शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : हिमाल आरोहण धरौटी रकममा भारी छुट, प्रधानमन्त्रीलाई मन्त्री यादवको व्यङ्ग्य

सोमबार, ०९ मङ्सिर २०७६, १८ : ५२
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौँ । सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ । पर्यटनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको बताएका हुन् । 
 उनले पर्यटकहरुको प्रवेश शुल्क घटाउने प्रतिवद्धता पनि व्यक्त गरे ।  यी दुवै प्रस्ताव १० दिन भित्र मन्त्रिपरिषद् बैठकबाट पारित गराउने मन्त्री भट्टराईको प्रतिवद्धता छ । 

‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीका विषयमा छलफल गर्न सोमबार काठमाडौंमा बसेको बैठकमा बोल्दै मन्त्री भट्टराईले पर्यटकहरुको सहजताका लागि सरकारले संरक्षित क्षेत्रहरुको भ्रमणको उचित व्यवस्था गर्ने बताए ।  केही हिमाल आरोहणका लागि खुला गर्ने तयारी पनि भईरहेको उनले बताए । 


ट्याक्सी चालकलाई तालिम

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रु मैत्री व्यवहार तालिम दिएको छ । 

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा सार्वजनिक सवारी सवारीसाधन चालकहरुले पर्यटकसँग गर्ने व्यवहारमा थप सुधार ल्याउने उद्देश्यले एक हजार ट्याक्सी चालकहरुलाई तालिम दिएको नाथमले जनाएको छ ।

 तालिमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले ट्याक्सी चालकहरुको राम्रो व्यवहारले पर्यटकको संख्यामा वृद्धि हुने बताए ।  सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको तर ट्याक्सी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा ४० लाख पर्यटक आउन सक्ने उनले बताए । 

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सोही अन्तर्गत सोमबार ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रु मैत्री व्यवहार तालिम दिएको हो ।

वर्षमान पुन

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने विश्वास व्यक्त गरेका छन् । 

मन्त्री पुनले सोमबार काठमाडौंमा चीनको युनान प्रान्तका गभर्नर रुएन चेङ्फा नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलसँगको भेटमा चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने बताएका

हुन् । 
उनले चीनको युनान प्रान्तले नेपालको जलविद्युत आयोजनाहरुमा गरेको लगानीको दायरा पनि फराकिलो हुँदै जाने नेपाल सरकारको अपेक्षा रहेको पनि बताए । 

उता, युनान प्रान्तका गभर्नर चेङफाले नेपालको पर्यटन, कृषि, शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्यका साथ काम गर्ने इच्छा 
गरे । 
प्रधानमन्त्रीलाई उपेन्द्र यादवको व्यङ्ग्य

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । 

सोमबार सिंहदबारमा पुगेर उनले सो मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । 

 त्यस अवसरमा उनले आफूलाई प्रधानमन्त्रीले बढी नै माया गरेर सो मन्त्रालयमा पठाएको भन्दै व्यङ्ग्य गरे । 

 प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए । 

 सोही जिम्मेवारी ग्रहण गर्दै उनले त्यसलाई आफूले सामान्य रुपमा लिएको बताए । प्रधानमन्त्रीले तपाईसँग परामर्श समेत नगरी मन्त्रालयको जिम्मेवारी परिवर्तन गर्नु भो नि ? भन्ने संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री समेत रहेका यादवले प्रधानमन्त्रीले सो विषयमा परामर्श गरिराख्नु नपर्ने पनि स्मरण गराए । यद्यपी मन्त्रालय परिवर्तनको विषयलाई लिएर मन्त्री यादव सन्तुष्ट नरहेको पार्टी स्रोत बताउँछ ।

सोही विषयमा पदाधिकारीमा छलफल समेत भइसकेको छ भने सरकारसँग यसअघिको सहमतिको विषयमा छलफल गर्न वार्ता समिति गठन गरिएको छ।  

पद्मा अर्याल 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले दक्ष सहकारीकर्मीको आवश्यकतामा जोड दिएकी छिन् । 

सहकारी शिक्षाको लागि पाठ्क्रम विकास गर्न अन्तर्राष्ट्रिय गठबन्धन एशिया प्रशान्त समितिको गोष्ठीमा बोल्दै मन्त्री अर्यालले रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई योगदान पु¥याउने महत्वपूर्ण क्षेत्र सहकारी भएकाले क्षमतावान प्राज्ञिक सहकारीकर्मीको आवश्यकता रहेको बताइन् । 


उनले नेपालमा ३५ हजार सहकारी रहेको तर सहकारी शिक्षाको पाठ्क्रम विकास नहुँदा युवाहरुलाई सहकारीमा आकर्षित गर्न नसकिएको बताइन् । 

‘राष्ट्रिय सहकारी नीति २०६९’ ले सहकारी शिक्षालाई माध्यमिक, उच्च माध्यमिक तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेस गर्ने नीति लिएको छ । तर सरकारले अहिलेसम्म सहकारी शिक्षा पाठ्क्रमको विकास गर्न भने सकेको छैन् । त्यसैले समयसापेक्ष पाठ्यक्रमको विकासका लागि ठोस निचोड निकाल्न गोष्ठी सफल हुने मन्त्री अर्यालको विश्वास थियो । 

कर्मचारीलाई मन्त्रीको निर्देशन
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गलत काम नगर्न कर्मचारीहरुलाई सचेत गराएका छन् । 

मन्त्री भट्टले मुलुकको भोलीका आवश्यक्ता पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई कडा निर्देशन दिए । 

 सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूराना कार्यशैलीले काम गरेर मुलुकको आजको आवश्यक्ता पूरा नहुने भन्दै कार्यर्शली परिवर्तन गर्न कर्मचारीलाई आग्रह गरे । 

मन्त्री भट्टले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय नारालाई सफल बनाउने गरी काम गर्नुपर्ने चुनौतिलाई सामना गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए । 

कार्यक्रममा बोल्दै उद्योग राज्यमन्त्री मोतीलाल दुगडले जनताको सेवकको रुपमा काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । 

विश्वप्रकाश शर्मा

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नेपालको नक्सा छाप्न नसके आफ्नो पार्टीले छाप्ने बताएका छन् । 

 पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले नक्सा छाप्न नसके आफ्नो पार्टीलाई जिम्मेवारी दिन समेत सरकारलाई आग्रह गरे ।  नेपालको नक्सा सरकारले ३ दिनभित्रमा जारी गर्नुपर्ने बताए ।  कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा छपाईमा केही समस्या भए प्रतिपक्षलाई अपिल गर्न समेत आग्रह गरे । 

देशको सीमा मिचिरहँदा सरकारले गम्भिरतापूर्वक ध्यान दिनुपर्ने बताए ।  कालपानी मार्च गर्न पठाएका युवा अहिलेको सरकारको मन्त्री भएको उनले बताए । 

निर्माण व्यवसायीको धर्ना

‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ । 

महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी साढे नौ बजे देखि एकघण्टा धर्ना दिएको हो । हातमा कालो पट्टि बाधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिन धर्नामा समेत बस्नु परेको बताएका छन् । महासंघका अध्यक्ष रबी सिंहले सो नियमावली संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता ४ महीना पूरा हुँदा पनि कार्यान्वयनमा नआएकाले आन्दोलनमा जानु परेको बताए । 

‘चीन तिब्बत व्यापार मेला’
काठमाडौंको त्रिपुरेस्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सोमबारदेखि ‘चीन तिब्बत व्यापार मेला’ शुरु भएको छ । 

नेपाल र चीनका उत्पादनहरुको प्रदर्शनी गर्ने तथा बजारको खोजि गर्ने उद्देश्य सहित नेपाल चीन उद्योग वाणिज्य संघ र तिब्बत बोर्डर ट्रेड चेम्बरले संयुक्त रुपमा मेलाको आयोजना गरेका हुन् । 
हस्तकला ब्यापार मेला हुने
काठमाडौंको भृकुटीमण्डपमा मंसिर १२ देखि १६ गते सम्म १७ औं हस्तकला ब्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता हुने भएको छ । 

नेपाल हस्तकला महासंघले नेपाली हस्तकलाको बजार प्रबद्र्धन गर्ने उद्देश्य सहति मेलाको आयोजना गर्न लागिएको जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका निवर्तमान अध्यक्ष तथा मेला संयोजक धर्मराज शाक्यले उक्त जानकारी गराए । 

 मेलामा महासंघका सदस्य, विभिन्न जिल्ला हस्तकला संघ र बस्तुगत संघको समेत सहभागिता रहने छ । मेलामा धातुकला, सुनचाँदी सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र वाँसबाट बनेका सामानहरु राखिने संयोजक शाक्यले जानकारी दिए । 

भिडियाे हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप