शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिसडोलको प्रभावित जग्गाको क्षतिपूर्ति दिइने

सोमबार, १३ असोज २०७६, २० : ३४
सोमबार, १३ असोज २०७६

काठमाडौं – काठमाडौँ महानगरपालिकाले सिसडोल ल्याण्डफिल्ड क्षेत्रभित्र परेका जग्गाको बालीनालीको क्षतिपूर्ति दिने भएको छ। कामपाको आज यहाँ बसेकोे ३७ औँ कार्यपालिका बैठकले सिसडोल ल्याण्डफिल्ड क्षेत्रभित्र परेका प्रभावित जग्गाको बाली क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

दुई वर्षको लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर सिसडोलमा लगिने गरेको छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिकटन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी दुई सय गाडी फोहर लगिने गरिएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न बैठकले, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि कार्यक्रम सञ्चालन व्यवस्थापन अनुगमन र नियमन सम्बन्धी कार्यविधि तयार गर्न विधायन समिति गठन गरेको छ । 

बैठकले शहरी योजना आयोगका सदस्यको नियुक्तिलाई अनुमोदन गरेको छ । शहरी योजना आयोग गठन तथा सञ्चालन कार्यविधि ऐनबमोजिम प्रमुखले नियुक्त गरेका आयोगका सदस्यको नियुक्ति कार्यपालिका बैठकबाट अनुमोदन गराउनुपर्ने व्यवस्था छ । 

जिन्सी निरीक्षण प्रतिवेदन २०७५ ले औल्याएका र फुटपाथ अतिक्रमण नियन्त्रण गर्ने क्रममा सङ्कलन गर्ने कपडाजन्य सामान लिलाम गर्ने निर्णय गरेको बैठकले फुटकर जिन्सी सामग्रीको दररेट समेत स्वीकृत गरेको छ । महानगरले मेलमिलाप केन्द्र स्थापना गर्न सूचीकृत गरेको मेलमिलापकर्ताको सूची बैठकले अनुमोदन गरेको छ ।  

त्यसैगरी फोहरमैला व्यवस्थापनमा विद्यमान अभ्यास, यसका लागि लगानी बोर्डबाट गरिएका प्रयासको समीक्षा गर्दै बैठकले महानगरको दायित्वभित्र पर्ने फोहरमैला व्यवस्थापन कार्यमा पनि छलफल गरेको छ । 

बैठकले विविधमा राखिएका प्रस्तावमाथि छलफल गर्दै, उपभोक्ता समितिले सम्पादन गर्ने पूर्वाधार निर्माणका काममा भ्याट बिल जारी मिल्ने सामनमा भ्याट बिल नै स्वीकार गर्ने र मूल्य अभिवृद्धि करबापत्को मूल्य भुक्तानी गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप