बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

लिभिङ टुगेदर र यौनजन्य दुर्घटना

बिहीबार, २१ भदौ २०७५, १३ : ४२
बिहीबार, २१ भदौ २०७५

प्रदीप उप्रेती 
     
जीवशास्त्रीय दृष्टिकोणबाट अध्ययन गर्दा विवाह एवम् लिभिङ टुगेदर दुवैमा  तात्विक भिन्नता रहेको पाइदैन । यसमध्ये विवाह सामाजिक मर्यादामा आधारित रहँदै वंश परम्पराको विकास एवम् विस्तार गर्ने प्रमुख आधार स्तम्भ हो । नेपाल लगायत विश्वका सबै मानव सम्प्रदायमा यसका आफ्नै विशिष्ट स्थान रहेको छ । देश, काल परिस्थिति तथा भिन्न सामाजिक परिवेशअनुसार विवाहका सन्दर्भमा निश्चय पनि विविधता कायम रहेकोे हुन सक्दछ । अतः विवाहलाई मानव समाजले सर्वसुलभ रूपमा स्वीकार गर्ने भएको  हुँदा अपवादबाहेक अन्य अवस्थामा कुनै पनि समस्या नरहने प्रष्ट छ । मूलतः विवाहमा लैङ्गिक भिन्नताले आत्मीयता निम्त्याएको हो । प्राकृतिक प्रदत्त व्यवहारमा संयमता अपनाउन सकेको खण्डमा यौनजन्य हिंसाबाट सहजै उन्मुक्ति पाउन सकिनेछ  ।

वाहको सामाजिक मूल्य मान्यताभन्दा नितान्त भिन्न रही नारी तथा  पुरुष सम्प्रदाय सँगसँगै रहने अवस्थालाई साधारण बोलिचालीको भाषामा लिभिङ टुगेदर भन्न सकिन्छ । विगतको तुलनामा नेपाली सामाजिक परिवेशमा सूक्ष्म एवम् गोप्य रूपमा पाश्चात्य संस्कृतिको प्रत्यक्ष वा परोक्ष प्रभाव स्वरूप मौलाउँदै गएको उक्त संस्कृतिलाई अघोषित रूपमा नेपाली समाजले पनि मान्यता दिँदै गएको छ ।

यस अवस्थालाई मूलत नेपालको कानुनले  हालसम्म सहजता प्रदान गर्न सकेको छैन । यस व्यवहारमा रहने जोडीका हकमा निश्चित रूपमा समस्या निम्तिने छ । किनकि उक्त समूहबाट जायजन्म हुने सन्ततीको वास्तविक अवस्था के रहने भन्ने बारे प्रष्ट रूपमा कानुनमा समेत उल्लेख  नहुँदा अस्थितरता कायम रही व्यवधान सिर्जना हुन सक्दछ । तसर्थ आधुनिकताको नाममा बढ्दै गएका यस्ता संस्कृतिको विकासबाट उत्पन्न हुने सक्ने सम्भावित नकारात्मक प्रभावको न्यूनीकरणका  लागि विलम्ब गर्नु हुँदैन ।

अहिले समलिङ्गी समूहलाई पनि कानुनी मान्यता प्राप्त भइसकेको छ । लिभिङ टुगेदरलगायतका समस्या निराकरण गर्दै सम्भावित आपराधिक कृयाकलापबाट आजका युवापिडीलाई पृथक राख्न सके स्वच्छ समाज निर्माण गर्न सकिन्छ । 

    लिभिङ टुगेदरको हकमा सौहार्दपूर्ण सम्बन्ध स्थापित भएसम्म कुनै पनि प्रकारको समस्या रहँदैन । तर कुनै पक्षमा विवाद तथा  मनमुटाव उत्पन्न भएमा दुवै पक्षले आआफ्नो स्वार्थ अनुकूल कार्य गर्न थाल्छन् । नारी होस् वा पुरुष  दुवैले बलात्कारको सज्ञा दिएर झुठो मुद्दा खेप्नुपर्ने अवस्था आउन सक्छ ।
   

यस अवस्थामा कायम रहेको विवाद साम्य पार्न प्रहरी प्रशासन, न्यायलयका ढोकाहरूमा समेत द्विविधा उत्पन्न हुनेहुदाँ वास्तविक पीडित पक्षले सहज रूपमा न्याय पाउन सक्ने सम्भावना कम रहन्छ ।  बलात्कारका सन्दर्भमा भन्दा कुनै पनि पुरुष, महिला वा अन्य कुनै एक पक्षको सहमती  बेगर हुने यौनजन्य कार्य बलात्कारका हो । यस्ता  घटनाक्रमको न्यायोचित ढङ्गले चिरफार गर्दै पीडितलाई पीडकका तर्फबाट आवश्यक न्याय गर्न सक्नुपर्छ  । पीडकलाई कानुनी कठघरामा उभ्याउनु नै वास्तविक रूपमा बलत्कृत समूहलाई उचित न्याय प्रदान गर्नु हो ।

     केही समय अगाडिसम्म यौनका सम्बन्धी कुरा खुलेर  गर्न लजाउने हाम्रो समाज अहिले लिभिङ टुगेदरमा सहजताको वातावरणतर्फ उन्मुख हुँदै गएको छ । यो खुला बहसका लागि मानसिक रूपमै तयार भएको पाइन्छ । यसमा कतिपयले बाध्यताका कारण र कसैले रहरले समेत लिभिङ टुगेदर स्वीकार गर्दै आएका छन्  ।

      दैनिक रूपमा बढ्दै गएको प्रस्तुत घटनाक्रमको स्थायी समाधान निकाल्न विलम्ब गर्नु हुँदैन । समाजमा बलात्कार जस्तो मानव सभ्यताविरोधी हिंसाले उग्रता लिन सक्छ । लिभिङ टुगेदरको सन्दर्भमा अत्यधिक स्वतन्त्रताको चाहना भएको  हुँदा यसबाट हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न सचेतनामूलक सूचनाहरू सम्प्रेषण गर्नु जरुरी भइसकेको छ । यसको सही उद्देश्य समाज, राष्ट्र एवम् युवा समूहमा भविष्यमा आइपर्ने यौनजन्य दुर्घटनाबाट बचाउनसहयोग प¥याउनु  नै हो ।

अहिलेको  परिपेक्षमा आफ्नो शरीर आफ्नो अधिकार भन्ने नारा निकै चर्किएको छ । एक दृष्टिकोणमा यो नारा सही देखिन सक्छ तर यसले न्यूनतम सामाजिक मूल्यमान्ताको सीमा नै नाघ्यो भने समस्या आउन सक्छ । नेपाली समाजमा प्रतिस्थापन गर्न विवाहसम्बन्धी मौजुदा नेपाल कानुनमा आवश्यक संशोधन गरी कुमारी आमाको अस्तित्वलाई समेत स्वीकार गर्न खोजिएको छ । राज्य पक्षबाट आत्मसाथ गर्न खोजिएको प्रस्तुत अवधारणालाई अध्ययन गर्ने हो भने अब कुनै पनि नेपाली नागरिक समुदायले सन्तान प्राप्तिका लागि विगतको अवस्थामा कायम रहँदै आएको सामाजिक मूल्य एवम् मान्यता अनुसार नारी एवम् पुरुषको बीचमा विवाह नै गर्नुपर्छ भन्ने प्रावधान अब मुलुकमा नरहन पनि सक्दछ । 

अब मुलुकमा  कुमारी आमाको अस्तित्व, लिभिङ टुगेदर वा बलात्कृत अवस्थापछि जन्मने शिशुको भविष्य र तिनको सम्पत्तिसम्बन्धी अधिकार लगायतका अनुत्तरित प्रश्नहरू छन् । यसको समाधानका लागि राज्यले कस्तो रणनीति अपनाउँछ भन्ने मुख्य प्रश्न हो । मौजुदा नेपाल कानुनले अवैध सम्बन्ध एवम् सोबाट उत्पन्न हुने कुनै पनि समस्यालाई अपवादबाहेक अन्य अवस्थामा कानुनी रूपले संरक्षण प्रदान गरेको अवस्था पक्कै पनि होइन ।  

     यौन शिक्षाको कमी रहेको हाम्रो समाजमा विवाह, लिभिङ टुगेदर, बलात्कार एवम् कुमारी आमाका अवधारणाले मान्यता पाउन सक्छ तर  यौन स्वतन्त्रताको नाममा यसले अझै अत्यधिक मात्रामा विकृति बढ्न सक्छ । यी पक्षप्रति सजग हुँदै यौनजन्य दुर्घटनालाई न्यूनीकरण गरी स्वच्छ समाज स्थापना गर्न सबै सचेत हुनुपर्द ।


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप