काठमाडौँमा भेटिएका यी युवा समाजसेवी
काठमाडौं । बौद्ध स्थित स्तुपामा ‘ॐ मणी पद्मे हुँ’ भन्दै स्तुपा घुम्नेहरु बिहानैदेखि जम्मा भइरहेका थिए । बौद्ध धर्मवलम्बीहरुको आवत–जावत बाक्लै थियो ।
ठीक त्यहिबेला तीनजना युवतीहरु केही थान जेब्रा झोला लिएर आए अनि कपडा फिजाउन थाले । बौद्धनाथको दर्शन गर्न आएका एक वृद्धले कपडा छान्दै सोध्न थाले, ‘यसको कत्ति पैसा हो ?’
‘बेच्ने हैन बुवा, यो कपडा पैसा तिरेर किन्न नसक्नेका लागी हो,’ जेब्रा झोलामा कपडा लाने मध्येकी ओजस्वी केसीले भनिन्, ‘शारीरिक अपांगता भएकाहरु र सड्कमै रात कटाउनेहरुले आफुलाई चाहेको रोजेर लैजान सक्छन्, तर हामी पैसा लिँदैनौं ।’
ओजस्वीले बोलेको कुरा एक सडक बालकले सुनिरहेका थिए । बौद्धस्थित टुसालमा बस्दै आएका सन्तोष बर्देवाको शरीर पातलो कपडाले ढाकिएको थियो, उनले एउटा ज्याकेट रोजे ।
अनि खुसी हुँदै सोधे, ‘बाटोमा बस्ने सवैलाई बोलाउँ ।’
कपडा बोकेर बौद्ध पुगेकी बिनु कार्कीले भनिन्, ‘बोलाउ, बोलाउ !’
केही बेरमा बौद्ध र त्यस आसपासका सड्कमा चिसो रात काट्न बाध्य भएकाहरु जम्मा भइहाले । सवैले आफ्नो साईज मिल्ने जुत्ता देखि ज्याकेटसम्म रोजेर लिए, अनि मुस्कुराउँदै स्तुपाको गेटबाट बाहिरिए ।

शनिवार बौद्ध स्तुपामा देखिएको दृश्य हो यो । यस्ता दृश्य पछिल्लो समय काठमाडौंका चोक गल्लिमा फाट्टफुट्ट देखिन थालेका छन् ।
सन् २०१५ को जाडो याममा ईरानबाट शुरु भएको ‘वाल अफ काइन्डनेस्’ अर्थात दयाको पर्खाल अभियानलाई तिनजना तन्नेरीहरुले यस बर्षदेखि नेपालमा शुरु गरेका छन् ।
‘काठमाडौंमा एक्कासी चिसो बढ्यो, जाडोले सड्कमा रात बिताउ बाध्य भएका हरुको ज्यान समेत गएको खबर सुनेपछी हामी सँगै पढेकाहरुले यो अभियान गर्ने निधो गरेका हौं’ अभियन्ता मध्येकी ओजस्वी केसी भन्छिन्, ‘एकदिन कफी खाने क्रममा प्लान बनाएर डिस्ट्रिब्युट गर्न थालेका हौं ।’

ओजस्वी, बिनु, दिपिका पराजुली र अर्पणा कार्की एउटै ब्याजी अर्थात सैनिक आवासिय मावि भक्तपुरबाट २०६७ सालमा एस. एल.सी. पास गरेका सहपाठी हुन् । एस. एल.सी. पछि ओजस्वी कानुन पढ्न थालिन्, बिनुले नर्सिङ रोजिन् भने दीपिकाले ईन्जिनियरिङ्ग अध्ययन गरिन् ।
फरक विषय अध्ययन गरेपनि तीन सहपाठीको अहिलेको साझा अभियान हो, ‘सद्भावको पर्खाल’ । अर्थात, समाजसेवा । अर्पणाले अमेरिकामा बसेर आफ्ना सहपाठीहरुलाई आवश्यक सहयोग गरिरहेकी छिन् ।
उनीहरुले यस यामको जाडो शुरु भएयता काठमाडौंको चावहिल, बसन्तपुर, स्वयंभु र ठमेल लगायतका स्थानमा न्यायो वितरण गरिसकेका छन् ।

सानो प्रयास ठुलो प्रभाव
न्यानो खोज्नेहरु धमाधम कपडा छानिरहेका थिए, कपडा राखिएको स्थानको भित्तातिर एउटा ह्वाईट बोर्ड देखिन्थ्यो । जहाँ लेखिएको थियो, ‘वाल अफ काइन्डनेश’, ‘स्मल इफोर्ट बिग इम्प्याक्ट’ त्यस्तै करिब आधा दर्जन हस्तलिखित स्लोगानहरु थिए ।
‘व्यक्तिगत प्रयत्नमा आफन्त र चिनेजानेकाहरुबाट कपडा संकलन गरेर अभियान शुरु गरेका हौँ,’ अभियन्ता बिनु कार्की भन्छिन्, ‘सामाजिक संजालमा वाल अफ काइन्डनेश भन्ने पेज बनायौँ जसले गर्दा कपडा संकलन गर्न सहज भयो ।’
सामान्य कफी गफमा बनेको सानो प्रयत्नले करिब ३ सय ५० गरिबको रेखामुनि रहेकाहरुको आङ ढाकिएको छ । अझ भनौँ, मुटु छेड्ने जाडोमा सडकमा रात बिताउने ३ सय ५० जनाले न्यायो पाएका छन् ।
त्यसैले त, यी ‘कलिग’हरुको ह्वाईट बोर्डमा अर्को दुईओटा स्लोगान थपेका छन्, ‘चिसो याम न्यायो माया, सानो प्रयास ठूलो प्रभाव’ ।

रामेछापको बेताली स्थायी घर भएका कुमार कार्की सड्कमै रात बिताउँछन् । पुरानो बानेश्वरतिर बस्ने कार्की शनिवार घुम्दै बौद्ध पुगेका थिए । ‘वाल अफ काइन्डनेश’ अभियानले प्रदर्शनमा राखेको एकथान ज्याकेट पाएपछि उनी खुसिले गद्गद् थिए । भन्दै थिए, ‘अब यत्ति भएपछि चाहिँ जाडो भगाइन्छ ।’
कुमारले ज्याकेट पाएपछि धन्यवाद दिए । अनि रातोपाटकर्मीसँग दिपिकाले भनिन्, ‘कपडा पाउनेहरुले धन्यवाद भन्दाचाहिँ साह्रै खुसी लाग्दो रहेछ ।’
‘घरमा बस्नेसँग एक–दुई जोर हुन्छ, बाटोमा बस्नेसँग त्यो एक–दुई जोर पनि हुँदैन’ कुराकानीको बिट मार्दै ओजस्वीले भनिन्, ‘त्यही घरमा बस्ने र बाटोमा बस्नेहरुलाई कनेक्ट गर्ने माध्यम हो, हाम्रो वाल अफ काइन्डनेश !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण