ऋण तिर्नलाई सुन खोज्न निस्किए बोटेहरु, नदीमा यसरी खोजिन्छ सुन
तनहुँ– चाडपर्व मनाउँदा लागेको साहुको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारीका बोटेहरु सुन खोज्न नदी किनारातर्फ लागेका छन् । नेपालीहरुको चाडपर्व दशैँ र तिहार मनाएपश्चात् साहुको ऋण तिर्न करीब एक दर्जन बोटेहरु विभिन्न नदी किनारामा सुन खोज्न लागेका हुन् ।
आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटेहरु साहुसँग ऋण काँढेर चाडपर्व मनाउने गर्छन् । त्यसपछि सुन खोजेर ल्याई साहुको ऋण तिर्ने गरेको स्थानीय हर्क बहादुर बोटेले बताए । साहुसँग ऋण लिएर दसैँ र तिहार त मनाइयो तर चाडपर्व मनाउँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । उनले भने, “ऋण तिर्नको लागि नदी किनारामा सुन खोज्न विभिन्न नदीमा जाने गरेका छौँ ।”
विशेषगरी कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण भेटिने हुँदा उक्त नदी किनारामा सुन खोज्न यहाँका बोटे जाने गरेको जीतबहादुर बोटेले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका कारण कतिपय बोटेको बिहान बेलुका ज्याला मजदूरी नगरी छाक टार्नसमेत गाह्रो छ ।
नदीमा सुन खोज्नको लागि आवश्यक पर्ने डुँड, पाटी तथा चनौटजस्ता विभिन्न सामग्री घरबाट नै लिएर जाने गरेको जीतबहादुरले बताए । सुन चाल्ने पेशाले जीविकोपार्जनमा सहज भएको उनको भनाइ थियो । परम्परागत रुपमा उनीहरु नदी किनारमा सुन खोज्ने काम गर्दै आएका छन् ।
सुन चाल्न जाँदा उनीहरु नदी किनारामा नै पाल टाँगेर बस्ने र खाना खाने गर्दछन् । सुन चालेर एक महिनामा रु बीस पच्चीस हजारसम्मको सुन सङ्कलन गर्ने गरेको उनीहरु बताउँछन् । पहिला पहिला नदी किनारामा सुन सजिलै पाउने गरेपनि पछिल्लो समय नदीमा सुन पाउन छाडेको जीतबहादुरले बताए। कुमालटारीमा अहिले बोटे समुदायका २६ घर रहेकोमा करीब आधाजसो परिवार अझै पनि सुन खोज्नको लागि अन्यत्रै नदीमा जाने गरेका छन् ।
धेरै पहिले मादी नदीमा पनि सुनका कण भेटिने गरेको भए पनि पछिल्लो समय भेटिन छाडेपछि यहाँका बोटे टाढाटाढाका नदीमा जान बाध्य भएका छन् ।सुन खोज्न हिँडेका बोटेहरु करीब तीन÷चार महिना पछि मात्रै आफ्नो घरमा फर्कने र सङ्कलन गरी ल्याएको सुन बिक्री गरेर साहुको ऋण तिर्ने गरेको बताइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण