लघुकथा : मित्रता
लीलाराज दाहाल
रामु र गोपालले निकै लामो समय सडक छेउमा खुद्रा व्यापार गरे । रामु प्रायः ठेलामा फलफूल बेच्थे भने गोपाल हरियो सागसब्जी बेच्ने गर्थे । उनीहरूबीचको मित्रता नङ र मासुझैँ थियो । उनीहरू एउटा बिरामी हुँदा अर्को बेचैन हुने, एउटाले ल्याएको खाने कुरा अर्कोलाई नख्वाई आफू पनि नखाने उनीहरूको बानी भइसकेको थियो । उनीहरूको मनको थालीमा मित्रताको दियो मज्जाले बलिरहेको थियो ।
रामु व्यापारको साथसाथै अभिनय पनि गर्दै थिए । उनको अभिनय दर्शकहरूले मन पराउँदै गए । उनको कलायात्रा फराकिलो हुँदै गयो । उनको अभिनय बिक्दै गएपछि उनले सडक किनारको व्यापार छोडी ठूलो ब्यापारमा पनि लगानी बढाउँदै गए भने गोपाल आफ्नो पुरानै व्यापारमा तल्लीन रहेका थिए ।
कालान्तरमा रामु ठूला ब्यापारी र प्रसिद्ध कलाकार बने । गोपालको आर्थिक अवस्था यथास्थानमै अल्झिएको थियो । अब रामुको जीवनशैली निजी विलासी गाडीमा सवार हुन सक्ने भइसकेको थियो । उनीहरूको भेट नभएको पनि निकै वर्ष भैसकेको थियो ।
रामु कतै जाँदै थिए । बेलुकीको समय, सागसब्जी किन्ने मानिसहरूको भीडले गर्दा उनको गाडी जाममा परेको थियो ।
सडकमा बसेर सागसब्जी बेचिरहेका गोपालका आँखा एकाएक रामुमाथि परे । उनी यति खुशी भए कि बेच्दा बेच्दैका समान छोडेर रामुको गाडी भएतिर दौडिए । वर्षौंपछि भेटिएका आत्मीय साथी ! कसरी मन थाम्न सक्थे र ! साथीलाई अँगालेर बात मार्न कति मन लागेको थियो उनलाई । उनले गाडीको झ्यालैमा पुगेर रामुसँग हात मिलाउन खोजेका मात्र के थिए, उनको गालामा अचानक पहाडझैँ भारी मुक्का बर्सियो र उनी सडकमा पछारिए ।
गाडीभित्र कोही बोल्दै थियो, ‘समसाँझै लामो हात गर्न आउँछन् खातेहरू !’
बागमती–११, कर्मैया
सर्लाही
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद
-
इंग्ल्यान्डविरुद्ध मेस्सीले जे गरे, यही कारण उनी फुटबलका बादशाह हुन्
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण