नेपाल केरामा आत्मनिर्भर उन्मुख
काठमाडौँ। सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा आत्मनिर्भर उन्मुख बनेको छ। केरा खेतीमा लाग्ने घातक पानामा टिआर–४ रोगको जोखिमप्रति सरकारले अपनाएको सजकता र उत्पादन बढाउने किसानको प्रयासपछि केराको परनिर्भरता कम हुँदै गएको छ।
नेपालमा १५ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । केराखेतीमा सात हजार ६०० बढी किसान संलग्न छन् । गतवर्ष नेपालमा सात लाख मेट्रिकटन केरा उत्पादन भएको थियो । वार्षिक नौ लाख मेट्रिकटन केरा खपत हुँदै आएको तथ्याङ्क छ।
अपुग दुई लाख मेट्रिकटन केरा उत्पादन गर्ने योजनाका साथ काम भइसकेको नेपाल केरा उत्पादक महासङ्घले जनाएको छ । अब नेपाली उत्पादनले बाह्रै महिनाको माग धान्न सक्ने छ । व्यापारीले पनि केराखेतीमा लगानी गरेका छन्।
केरा बजारमा वार्षिक १२/१३ अर्बको कारोबार हुन्छ। नेपालका फलफूल व्यापारी स्वदेशी केराको उत्पादन बढेसँगै खुसी बनेका छन्। केरामा टिआर–४ रोग देखिऐपछि ‘बायो–सेक्युरिटी’को हिसाबले सरकारले केरा आयातमा कडाइ गरेको थियो।
गतवर्ष तीज, दसैँ र तिहारमा नेपाली किसानले केरा प्रतिकोसा एक रुपैयाँमा पनि नबिकेर फाल्नुपरेको थियो । यसवर्ष भदौ, असोज र कात्तिकदेखि केराको उत्पादन अत्यधिक हुने अनुमान गरिएको छ ।
केरा आयातमा कडाइ नभएको भए नेपालमा केरा खेती नै विस्थापित हुने खतरा रहेको महासङ्घको भनाइ छ । “मूल्य नपाएर किसान केरा खेती छोडेर कोही विदेशिने अवस्था हुने थियो”, महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले भने।
केराको आयातमा कडाइसँगै किसान पनि उत्पादन वृद्धिमा लागेको उनको भनाइ छ। “सरकारको नीतिगत सम्बोधनपछि हामी किसानले पनि केराको परनिर्भरता अन्त्य हुनुपर्छ भनेर उत्पादन यसरी बढायौँ कि अहिले आत्मनिर्भर उन्मुख छौँ, अर्को वर्ष केरा निर्यात गर्न सक्छौँ”, अध्यक्ष पन्तले भने ।
सरकारको सहयोग र किसानको मेहनतको फल अब छिट्टै आमनेपालीले चाख्न पाउने उनको भनाइ छ। महासङ्घले यसवर्ष केरामा आत्मनिर्भर र दुई वर्षमा निर्यातको लक्ष्य भेट्याउने भन्दै सरकारलाई विश्वस्त र किसानलाई उत्साहित बनाउँदै आएको थियो।
“हामीले दुई वर्षमा केरामा आत्मनिर्भर हुन्छौँ भनेका थियौँ, सरकारको सहयोग र किसानको मेहिनतबाट दुई वर्ष पुग्नै परेन, अब अर्को वर्षदेखि नै निर्यात गर्न सक्छौँ”, पन्तले भने।
तराई/मधेसका क्षेत्र मात्रै होइन, पहाडी क्षेत्रमा पनि केरा खेती विस्तार हुँदै गइरहेको महासङ्घले जनाएको छ । गतवर्ष देशभर ५० देखि ६० लाख केराका नयाँ बिरुवा रोपिएको थियो । पहाडी क्षेत्र केराले भाउ पाएपछि किसानको मुहारमा खुसी छाएको छ।
मुख्य चाडपर्वमा उपभोक्ताले सस्तोमा केरा पाउँछन्
महासङ्घले निजिकिँदै गरेका ठुला चाडपर्वमा उपभोक्ताले सस्तोमा स्वदेशी केरा खान पाउने दाबी गरेको छ । “आउँदै गरेको दशैँ, तिहार र छठमा उपभोक्तालाई सस्तोमा केरा खुवाउँछौँ, यो महासङ्घको प्रतिबद्धता हो”, अध्यक्ष पन्तले भने।
किसानले पनि अहिले केराको मूल्य राम्रो पाएका छन्। किसानले मालभोग केराको मूल्य प्रतिदर्जन रु १०० देखि १२० र हरियो केरा (जि–नाइन) को मूल्य प्रतिदर्जन रु ५० देखि ८० सम्म पाउने अवस्था बनेको महासङ्घको भनाइ छ । यसबाट केरा किसान खुसी छन्।
“अर्को वर्ष योभन्दा पनि अझ सस्तो मूल्यमा उपभोक्ताले केरा पाउनेछन्”, पन्तले भने। नेपाल फलफूल थोक व्यवसायी सङ्घका अध्यक्ष अमर बानियाँ स्थानीय उत्पादनले मूल्य पाउँदा किसान उत्साहित बने पनि अझै उपभोक्ताले केरा खान पाउने अवस्था बनिनसकेको बताउँछन्। अझै पनि बजारमा केरा प्रतिदर्जन रु २५० सम्म बिक्री भइरहेको जानकारी दिँदै उनले उत्पादन वृद्धिसँगै ग्रेडिङ र प्याकेजिङमा पनि किसानले ध्यान दिनुपर्ने बताए।
“अहिले किसान उत्साहित हुने वातावरण त बनेको छ, तर मूल्य घटाएर उपभोक्तालाई पनि खुसी बनाउनुपर्याे”, उनले भने। गतवर्षको यही अवधिमा केराले मूल्य नपाएपछि निराश बनेका नेपाली किसान अहिले राम्रो मूल्य पाएपछि उत्साहित बनेको नेपाल केरा उत्पादक महासङ्घले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
-
'यदुवंशीनगर' विवादमा अन्तरिम आदेश अस्वीकार, सर्वोच्चले मुद्दालाई दियो अग्राधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण