आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मलासँगको भेट

शनिबार, १२ माघ २०७५, १२ : ५८
शनिबार, १२ माघ २०७५

मेरो आँखा अगाडि उसको मुर्कट्टे तस्बिर ठिङ्ग उभिएको थियो ।

कालो कालो वर्णकी, आँखामा चस्मा लगाएकी । मैले कहिल्यै उसलाई देखेको थिइनँ ।  

‘तिमी को हौ ?’ मैले सोधेँ ।

‘मलाई चिनेनौ र ?’ त्यो आकृतिले भन्यो ।

‘अहँ ।’ मैले फेरि नचिनेको कुरा दोहोर्याएँ ।

‘म निर्मला ।’

‘को निर्मला ?’

‘तिमी निर्मलालाई चिन्दैनौ ?’ 

म एकछिन चुपचाप बसेँ ।

निर्मलारूपी त्यो आकृतिले भन्यो– ‘निर्मला नाम गरेकी कुनै केटीलाई चिन्दैनौँ ?’

‘निर्मला नाम गरेका केटीहरू थुप्रै चिन्छु । तर अहँ, तिमीलाई चिन्न सकिनँ । तर मलाई यकिन छ, तिम्रो नाम मैले धेरै पटक सुनेको छु । मैले सुनेको र तस्बिरमा देखेको निर्मला त्यो तिमी नै हौ ?’

शायद । उसले भनी । 

ओहो, निर्मला तिमी पो ?

‘हो, म त्यही निर्मला हुँ । त्यही अभागिनी हुँ । बलात्कारपछि हत्या गरेर ऊखुबारीमा फालिएकी त्यही निर्मला हुँ म । 

यहाँ किन आयौ त ?

मलाई न्याय चाहिएको छ । त्यही न्यायको भीख माग्दै माग्दै म यहाँसम्म आएकी हुँ । 

‘मलाई माफ गर निर्मला । म देश छाडेर गएको एक परदेशी हुँ । मैले तिम्रो लागि केही उपकार गर्न सकेको छैन, न न्यायका लागि नै हिँड्न सकेको छु ।’ 

‘त्यसमा पश्चाताप नगर । देशभित्रै हुने कस्ता कस्ता मानवाधिकारकर्मीहरूले, ठालूहरूले, मन्त्रीहरूले, प्रहरीले, न्यायाधीशहरूले त केही लछारपाटो लगाएका छैनन् भने तिमी त बाहिर छौ । चिन्ता लिनुपर्दैन । त्यही पनि लाशलाई के उपकार चाहिन्छ र ? लाशको के उपकार हुन्छ र ?’ 

हत्या भएपछि हत्यारालाई पक्रनु नै लासको उपकार होइन र ?

त्यो त हो ।

‘त्यसो भए तिमी मेरो नजिक नआउ है ।’

‘किन ?’

‘किनकि म पुरुष हुँ ।’

‘मतलब ?’

‘पुरुषको मतलब के हुन्छ ? पुरुषत्व ।’

‘न पुरुष हुनु तिम्रो दोष हो, न महिला हुनु मेरो । यो त प्रकृतिको नियम न हो । तिमी तिम्रो इच्छाले पुरुष भएका पनि होइनौँ र म मेरो इच्छाले महिला भएको पनि होइन । यो सब उनैको इच्छा हो । तर त्यसो भन्दैमा कुनै महिलामाथि आक्रमण गर्नु त्यो पुरुषत्व थियो ? तिमी लोग्ने मान्छेहरूको पुरुषत्व भनेको त्यही लिङ्ग हो ? तिमी लिङ्गलाई पुरुषत्व ठान्छौ ? एउटी अबला नारीमाथि जबर्जस्ती करणी गर्छौं र पुरुषत्वको दाबी गर्छौ ? थुक्क तिमी पुरुषहरूलाई धिक्कार छ ।’  

‘पुरुषको कमजोरी त्यही छ निर्मला । 

त्यो पुरुषत्व होइन, कमजोरी हो । त्यो त आफूलाई ढाक्ने आवरण मात्र हो । त्यो नारीमाथिको शोषण हो, हेपाहा प्रवृत्ति हो । अझ म त १३ वर्षकी युवती । मेरा शारीरिक अवयवहरू पनि जागृत भएका थिएनन् ।

संभोगका बारेमा मलाई केही पनि थाहा थिएन । लोग्ने मान्छेहरूले अक्षत योनी बोकेर हिँडेकी एक अबलालाई यसरी जबर्जस्ती गर्छन् भन्ने कुरा के थाहा र ? के छोरी भएर जन्मनु मेरो अपराध हो ? म एक्लै हिँड्नु मेरो गल्ती हो ? यो देशका तमाम न्यायिक निकायहरू निकम्मा भएर बसेका छन् । के एउटी अबलालाई न्याय दिन यत्रो राज्य संयन्त्रले सक्दैन ? तिमीहरू एक अबलालाई वलात्कार गरेर मार्छौ र फाल्छौ । अनि गर्वसाथ भन्छौ यो पुरुषत्व हो ।’ त्यो आकृतिले हिहिही गर्दै भन्यो ।

‘त्यो त म भन्न सक्दिनँ ।’ 

‘नारीभित्रको ऊर्जा तिमीले चिनेनौँ । उसभित्रको ज्वाला तिमीले देखेनौँ । म त मरिसकेँ मेरो भौतिक देह यो संसारमा छैन । मलाई अब कोही टाढा र नजिक छैन । म नजिकै बसे पनि टाढा बसे पनि केही फरक पर्दैन । म इहलोकमा बसिरहेकी छु । मलाई एउटा कुरा के थाहा छ भने अब तिमी मलाई वलात्कार गर्न सक्दैनौँ । न त मलाई मार्न नै सक्छौँ । म निर्जीव बनिसकेकी छु ।’

‘तिमी निर्जीव छैनौँ निर्मला । तिमी त सजीव छ्यौ । तिम्रो सजीवताको प्रमाण यो देशको कुना र कन्दरासम्म पुगेको छ । तिमी मुक बनेकी छौ तर तिम्रो आवाज तराईको मैदानमा झरेको छ, हिमालको अग्लो चुचुरोसम्म उक्लेको छ । नेपाली जनका मनमनमा तिमी बसेकी छौ । तिम्रा तस्बिरहरू सहरका भित्ता भित्तामा टाँसिएको छ । तिम्रै नाममा सहरमा जुलुस निस्किएको छ । तिम्रो सजीवताको योभन्दा अर्को कुनै प्रमाण चाहिन्छ र ?’

‘मेरो भौतिक देह त छैन नि ।’

‘बोल्नका लागि, आवाज निकाल्नका लागि भौतिक देह नै चाहिन्न । तिम्रो मुक भाषा, तिम्रो आत्माको भाषा बुझ्ने र बोल्नेहरू असङ्ख्य छन् । सारा रेडियो, टिभी र समाचारपत्र तिमीमाथि परेको अन्यायको विरुद्धमा रक्तबीजझैँ फैलिएका छन् । पोलपोलमा तिम्रो पोस्टर टाँसिएको छ । तिम्रो लुटिएको अस्मिता लाई न्याय दिन हजारौँ मानिसहरू शिरमा र छातीमा तिम्रो तस्बिर बोकेर सडकमा मार्चपास गरिरहेछन् ।  तिनीहरूलाई तिमी देख्दिनौँ ?’

‘अहँ, म देख्दिन । किनकि ती आततायीहरूले मेरो आँखा पनि फुटाए । तर पनि ...मेरो आँखाको नानीमा हेर त, त्यो आततायीको तस्वीर दौडिरहेको छ । तिमी हेर र चिन त्यो पुरुष को हो ? एक पटक दाँज त यो देशका नवशासकहरूसँग त्यो तस्बिर मिल्छ कि मिल्दैन ? मलाई लाग्छ त्यो काँतर पुरुष हो । संसारको काँतर पुरुष । एउटा किशोरीको रूप र यौवनसँग डराउने पुरुष पुरुष होइन । कुनै दिन देख्नेछौ, तिमीले सुन्नेछौ त्यो काँतरले आत्महत्या गर्नेछ र मेरो नजिक आएर माफी माग्नेछ ।’

‘मसँग त्यस्तो क्षमता छैन, निर्मला । म तिनीहरूलाई चिन्न सक्दिनँ । प्रहरीसँग त्यस्तो क्षमता हुन्छ । सीआईबी छ । तिनीहरूले अनुसन्धान गर्छन् र पत्ता लगाउन सक्छन् ।’ 

‘भो, मलाई तिनीहरूको अनुहार हेर्नु छैन । तिनीहरू धेरै पटक आए । कहिले कसलाई समाएका छन् कहिले कसलाई । त्यो सबै नाटक हो । यहाँ अझै थुप्रै नाटक मञ्चन हुनै बाँकी छ । तिनीहरूले मेरो लास धोइपखाल गरे । मेरो शरीरमा लतपतिएका सबुद नष्ट गरे । मेरो अक्षत योनीमा परेको वीर्य पनि पखालेर राक्षसलाई मानवमा उतार्ने प्रयास गरे । मैले तिनीहरूबाट न्यायको र छानविनको आशा गरेकी छैन । सबैले आआफ्नै स्वार्थका रोटी पेलेका छन् । म भूपिको क्यारामबोर्डको गोटी बनेकी छु, कहिले यता हुत्तिन्छु, कहिले उता । सायद मलाई लाग्छ तिनीहरूले त्यो राक्षसको अनुहार पनि चिने तर चूप लागे । मलाई म मारिएकोमा कुनै पश्चाताप पनि छैन । तर यो देशको न्याय मरेकोमा भने मलाई काउकुती लागेर आइरहेको छ । मलाई हाँसो पनि उठ्छ । अब म कहाँ जाउँ ? राम शाहसँग न्याय माग्न जान्थेँ तर उनी पनि मरिसकेका छन् ।’

निर्मला एकपटक अट्टहास हाँसी र भनी ‘छी, यो न्याय हराएको देशमा बस्नुभन्दा मलाई बरु उतै बसेको ठीक छ । म त्यही ठीक छु । पाँच, छ महिनादेखि एउटी अवलाको हत्या हुँदा पनि हत्यारालाई पक्रन नसक्ने यो कस्तो देश हो ? कस्तो पुलिस प्रशासन हो ? कस्तो सरकार हो ? त्यसैले म जे छु ठीकै छु विथोल्न नआउ ।’

‘मैले विथोलेको कहाँ हुँ र ? तिमी पो आएकी हौ त ?’

‘सरी, त्यसो भए म जान्छु अहिले । ख्याल गर म त्यो दिन मात्र आउनेछु, जुन दिन त्यो हत्यारा, त्यो बलात्कारी पक्राउ पर्छ । मेरो लासमाथि न्याय हुन्छ । अनि बल्ल म मुक्त हुन्छु ।’ 

‘हुन्छ निर्मला । तिमी राम्रोसँग जाऊ । हामी तिम्रा न्यायका लागि के कस्तो उपाय गर्न सकिन्छ, त्यो गर्नेछौँ ।’ 

निर्मलाको बहिर्गमन भएपछि पनि म अझै झकाइरहेको थिएँ । अकस्मात बाहिर सिंहदरबार नजिकै माइतीघर मण्डलामा एक हूल मानिसहरूले चिच्याइरहेको सुनेँ, निर्मलाका हत्यारालाई फाँसी दे, निर्मलाका हत्यारालाई फाँसी दे । 

म जर्याक जुरुक उठ्दा उही ओछ्यानमा उसैगरी सुतिरहेको थिएँ । 

बोस्टन, अमेरिका ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज खनाल
कृष्णराज खनाल
लेखकबाट थप