बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेशस्तरीय मेडिकल कलेज स्थापनाको गति सुस्त, प्रम ओलीको बोली अनुसार काम भएन

सोमबार, २३ भदौ २०७६, १२ : २७
सोमबार, २३ भदौ २०७६

बुटवल–संघीय सरकारले प्रत्येक प्रदेशमा एक मेडिकल कलेज स्थापना गर्ने नीति लिएको भएपनि काम भने सुस्त गतिमा भएको पाइएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति अनुसार समयमै काम सम्पन्न गर्न फास्ट्र ट्याकमार्फत जाने बताएपनि कार्यान्वयन भने प्रभावकारी रुपमा हुन नसकेको हो । 

हाल सुदूरपश्चिम प्रदेशको लागि बन्ने कैलालीको गेटा मेडिकल कलेजको काम तीव्र गति आगाडि बढेपनि अन्य कलेजहरुको भने देखिने गरी काम भएको छैन । 

प्रदेश प्रदेश मेडिकल कलेजका सरकारले गतवर्ष छुट्याएको बजेट समेत खर्च भएको छैन । बजेट खर्च नहुनु र फिल्डमा पनि देखिगरी काम नभएपछि यसको गति सुस्त भएको स्वास्थ्य क्षेत्रका जानकारहरुको बुझाइ छ । 
बुटवल मेडिकल कलेज, बर्दिवास मेडिकल कलेज र सुर्खेत मेडिकल कलेजलाई संयुक्त रुपमा गतवर्ष छुट्याइएको ३० करोड रुपयाँ बचेको छ भने अहिले प्रदेश नम्बर ५ को बुटवल कलेजलाई छुट्याएको १० करोड रुपयाँमध्ये केही रकम बच्ने बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजनाका प्रमुख मानबहादुर घिमिरेले रातोपाटीलाई बताए ।

 सुर्खेतमा परियोजना प्रमुख फेरिएपछि खास काम हुन सकेको छैन । प्रगतिको रुपमा बर्दिवास र बुटवल मेडिकल कलेजको माटो परीक्षण र ईआईएको काम मात्र अघि बढेको छ ।

प्रदेश ५ को बुटवल मेडिकल कलेजको रुपन्देहीको तिलोत्तमामा प्रधानमन्त्री ओलीले चैत ८ गते कार्यालय उद्घाटन गरेका थिए । ओलीले कार्यालयको उद्घाट गर्दै विकास निर्माणका काममा सक्रियतापूर्वक लागेर आर्थिक समृद्धिको अभियानमा लाग्ने सरकारको नीति रहेको बताएका थिए । उनले स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको भन्दै तीव्र गतिका साथ मेडिकल निर्माणमा सरकार लागिपर्ने बताएका थिए ।  तर, प्रधानमन्त्रीको प्रतिवद्धता र योजनाविपरित यो कलेजको काम सुस्त देखिएको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रमेश पाण्डेयले बताए । 

बुटवल  मेडिकल कलेजको लागि तिलोत्तमा नगरपालिकाको वडा नं. १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको २ सय बिघा जग्गामा मेडिकल कलेज बनाउने प्रस्ताव गरिएको छ । 
मेडिकल कलेज बनाउन सरकारले वनको जग्गाको स्वामित्व बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजनालाई हस्तान्तरण गरिसकेको छ ।

आयोजनालाई प्राप्त जग्गाको माटो कस्तो छ र त्यो जग्गामा के कस्ता संरचना बनाउन सकिन्छ भन्ने प्रतिवेदन बनाउन प्राविधिकको टोलीले माटो परीक्षण शुरु गरेको हो । माटो परीक्षणको जिम्मा नोभा कन्सल्टेन्सीले पाएको थियो। 

डीपीआरलगत्तै २ सय बिघा जग्गामा तत्काल २ वटा ठूला भवन बनाउने योजना बनाइएको छ । वन क्षेत्र भएकाले ठूला रुख नकाटी तीनलाई पार्क र बगैंचाका रुपमा व्यवस्थित गर्दै कलेज सञ्चालन गरिने  तयारी रहेको छ । माटो परीक्षण रिर्पोट केही दिन भित्रमा आउने बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजनाका प्रमुख मानबहादुर घिमिरेले बताए । 

दर्जन बढी स्थानबाट माटोको नमूना संकलन गरिएकाभन्दै उनले त्यो माटो प्रयोगशालामा परीक्षण गरेपछि मात्र कस्ता संरचनाहरु बनाउन सकिन्छ भन्ने स्पष्ट हुने बताए । 

माटो परीक्षणसँगै सो स्थानको वातावरणीय प्रभाव मूल्याकंन (ईआईए)को काम पनि भइरहेको छ । आयोजनाले ईआईएको काम कार्तिक मसान्तसम्म पूरा गर्ने लक्ष्य लिएको छ । ईआईएको फाइल अहिले वन तथा वातावरण मन्त्रालयमा पुगिसकेको छ । 

कम्तीमा ३ सय शैह्या रहने अस्पताल तीन वर्षसम्म सञ्चालन गरेपछि मात्रै एमबीबीएस तहका विद्यार्थीको भर्ना लिइने छ । 

रुपन्देहीमा निजी अस्पताल धेरै भएपनि महंगा र विशेषज्ञ सुविधा पर्याप्त नहुँदा रुपन्देहीवासीलाई उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता अझै पनि छ । २ हजार ६ सय रोपनीमा मेडिकल कलेज रुपन्देहीको तिलोत्तमा स्थापना गर्नको लागि नेकपाका महासचिव बिष्णु पौडेलको पहल रहेको धेरैको बुझाइ रहेको छ ।

यो कलेजको लागि प्राध्यापक डा. सरोजराज ओझा नेतृत्वमा बनेको समितिले जग्गा  खोजी गरी भोगाधिकार प्राप्तिको काम अगाडि बढाएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप