बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बालएकाङ्की : गालामा पन्जाछाप

सोमबार, १६ पुस २०७५, १८ : २५
सोमबार, १६ पुस २०७५

अत्याधुकि आवासीय माध्यमिक विद्यालय । कक्षा १० को अध्यापन कक्ष । कक्षामा विद्यार्थीहरु भरिएका छन् । गणितगुरु लक्ष्मण वत्सल कक्षामा पस्छन् । आपसमा बोल्दैका विद्यार्थीहरु चुपचाप, ध्यानसन्नद्ध बन्छन् । कक्षा पिनड्रप साइलेण्ट बन्छ ।

गुरु वत्सल चारैतिर आँखा दगुराउँछन् । एक एक विद्यार्थीका अनुहारमा दगुर्छन् उनका आँखा । वातावरणमा कतै ४ दिनअगाडिका घटनाको तुस बाँकी छ कि ? गुरु हावा जोख्छन् । सशङ्कित छ कडा गुरुको कडा मन । 

एकदिन त मिडियामा छाएका हुन् वत्सल गुरु । उनले अहिलेसम्म हजारौं विद्यार्थीका गालामा पन्जाछाप ठोके । यस्तो बबाल कहिल्यै भएन । यसपालि जिल्लाकार्यालयसम्म पुग्नुप¥यो । लाचारभएर गुरुले विद्यार्थी र अभिभावकसमक्ष क्षमाप्रार्थी बन्नुप¥यो । विरामी विद्यार्थीको उपचार खर्च बेहोर्नुप-यो । यी सवै घटनाको छाया कक्षामा पसेर बसेको पो छ कि कडा गुरुको कडा अन्तर्मन सावधान छ । त्यो मन यी फुच्चे फुच्ची विद्यार्थीका अगाडि लत्रन चाहँदैन । अनुशासन हो, त्यसलाई कायम राख्ने आफ्नो शैली हो । सन्जोगले थप्पड अलि जब्बर भएछ । गल्ती नै गरेको त हैन नि । गुरु मनमै आफ्नो विश्वास थुम्थुम्याउन निरन्तर जागरुक छन् । कक्षामा कमजोर देखिन चाहँदैनन् । विद्यालयको सफलताको शान अझै वर्षौं कायम राख्नु छ । खस्कन दिनु छैन । गुरु विद्यालयका जागिरे प्राचार्य होइनन् । विद्यालयधनी नै हुन् । अति नै प्रिय छ विद्यालय । छोराछोरीभन्दा पनि प्रिय । वर्षमै करोडौंको आयस्ता दिने बीशौं करोड मूल्यको विद्यालय । ठूलो खेत । ठूलो खेती । सपनामा पनि विद्यालयमै हुन्छन् गुरु वत्सल । 

प्राचार्य वत्सल (साविक शैलीमा उत्रँदै, बोर्डमा मार्करले आजको मिति,पाठ्यशीर्षक लेख्छन् र कक्षातिर फर्केर) के छ ? हिजोको गृहकार्य सवैले गरेका छौ हैन ? (आँखा त सवैका अनुहारमा दगुर्ने हो, दगुर्छ ।)

कक्षा (समवेत स्वरमा) छ सर 

वत्सल — म त सपनामा पनि तिमीहरुको गृहकार्य हेरिरहेको हुन्छु (हँस्छ )

एक विद्यार्थी — ( अप्रत्याशित आवाज ) सपना ? ?

लक्ष्मण — अनि के त ?

विद्यार्थी — (हात उठउँछ ) 

वत्सल  — ल भन के भन्नु छ ?

विद्यार्थी— (उठेर) म त सपनाले हैरान भाछु सर, अस्ति त्यो विमलको कानजाली फुटेको दिनदेखि रात नबिराई एउटै सपना देख्छु । 

वत्सल —  के सपना ? ( आवाजमा जोस किँिचत् कम छ )

विद्यार्थी —  सर पढाउन क्लासमा पस्नुहुन्छ । बोर्डअगाडि उभिएर हेल्लो क्लास, भन्नुहुन्छ । म वायुवेगले सरका अगाडि पुगेर सरका गालामा पटापट चड्कन ठोक्छु ।सर ऐइया, भन्नुहुन्छ । मचाहिँ तिमीलाई मात्र हुन्छ ऐइया ? भन्छु र चड्कन थप्न थाल्छु । कक्षामा हल्ला हुन्छ । अनि झल्याँस्स बिम्ंझन्छु ।। यही सपना सर । (सरको प्रतिक्रिया पर्खन्छ )

कक्षा  ( हललल हाँस्छ )

वत्सल — ( किंकर्तव्यविमूढ बन्दै यताउति हेर्छन् । सम्हालिन खोज्दाखोज्दै अनुहार रातो भइदिन्छ । फटाफट ढोकातिर बढ्छन् र बाहिर निस्कन्छन् )

पर्दा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप