बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई जमानतमा रिहा गर्न आदेश

शुक्रबार, ०८ कात्तिक २०७६, २३ : २१
शुक्रबार, ०८ कात्तिक २०७६

लाहोर-पाकिस्तान पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई जमानतमा रिहा गर्न अदालतले शुक्रबार आदेश दिएको छ । 

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगीरहको समय सरिफ विरामी भएर उपचारका लागि अस्पतालमा राखिएको वेला अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो । 

स्वास्थ्य अवस्था विग्रिएर कमजोर भएपछि उनलाई केहीदिन अगाडि उपचारका लागि अस्पतालमा लगिएको थियो । उनको अहिले अस्पतालमै उपचार भइरहेको छ । 

लाहोरको उच्च अदालतले तीन पटक मुलुकको प्रधानमन्त्री हुनुभएका व्यक्ति विरामी भएर अस्पतालमा उपचार गराईरहेका बेला कैदीभन्दा पनि स्वतन्त्र पूर्वक उपचार गर्न सघाउने उद्देश्यले यस्तो आदेश दिएको बताइएको छ । 

सन् २०१७ देखि कारागारमा रहनुभएका सरिफलाई अदालतले एक करोड रुपैँया जमानत तोकेको छ । उनलाई अनिश्चितकालका लागि रिहा गर्न आदेश दिइएको हो ।

उपचारमा संलग्न चिकित्सकहरुले पूर्वप्रधानमन्त्री सरिफको अवस्था चिन्ताजनक भएको पुष्टि गरेपछि अदालतले उनले रिहा गर्नुपर्ने निश्कर्ष निकालेको एक अधिकारीले बताएका छन् ।  

चिकित्सकहरूले सरिफको रगतमा समस्या देखिएको र त्यसले शारीरिक अवस्था बिग्र गएको बताएका छन् । सरिफलाई कहाँ राखेर उपचार गराउने भन्नेबारेमा अझै निधो भैनसकेको बताइएको छ । 

अदालतको आदेशमा सात बर्षे जेल सजाय भोगीरहनु भएका ६९ बर्षीय सरिफलाई गत मङ्लबार कारागारबाट अस्पताल लगिएको हो । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बन्दी जीवन बिताइरहेका पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा समस्या देखिएको थाहा पाएपछि उपचारको व्यवस्था गर्न लगाएका थिए । 

प्रधानमन्त्री खानले सरिफलाई सम्भव भएसम्मको राम्रो उपचार सेवा दिन पनि सरोकारवाला सवैलाई निर्देशन दिएका छन् ।

“पूर्वप्रधानमन्त्री सरीफको स्वास्थ्यमा जटिल समस्या देखिएको छ । यतिबेला उहाँको स्वास्थ्य लाभको कामना गर्दछु,” प्रधानमन्त्री खानले ट्वीटरमा लेखेका छन् ।

पूर्वप्रधानमन्त्री सरिफ जेल चलान भएपछि पाकिस्तान मुस्लिम लिग — नवाज (पीएमएल—एन)को नेतृत्व समेत लिएका उनका भाइ शहबाजले सामाजिक सञ्जाल ट्वीटर मार्फत् सरिफको स्वास्थ्यका बारेमा ध्यानाकर्षण गराएका थिए ।   

पाकिस्तानको सर्वोच्च अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै राजनीतिमा आजीवन अयोग्यसमेत हुनेगरी सात बर्ष जेल सजायको फैसला गरेको थियो । 

सरिफले भने आरोपलाई अस्वीकार गरेका छन् । उनले राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई दोषी देखाइएको बताउँदै आएका छन् । -एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप