बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : प्रधानमन्त्री खतरामुक्त, निर्धक्क भएर भोट हाल्न निर्वाचन आयोगको आग्रह

शुक्रबार, १३ मङ्सिर २०७६, १९ : ०२
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौँ । शिक्षण अस्पताल महारजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमै रहने चिकित्सकहरुले जानकारी दिएका छन् । यद्यपी ओलीको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेको बताइएको छ।  

शुक्रबार बिहान पत्रकार सम्मेलन गरी उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री दश दिनपछि नियमित काममा फर्कन सक्ने जानकारी दिएका हुन् ।

 त्यस्तै चिकित्सकहरुले एपेन्डिसाइटिसको शल्यक्रियापछि सघनकक्षमा उपचाररत प्रधानमन्त्री ओलीको मंगलबार र बुधबार दुईपटक डायलाइसिस गरिएको पनि जनाएका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीलाई मुखबाट ठोस खानेकुरा खुवाउन थालिएको जानकारी दिइन् । 

भिडियोमा समाचार हेर्नुहोस्

उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरुले प्रधानमन्त्रीको एपेन्टिडसाइटिस फुटेको नभई पाकेर फैलिएको बताएका छन् । सामान्य बिरामीको तुलनामा अंग प्रत्यारोपण गरिएको बिरामीमा एपेन्डिसाइटिस पाकेर फैलने सम्भावना बढी हुने जानकारी चिकित्सकहरुले दिए । 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको छ । पछिल्लो पटक ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिँदै आएको थियो । अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै डायलाइसिस गरिएको हो ।

सम्बन्ध समानताको आधारमा  
नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन र भारतसँग नेपालको सम्बन्ध समानताको आधारमा हुनुपर्ने बताएका छन् । उनले त्रिदेशीय रणनीतिक साझेदारीको सम्बन्ध हुनुपर्ने पनि बताएका छन् ।  

राजधानीमा आयोजित एक कार्यक्रममा उनले चीन र भारतले नेपालको सार्वभौमिकता र अखण्डतालाई सम्मान गर्दै समदूरी कायम राख्नु पर्ने बताए । 

नेपाल, भारत र चीन बीचको सम्बन्ध जनस्तर सम्म लान आवश्यक रहेको पनि उनले बताए । 

निर्वाचन आयोग

निर्वाचन आयोगले मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन आग्रह गरेको छ । 

आयोगले शुक्रबार भिडियो अपिल गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरुले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटो सहितको कुनैपनि परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागि हुने वातावरण बनेको बताए । 
त्यस्तै आयोगमा मिडिया अनुगमन इकाई स्थापना भई अनुगमनको काम भइरहेको समेत उनले बताए ।  प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीहरु सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पु¥याइसकेको समेत जानकारी दिए । 

उनले ३७ जिल्लामा २ सय ४७ मतदान स्थल तथा ५ सय ३७ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षकर्मीहरु आवश्यक मतदान सामग्रीहरुसहित गत बुधबार साँझ नै पुगिसकेको समेत जानकारी दिए । 

प्रतिनिधि सभा सदस्यतर्फ ११, प्रदेश सभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलहरु सहभागी भएका छन् । निर्वाचनमा २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० पुरुष र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्दै छन् ।

परराष्ट्रमन्त्री स्वदेश फिर्ता

रुसी महासंघ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमणमा रहनुभएका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्किएका छन् । 

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराए । 

 त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा संवादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको जानकारी समेत दिए । 

परराष्ट्रमन्त्री ज्ञवालीले सर्वियाको औपचारिक भ्रमणका क्रममा पनि दुई देशबीचको हितका विषयमा छलफल भएको जानकारी दिए । 
 
सागको तयारी

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । 

सागका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको सुरक्षा टोली परिचालन गर्नेगरी सुरक्षा योजना तयार पारिएको छ । 

आइतबारदेखि औपचारिक रुपमा सुरु हुने सागका लागि १८ हजार सुरक्षा तैनाथ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यता राष्ट्रिय खेलकुद परिषद् राखेपले पनि साग खेलको लागि आउने विदेशी पाहुना र खेलाडीको बसोबासदेखि आवश्यक सुरक्षाको सम्पूर्ण तयारी भइसकेको जनाएको छ । खेल मैदानमा हुनसक्ने सम्भावित हुलदङ्गाका साथै होटलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको छ । पाहुनाहरुलाई विमानास्थलदेखि होटलसम्म, खेल्ने मैदानदेखि उनीहरुले भ्रमण गर्ने स्थलसम्म कडा सुरक्षा हुनेछ । 

प्रहरी प्रधान कार्यालयका अनुसार साग प्रतियोगितामा नेपाल प्रहरीमात्र १० हजार ५ सय परिचालन हुनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौँबाट ४ हजार ५००, जिल्ला प्रहरी कार्यालय कास्कीबाट २ हजार, महानगरीय प्रहरी परिसर ललितपुरबाट १ हजार ४००, जिल्ला प्रहरी कार्यालय धनुषाबाट ६ सय, ट्राफिक प्रहरी ७ सय र प्रहरी प्रधान कार्यालय मातहतबाट १३ सय जना प्रहरी सागमा परिचालन हुनेछन् । 

राखेपका अनुसार साग खेल ३० ठाउँमा खेलाइनेछ । जसमध्ये काठमाडौंमा १२, ललितपुरमा ९, पोखरामा ८ र जनकपुरमा १ ठाउँमा गरेर ३० ठाउँमा सञ्चालन हुनेछ । 

साग खेलमा अफिसियल, प्रशिक्षक र निर्णायकहरु गरेर ५५ सयभन्दा बढी उपस्थित हुनेछन् । यस्तै विदेशी पाहुनाहरुको लागि मध्यनजर गर्दै काठमाडौँका ३१, ललितपुरका १२, जनकपुरका ३ र पोखराका ४३ होटल समेत बुकिङ गरिएको छ । 

शुक्रबार रातोपाटीसँग कुराकानी गर्दै प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले सागमा सुरक्षा व्यवस्था कडा र चुस्त हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरे ।  

१३औं सागको सम्पूर्ण तयारी पूरा भएको राखेपले बिहीबार नै पत्रकार सम्मेलन गरेर जानकारी गराइसकेको छ । 

कीर्ते अभियोगमा पक्राउ
सरकारी कागजात कीर्ते गर्ने फोटो स्टुडियो संचालकहरु पक्राउ परेका छन् ।
  
शुक्रबार  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पत्रकार सम्मेलन गर्दै बिहीवार काठमाडौँको विभिन्न स्थानबाट  तीन जनालाई  नियन्त्रणमा लिएको बताएको छ ।  

व्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पक्राउ परेका ३ जनाले  नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग तथा विभिन्न राजनीतिक दलका कागजपत्रहरु कीर्ते गरि बेचबिखन गर्ने गरेको बताए । 

पक्राउ परेकाहरुले प्लस टूका एकेडेमिक ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकका विभिन्न प्रमाण पत्रहरु, नेपाल आर्मीका प्रमाण पत्रहरु, विभिन्न विद्यालयका मार्कसिटहरु बनाउने गरेका पाइएको ब्युरोले बताएको छ पक्राउ परेकाहरु सँग अरु किर्तेकाम गर्ने गिरोहसँग सम्बन्ध हुनसक्ने भन्दै अनुशन्धान गहन बनाएको प्रहरीले बताएको छ ।  

मेगा बैंक 

मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । 

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने विश्वविख्यात पत्रिका ‘दि बैंकर’ ले सन् २०१९ का लागि अन्तर्रा्ष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि इयर २०१९, नेपालबाट मेगा बैंकलाई प्रदान गरेको हो ।

लण्डनमा बिहीबार साँझ आयोजित एक समारोहबीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ‘बैंक अफ दि इयर २०१९’ को सम्मान ग्रहण गरेको बताइएको छ  । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप