आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

महासङ्घ ललितपुरले स्थापना गर्‍यो हीरा–सिद्धि पत्रकारिता पुरस्कार

शनिबार, २४ जेठ २०८२, २० : ३६
शनिबार, २४ जेठ २०८२

ललितपुर । नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाले हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।  शनिबार नेपाल पत्रकार महासंंघ ललितपुर शाखाको कार्यमूलक बैठकले एक कार्यक्रमकाबीच पाँच लाख रुपैयाँको अक्षयकोषसहित पुरस्कारको घोषणा गरेको हो । 

सो राशि बराबरको अक्षयकोष ललितपुर जिल्लाका समाजसेवी सिद्धिबहादुर महर्जनले उनकी स्वर्गीय धर्मपत्नी हिराकुमारी महर्जनको स्मृतिमा महासङ्घ शाखालाई हस्तान्तरण गरेका हुन् ।  अक्षयकोष घोषणा एवं हस्तान्तरण कार्यक्रममा समाजसेवी महर्जन र  महासङ्घ शाखाका तर्फबाट अध्यक्ष रामहरि कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

अक्षयकोषको घोषणा एवं हस्तान्तरण गर्दै समाजसेवी महर्जन परिवारले आम जनतालाई सुसूचित गर्ने सञ्चारकर्मी एवं पत्रकारको हकहित र प्रोत्साहन निम्ति सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताएका छन् । 

त्यस्तै अक्षयकोष घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले महर्जन परिवारले उल्लेखनीय काम गरेको भन्दै उच्च प्रशंसा गरेका छन् । बस्नेतले भने, ‘यस पुरस्कारले पत्रकारहरूलाई निष्पक्ष र निर्भीक ढङ्गबाट कलम चलाउन प्रोत्साहन मिल्ने छ ।’ 

त्यस्तै कार्यक्रममा बोल्दै शाखाका सल्लाहकार तथा पूर्व अध्यक्ष ज्ञानप्रसाद पौडेलले आफूले नेतृत्व गरेको शाखामा यस्ता किसिमका सकारात्मक पहल हुँदा गौरव गरेको प्रतिक्रिया दिएका छन् । 

त्यस्तै नेपाल पत्रकार महासङ्घका उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले उपत्यकाका तीन जिल्लामध्ये ललितपुर शाखा बढी क्रियाशील रही पत्रकारको हकहितमा काम गर्न सफल भएको बताएका छन् । 

त्यस्तै शाखाका अध्यक्ष कार्कीले हीरा–सिद्धि पुरस्कार शाखाको हरेक वार्षिक साधारण सभामा जिल्लामा क्रियाशील दुई जना पत्रकारहरूलाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिने जानकारी दिए । उनले भने, ‘यो पुरस्कार स्थानीय सरोकार वा धर्म, संस्कृति, कलामा कलम चलाउने क्रियाशील पत्रकारलाई प्रदान गरिनेछ ।’ अक्षयकोषमा प्राप्त भएको रकमको ब्याजबाट पुरस्कार प्रदान गरिने उनको भनाइ छ । 

रकम हस्तान्तरणसँगै अक्षयकोष कार्यान्वयनमा आएको शाखा सचिव दीपक अर्यालले बताए ।  कार्यक्रममा स्वर्गीय हीराकुमारी महर्जनकी छोराहरू प्रेम सिंह महर्जन र सरोज डङ्गोलको पनि उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप