राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक

समाचार सारांश
- पोखरा रंगशालामा भएको इन्डोर राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिसका तिलक पुन र महिलातर्फ आयशा तामाङले स्वर्ण जिते।
- रिकर्व मेन्स टिममा नेपाल आर्मीले स्वर्ण जित्यो भने गण्डकी 'ए' ले रजत र गण्डकी 'बी' ले कास्य पदक प्राप्त गर्यो।
- 'कम्पाउन्ड मेन्स इन्डिभिजुअल' मा एपिएफका मीन गौचन र 'कम्पाउन्ड विमेन्स इन्डिभिजुअल' मा गण्डकीकी मोनिका राना मगरले स्वर्ण जिते।
कास्की । पोखरा रङ्गशालामा सञ्चालन भएको ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिपमा ‘रिकर्व इन्डिभिजुअल’ तर्फ नेपाल पुलिसका तिलक पुनले पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । सोही विधामा महिलातर्फ नेपाल पुलिसकी आयशा तामाङले स्वर्ण पदक जितेकी हुन् ।
गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा पोखराको बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न प्रतियोगितामा रिकर्व पुरुषतर्फ तिलकले नेपाल आर्मीका रोशन नगरकोटीलाई ६–२ को सेटले पछि पारेका हुन् ।
महिलातर्फ आयशाले आर्मीकै मित्र राईलाई ६–४ को सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेकी छिन् । आर्मीकी मञ्जु बजगाईं र नेपाल पुलिसका पवन श्रेष्ठले कास्य पदक हात पारेका छन् ।
‘रिकर्व मेन्स टिम’तर्फ विभागीय टोली नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । फाइनलमा गण्डकीको ‘ए’ टोलीलाई ६–२ ले पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो । गण्डकीले रजत पदक जित्दा गण्डकी ‘बी’ टोलीले कास्य पदक जितेको छ ।
‘रिकर्व मिक्स टिम इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक जित्दा आर्मीले रजत र गण्डकीले कास्य पदक जितेको छ । ‘स्टान्डर्ड मिक्स टिम’मा आयोजक गण्डकीले स्वर्ण पदक जितेको छ । फाइनलमा गण्डकीले आर्मीलाई ५–१ को सेटमा पराजित गरेको हो भने नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ ।
‘कम्पाउन्ड मेन्स इन्डिभिजुअल’मा एपिएफ क्लबका मीन गौचनले स्वर्ण पदक जितेका छन् । फाइनलमा गण्डकी ‘ए’ टोलीका सुमन गुरुङलाई पराजित गर्दै उनले स्वर्ण पदक हात पारेका हुन् । सुमनले रजत पदक जित्दा आर्मीका पवन राईले कास्य पदक पाएका छन् ।
‘कम्पाउन्ड विमेन्स इन्डिभिजुअल’मा गण्डकीकी मोनिका राना मगरले स्वर्ण पदक, एपिएफकी प्रसादा आचार्यले रजत र एपिएफकी निर्मला काङवाङले कास्य पदक पाएका छन् । यसैगरी, ‘स्टान्डर्ड मेन्स टिम इभेन्ट’मा गण्डकी ‘ए’ ले ५–३ को सेटमा फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । गण्डकीले स्वर्ण, पुलिसले रजत तथा एपिएफ क्लबले कास्य पदक जितेको हो ।
प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, आर्चरी सङ्घका अध्यक्ष किशोरकुमार गुरुङलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा तीन विभागीय टोली, कोशी, बागमती र गण्डकी प्रदेशका दुई टोली गरी कुल सात टोलीका महिला २२ र पुरुष ४८ खेलाडीले प्रतिस्पर्धा गरेका आयोजकले जनाएको छ ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक तथा नेपाल आर्चरी सङ्घको प्राविधिक सहयोग रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा
-
बाँकेमा धमाधम काम गर्दै भूमि आयोग
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था