्टरले जस्तै चिकित्सा सेवा दिइरहेकी छन्।
जुन उमेरमा धेरै मानिसलाई हिँडडुल गर्न र दैनिक काम गर्न गाह्रो हुन्छ, त्यो उमेरमा उनी बिरामीको उपचारका लागि स्टेथोस्कोप मात्र समात्नदिनन्, पूर्ण आत्मविश्वासका साथ शल्यक्रिया पनि गर्छिन्।
डा. सुरी श्रीमाथी आफैँ कार चलाएर अस्पताल जान्छिन्। ९२ वर्षको उमेरमा पनि उनको स्मरणशक्ति निकै तेज छ र उनका हातहरू काँप्दैनन्।

मैले उनलाई अपरेसन गर्दा हात काँप्छन् कि काँप्दैनन् भनेर सोधेँ। उनले जवाफ दिइन्, ‘काँप्दैनन्।’
त्यसपछि उनले भनिन्, ‘यो हेर्नुहोस्, तपाईं आफैँ मेरो हात हेर्न सक्नुहुन्छ...’ यति भन्दै उनले आफ्ना हात मलाई देखाइन्।
अन्य डाक्टरहरूलाई जस्तै आफूलाई पनि औषधिका नामहरू राम्ररी याद हुने कुरा डा. सुरी श्रीमाथीले बताइन्।
- तीन पुस्ताको उपचार गर्ने डाक्टर
डा. सुरी श्रीमाथीकी सहयोगी डाक्टर रजनी कुमारीले बीबीसीसँग भनिन्, ‘उहाँका हात कहिल्यै काँप्दैनन्। हाम्रा हात काँप्न सक्छन्, तर उहाँका हातहरू पूर्ण रूपमा स्थिर रहन्छन्।’
उनले भनिन्, ‘योग, ध्यान, सन्तुलित खानपान, आफ्नो पेसाप्रतिको अटुट समर्पण, तनावरहित स्वभाव र अनुशासित जीवनशैली नै यसको कारण हो। उहाँ धेरै पटक निद्राको पर्वाह नगरी लगातार काम गर्न सक्नुहुन्छ।’
डा. सुरी श्रीमाथीलाई एउटै परिवारका तीन पुस्ता अर्थात् हजुरआमा, आमा र छोरीसम्मको प्रसूति गराएको विशेष सम्मान प्राप्त छ।
डा. श्रीमाथी भन्छिन्, ‘धेरै मानिसहरू मलाई आफ्नो बाल्यकालको तस्बिर देखाउँछन्। अनि भन्छन्, मेरो जन्म तपाईंले नै गराउनुभएको थियो।’
उनकी बिरामी रहेकी तुलसी डाक्टर श्रीमाथीको चर्चा हुँदा भावुक भइन्। बीबीसीसँग आफ्नो अनुभव साझा गर्दै उनी भन्छिन्, ‘उहाँ बिरामीका समस्याहरू धेरै धैर्यपूर्वक सुन्नुहुन्छ। २४ घण्टामा जतिबेला फोन गरे पनि उहाँ नरिसाईकन जवाफ दिनुहुन्छ।’
‘जब मैले पहिलो पटक उहाँलाई देखेँ, मलाई अलिकति डर लागेको थियो। यति धेरै उमेरकी डाक्टरले के राम्रोसँग सिजेरियन अपरेसन गर्न सक्नुहोला र भन्ने मलाई लागेको थियो।’
‘तर समय बित्दै जाँदा मैले अरू बिरामीहरूका राम्रा अनुभवहरू सुनेँ। उहाँले हाम्रो कति राम्रो हेरचाह गर्नुहुन्छ भन्ने पनि मैले देखें। यसपछि मेरो डर पूर्ण रूपमा हट्यो र मेरो विश्वास बढ्यो।’
‘अपरेसनका क्रममा उहाँसँग सहयोगीहरू पक्कै हुन्छन्, तर सबैभन्दा महत्त्वपूर्ण भूमिका उहाँ आफैँ निर्वाह गर्नुहुन्छ।’

‘मेरो तेस्रो डेलिभरीको समयमा अचानक आपत्कालीन अवस्था सिर्जना भएको थियो। यो खबर पाउनेबित्तिकै उहाँ चियासमेत नपिई तुरुन्तै अस्पताल पुग्नुभयो।’
‘उहाँले मेरो प्रसूति पूरा नभएसम्म खाना खानुभएन। आमा र बच्चाको सुरक्षा सुनिश्चित गरेपछि मात्र उहाँ खाना खान जानुभयो।’
चिकित्सा क्षेत्र धेरै द्रुत गतिमा परिवर्तन भइरहेको छ। यसमा नयाँ औषधि, अनुसन्धानका नतिजा र परीक्षणका नयाँ विधिहरू निरन्तर आइरहन्छन्। यस्तो वातावरणमा डा. सुरी श्रीमाथी सधैं आफूलाई अपडेट राख्छिन्।
उनले भनिन्, ‘म मेडिकल सम्मेलन र बैठकहरूमा सहभागी हुन्छु। यसबाहेक चिकित्सासम्बन्धी लेख र अनुसन्धान पत्रिकाहरू पनि पढ्छु। जब मेडिकल प्रतिनिधिहरू नयाँ औषधिको बारेमा बताउँछन्, म तिनीहरूसँग जोडिएका ताजा जानकारीहरू हासिल गर्छु।’
डा. श्रीमाथीसँगै अपरेसन गर्ने स्त्रीरोग विशेषज्ञ डा. रजनी कुमारीले भनिन्, ‘आज पनि उहाँ यस क्षेत्रमा भइरहेका नयाँ प्रगतिका बारेमा निरन्तर सिकिरहनुहुन्छ। जब कुनै नयाँ प्रविधि आउँछ, उहाँ त्यसलाई राम्रोसँग बुझ्ने प्रयास गर्नुहुन्छ।’
उनले थप भनिन्, ‘उहाँ हरेक बिरामीलाई पर्याप्त समय दिनुहुन्छ। सबै प्रश्नहरूको धैर्यपूर्वक जवाफ दिनुहुन्छ र कहिल्यै झर्को मान्नुहुन्न।’
- सरकारी डाक्टरको रूपमा...
डा. सुरी श्रीमाथीले सन् १९५८ मा उस्मानिया विश्वविद्यालयबाट एमबीबीएसको डिग्री प्राप्त गरिन्।

त्यसपछि उनले केही समय सरकारी डाक्टरको रूपमा काम गरिन्। अनि स्त्री तथा प्रसूति रोग विशेषज्ञतामा एमडीको डिग्री हासिल गरिन्। त्यसपछि उनले हैदरावादमा लामो समयसम्म चिकित्सा सेवा दिइन्।
आफ्नो सुरुवाती जागिरलाई सम्झँदै उनले भनिन्, ‘एमबीबीएस पूरा गरेपछि म संगारेड्डीको एउटा अस्पतालमा डाक्टर बनेकी थिएँ। त्यहाँ मेरो अगाडि आएको पहिलो केस १३ वा १४ वर्षकी एउटी केटीको थियो।’
‘उनी आमासँग म कहाँ आएकी थिइन्। उनकी आमाले मेरी छोरी गर्भवती छे, कृपया यसको जाँच गरिदिनुस् भनिन्। जब मैले उसलाई जाँचें, म छक्क परेँ। ती केटी गर्भावस्थाको आठौँ महिनामा थिइन्। मेरो करियरको पहिलो मेडिकल केस यही थियो।’
उनी अगाडि भन्छिन्, ‘मैले बेहोस बनाउने औषधि दिएर सिजेरियन अपरेसन गरेँ। त्यो अस्पतालमा अरू कुनै डाक्टर थिएनन्, त्यसैले सर्जन, एनेस्थेसिया विशेषज्ञ र बालरोग विशेषज्ञ, तीनवटै जिम्मेवारी मैले नै निभाउनुपरेको थियो।’
आज डा. श्रीमाथी हैदरावादस्थित आफ्नै घरबाट निजी चिकित्सा सेवा दिइरहेकी छन्। ओपीडीमा बिरामी जाँच्न उहाँ ३०० भारु शुल्क लिनुहुन्छ। यद्यपि, शुल्क तिर्न नसक्नेहरूसँग भने आफूले कुनै पैसा नलिने कुरा उनले बताइन्।
उनले भनिन्, ‘मेरो लागि यो कमाइको कुरा मात्र होइन। मैले कसैलाई नोक्सान नपुर्याई ठीकै कमाइ गरेकी छु। यही सन्तुष्टि नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो।’
यद्यपि, अब डा. श्रीमाथीले सिजेरियन अपरेसन गर्ने संख्या बिस्तारै कम गर्दै गएकी छन्। यी शल्यक्रियाका क्रममा उनलाई सघाउन अन्य स्त्रीरोग विशेषज्ञ पनि उपस्थित हुन्छन्। तर, अपरेसनको मुख्य प्रक्रिया आज पनि आफूले नै गर्ने कुरा उनले बताइन्।
- डा. श्रीमाथीको बारेमा के भन्छन् सहयोगी डाक्टर ?
डा. रजनी कुमारीले बीबीसीसँग भनिन्, ‘म सन् १९८६ मा म्याडमकोमा सिनियर हाउस सर्जनको रूपमा जोडिएकी थिएँ। त्यतिबेलादेखि आजसम्म म उहाँसँगै काम गरिरहेकी छु।’
उनले भनिन्, ‘मलाई शल्यक्रिया गर्न उहाँले नै सिकाउनुभएको हो। उहाँ मेरो गुरु हुनुहुन्छ। ठूला अस्पतालहरूमा मलाई जतिसुकै काम भए पनि, म सधैं डा. श्रीमाथीका बिरामीहरूलाई प्राथमिकता दिन्छु। जबसम्म हामी दुवैले काम गरिरहेका छौं, यो सिलसिला जारी रहनेछ।’
जब डा. श्रीमाथीलाई पछिल्लो सात दशकमा शल्यक्रियाका तरिकामा के-कस्ता परिवर्तन आए भनेर सोधियो, उनले भनिन्, ‘अपरेसनको प्रविधि, टाँका लगाउने सामग्री र बेहोस बनाउने औषधि दिने तरिका, सबै कुरा धेरै बदलिएको छ।’
उनले भनिन्, ‘मैले समयसँगै आफूलाई पनि बदलेँ र नयाँ प्रविधिहरू सिकेँ।’
डा. रजनी कुमारीले सम्झँदै भनिन्, ‘बिरामीहरूको उहाँमाथि धेरै विश्वास छ। उहाँले त्यो समयमा पनि उत्कृष्ट काम गर्नुभयो, जतिबेला आधारभूत सुविधाहरूसमेत उपलब्ध थिएनन्।’
उनले थप भनिन्, ‘एउटा यस्तो समय थियो जब हामी हरेक महिना लगभग १२० जना गर्भवतीको डेलिभरी गराउँथ्यौं, जसमा धेरैजसो सुविधाहरू नभएका ग्रामीण क्षेत्रबाट आउँथे।’
‘मानिसहरू उहाँको चिकित्सकीय क्षमताका कारण मात्र होइन, उहाँको व्यवहार र कुराकानी गर्ने तरिकाका कारण पनि उहाँकहाँ आउँछन्।’

जब डा. श्रीमाथीलाई चिकित्सालाई आफ्नो पेसा ‘किन रोज्नुभयो’ भनेर सोधियो, उनले एउटा रोचक जवाफ दिइन्।
उनले भनिन्, ‘त्यो जमानामा बच्चाहरू त्यही पढ्थे जुन उनीहरूका आमाबुबा चाहन्थे। मेरा बुबा मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो, त्यसैले मैले मेडिकल पढेँ।’
‘त्यसबेला कुनै प्रवेश परीक्षा हुँदैनथ्यो। प्राप्तांकका आधारमा मात्र भर्ना पाइन्थ्यो।’
उनले मुस्कुराउँदै भनिन्, ‘वास्तवमा म बालरोग विशेषज्ञ बन्न चाहन्थे। तर मेरा सबै साथीहरूले प्रसूति तथा स्त्रीरोग विशेषज्ञता रोजे। म पनि उनीहरूसँगै त्यही क्षेत्रमा लागेँ।’
डा. श्रीमाथीले विवाह गरिनन्। उनलाई यसको कारण सोध्दा उनले निकै सहजताका साथ जवाफ दिइन्, ‘बस, त्यस्तो हुन सकेन।’
त्यसपछि उनले यस विषयमा अरू केही भनिन्।
- विवाह नगरेको विषयमा के भनिन् डा. श्रीमाथीले ?
डा. श्रीमाथीका कान्छा भाइ सुरी रामनाथ शास्त्री उनीभन्दा १९ वर्ष कान्छा छन्। रामनाथले बीबीसीसँग भने, ‘जबदेखि मैले होस सम्हालेँ, म मेरी दिदीलाई एउटा डाक्टरको रूपमा मात्र देख्दै आएको छु। उहाँकहाँ सधैं धेरै बिरामी आउँथे र उहाँ तिनको उपचार गर्नुहुन्थ्यो।’
शास्त्री एक सेवानिवृत्त प्राध्यापक हुन् र उनकी दिदी श्रीमाथी उनको परिवारसँगै आफ्नो पुर्ख्यौली घरमा बस्छिन्। उनले दिदीका बारेमा बताए, ‘उपचार गर्नका लागि उहाँको कुनै निश्चित समय हुँदैनथ्यो। जतिबेला जसलाई आवश्यकता पर्थ्यो, उहाँ सहयोगका लागि तयार रहनुहुन्थ्यो।’
मेडिकल क्षेत्रमा आउन चाहने युवाहरूलाई सल्लाह दिँदै डा. श्रीमाथीले भनिन्, ‘यदि तपाईं ज्ञान बढाउनमा ध्यान दिनुहुन्छ भने, सफलता र समृद्धि आफैं तपाईंकहाँ आउनेछ।’
उनले भनिन्, ‘शुल्क र कमाइको पछि नकुद्नुहोस्। इमानदारीपूर्वक आफ्नो सेवा गर्दै जानुहोस्, बाँकी सबै कुरा आफैं ठीक हुँदै जानेछन्।’
जब उनलाई ’यति लामो मेडिकल यात्रालाई एक शब्दमा कसरी बयान गर्नुहुन्छ’ भनेर सोधियो, उनले जवाफ दिइन्, ‘खुसी र आत्मसन्तुष्टि।’
आफ्नी दिदीको सक्रियतालाई लिएर रामनाथ शास्त्री भन्छन्, ‘यो उमेरमा पनि दिदीले यति धेरै मिहिनेत गरुन् भन्ने उनी चाहँदैनन्, तर पनि उनी दिदीलाई काम छोड्न भने भन्न सक्दैनन्।’
उनले भने, ‘ममा उहाँलाई काम बन्द गर्न भन्न सक्ने साहस छैन। उहाँको ऊर्जा र समर्पण साँच्चै नै आश्चर्यजनक छ। मानिसहरू आपत्कालीन अवस्थामा उपचारका लागि उहाँकहाँ आउँछन्, अनि म कसरी त्यो बिरामीलाई नहेर्नुस् भनेर भन्न सक्छु?’
डा. श्रीमाथीलाई सोधियो, ‘अहिले विश्वभरि नै मानिसहरू छिट्टै सेवानिवृत्त हुने कुरा गरिरहेका छन्, तर ९० वर्षको उमेर पार गरिसक्दा पनि किन काम गरिरहनुभएको छ?’

यसमा उहाँले मुस्कुराउँदै जवाफ दिइन्, ‘जबसम्म ईश्वरले मलाई शक्ति दिनुहुन्छ, म काम गरिरहनेछु।’
त्यसपछि उनले एउटा प्रश्नसहित आफ्नो कुरा टुंग्याइन्, ‘जब हामी खान र आराम गर्न छोड्दैनौं भने, काम गर्न मात्र किन छोड्ने?’
- डा. श्रीमाथीको स्वास्थ्यको रहस्य
डा. श्रीमाथीले बताइन्, ‘म दिनहुँ बिहान सबेरै उठ्छु, योग र प्राणायाम गर्छु। कहिलेकाहीँ टिभी पनि हेर्छु।’
डा. श्रीमाथी स्वस्थ रहनका लागि केही सुझाव पनि दिन्छिन्।
उनी भन्छिन्, ‘सजिलै पच्ने जुनसुकै खानेकुरा पनि खान सकिन्छ। तारेको वा भुटेको खानेकुरा स्वादका लागि मात्र राम्रो हुन्छ, शरीरका लागि होइन।’
समयमै खाना खानु र समयमै सुत्नु निकै जरुरी रहेको कुरा उनी बताउँछिन्। उनले भनिन्, ‘हाम्रो समयमा बाहिरी खेलकुद, घरको काम र रंगोली बनाउने जस्ता गतिविधिको कारण हामीले प्रशस्त घाम पाउँथ्यौं।’
राम्रो स्वास्थ्यका लागि भिटामिन डी र क्याल्सियम निकै जरुरी हुन्छ तर आजकाल मानिसहरू हिँड्नै चाहँदैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकार गठनका लागि नेकपाद्वारा ५ सदस्यीय वार्ता टोली गठन
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
-
भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण