शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभा : सांसदले संसदीय मर्यादाविपरित अभिव्यक्ति दिएको भन्दै रेकर्डबाट हटाइयो

बुधबार, १९ जेठ २०७८, २२ : ०२
बुधबार, १९ जेठ २०७८

गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले संसदीय मर्यादा विपरित अभिव्यक्ति दिएको भन्दै संसदको रेकर्डबाट हटाइएको छ । गण्डकी प्रदेशमा बुधबार विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकताबारे बोल्ने क्रममा सभासद गुरुङले घुमाउरो पारामा सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागेपछि उनको भनाइलाई सांसदको रेकर्ड हटाउन सभामुख नेत्रनाथ अधिकारीले रुलिङ गरेका हुन् ।

गण्डकी प्रदेशसभा बैठकमा सांसदले दिएको अभिव्यक्तिलाई हटाउन लगाइएको पहिलो घटना हो । सांसद गुरुङले प्रदेशसभामा प्रस्तुत गरिएको बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै गत वैशाख १५ गते अविश्वासको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची बनाउने कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।

बोल्ने क्रममै सभामुख नेत्रनाथ अधिकारीले सांसद गुरुङलाई सचेत गराएका थिए । विपक्षी गठबन्धनका सांसदहरुले अल्पमतको सरकारले बजेट ल्याउने नैतिकता नहुने बताउँदै बजेटको सिद्धान्त र प्राथमिकता माथि छलफल रोक्न माग गरेपछि आक्रोशित बनेका सत्तापक्षीय सांसद गुरुङले सभामुख विरुद्ध अभिव्यक्ति दिएका थिए ।

सांसद गुरुङले नैतिकता मापन गर्ने यन्त्र संसदमा नदेखिएको बताउँदै यसको मापन गर्ने आधार भनेको जनमत मात्र भएको बताएका थिए । उनले जनताले तीन वर्ष अघि दिएको जनमत अनुसार गत बैशाख १३ गते संसदको विशेष अधिवेशन बोलाएको बताउदै १५ गते कार्यसूची आइसकेपछि संसद स्थगित गरेकाले नैतिकताका कुरा गर्ने कार्य व्यवस्था परामर्श समितिका प्रमुख लगायतले राजीनामा दिनु पर्ने बताएका थिए ।

गत वैशाख १५ गते अविश्वासको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची भएपनि जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि उनको खोजीका लागि जनमोर्चाकी सचेतक पियारी थापाले संसद सचिवालयमा खोजी गर्न माग गर्दै संसदको बैठक रोक्न निवेदन दिएकी थिइन् । त्यसपछि थापाको निवेदन दिएको आधारमा सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए ।

सांसद गुरुङले यही घटना स्मरण गराएपछि सभामुखले आफ्नो विशेषाधिकार प्रयोग गर्दै उनले राखेको धारणा रेकर्डबाटै हटाउन लगाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप